
काठमाडौं।नेपाली कांग्रेसभित्र गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षबीचको विवाद थप चर्किएको छ। संस्थापन पक्षले देउवा समूहको प्रस्तावित महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिमाथि कारबाहीको चेतावनी दिएपछि देउवा पक्षका नेता शशांक कोइरालाले आफूहरू आफ्नै बाटोमा अघि बढ्ने प्रतिक्रिया दिएका छन्।
देउवा पक्षले गठन गरेको १५औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले आफूहरूमाथि कारबाही भए त्यसको सामना गर्दै छुट्टै बाटो रोज्ने बताएका हुन्।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित बैठकमा सहभागी हुन पुगेका कोइरालालाई पत्रकारहरूले संस्थापन पक्षको कारबाही चेतावनीबारे प्रश्न गरेका थिए।
जवाफमा उनले प्रतिप्रश्न गर्दै भने, ‘कसले कारबाही गर्ने ? उहाँहरूले कारबाही गर्नुहुन्छ भने हामी के भन्न सक्छौँ र ? हामी आफ्नो बाटो जान्छौँ।’
यसअघि सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षको महाधिवेशनमा सक्रिय हुने जनप्रतिनिधिलाई आफ्नो पदबाट राजीनामा दिन आग्रह गरेका थिए। पार्टीको आधिकारिक महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा अर्को महाधिवेशनमा सहभागी हुनु नयाँ पार्टीमा लागेसरह हुने उनको तर्क थियो।
थापाले राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले कांग्रेस छाडेर अर्को पार्टीको गतिविधिमा संलग्न भए विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्ने चेतावनी दिएका थिए।
उनले राजीनामा नदिए सम्बन्धित निकायमा पत्राचार गरेर पदमुक्तिको प्रक्रिया अघि बढाइने पनि बताएका थिए।
देउवा पक्षको महाधिवेशन रोक्ने संस्थापनको तयारी
निर्वाचन आयोगले गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति तथा संशोधित विधान अद्यावधिक गरिसकेको छ। त्यसपछि संस्थापन पक्षले देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनलाई रोक्ने रणनीति बनाएको छ।
देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने तयारी जारी राखेको छ। उक्त महाधिवेशनका लागि पूर्वमहामन्त्री शशांक कोइरालालाई तयारी समितिको संयोजक बनाइएको छ।
संस्थापन पक्षले प्रस्तावित महाधिवेशनमा सक्रिय रहेका जनप्रतिनिधिको विवरण संकलन गरिरहेको छ। उनीहरूलाई सुरुमा स्पष्टीकरण सोध्ने र जवाफ चित्तबुझ्दो नभए अनुशासनात्मक कारबाही अघि बढाउने तयारी कांग्रेसको छ।
कांग्रेसका एक पदाधिकारीका अनुसार छिट्टै अनुशासन समिति गठन गरी पार्टीको निर्णयविपरीत गतिविधिमा संलग्न नेतामाथि प्रक्रिया अघि बढाइनेछ।
देउवा पक्षको तर्क : अदालतको फैसला नआएसम्म कारबाही गर्न मिल्दैन
यता देउवा पक्षले भने कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले जनप्रतिनिधिमाथि कारबाही गर्न नमिल्ने जिकिर गरेको छ।
१५औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले सांसदहरूले कुन पक्षमा रहने भन्ने निर्णय व्यक्तिगत रूपमा गर्न पाउने बताएका छन्।
उनका अनुसार अदालतबाट आधिकारिकताको विवाद निरूपण नभएसम्म जनप्रतिनिधिलाई कारबाही गर्नु उचित हुँदैन।
देउवा पक्षका नेताहरूले आफूहरूले नेपाली कांग्रेसकै नाम र झण्डामा महाधिवेशन गर्न लागेको भन्दै यसलाई दल त्यागको संज्ञा दिन नमिल्ने तर्क गर्दै आएका छन्।
संविधानको धारा ८९ मा दल त्याग गरेको अवस्थामा संघीय कानुनबमोजिम सांसद पद रिक्त हुन सक्ने व्यवस्था छ। तर देउवा पक्षले आफूहरूले पार्टी नछाडेको र आन्तरिक विवादकै बीच महाधिवेशन गर्न लागेको दाबी गरेको छ।
जनप्रतिनिधिको सहभागितालाई लिएर विवाद
प्रतिनिधिसभा, राष्ट्रिय सभा र विभिन्न प्रदेशसभाका केही कांग्रेस सांसद देउवा पक्षको महाधिवेशनमा सक्रिय देखिएका छन्। प्रतिनिधिसभामा हरिनादेवी कामी र सुशीला ढकाल आचार्य देउवा पक्षमा खुलेका छन् भने निनुकुमारी कर्ण र रीना उप्रेती तटस्थ छन्।
राष्ट्रिय सभामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित आनन्दप्रसाद ढुंगाना, जितजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्ट देउवा पक्षमा देखिएका छन्।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही सांसद पनि देउवा पक्षको गतिविधिमा सहभागी छन्। मधेस र कर्णाली प्रदेशमा भने उक्त पक्षको महाधिवेशनमा सक्रिय कांग्रेस सांसद नरहेको बताइएको छ।
यसरी निर्वाचन आयोगको निर्णयपछि कांग्रेसभित्रको विवाद अब पार्टीको आधिकारिकता, महाधिवेशन र जनप्रतिनिधिको पदको वैधानिकतासम्म पुगेको छ। संस्थापन पक्ष कारबाहीको तयारीमा देखिँदा देउवा समूह भने आफ्नो महाधिवेशन सम्पन्न गर्ने अडानमा छ।
शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिले पनि दुवै पक्षबीच तत्काल सहमतिको सम्भावना कमजोर रहेको संकेत गरेको छ।









Facebook Comments