
काठमाडौं।बैंकिङ कसुर र वैदेशिक रोजगारमा जाने श्रमिकमाथि भएको ठगीसम्बन्धी छुट्टाछुट्टै अनुसन्धानमा जोडिएका दुई उच्चपदस्थ पूर्वप्रशासक तथा राजनीतिज्ञ प्रहरीको खोजीमा छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ र पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भए पनि प्रहरीले अहिलेसम्म उनीहरूलाई फेला पार्न सकेको छैन।
बानियाँविरुद्ध बैंकिङ कसुरको आरोपमा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएको हो। त्यस्तै, मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाइएको प्रकरणमा अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो।
गत साता नै दुवैविरुद्ध पक्राउ पुर्जी जारी भएको भए पनि उनीहरू प्रहरीको सम्पर्कमा आएका छैनन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुवैको खोजी तीव्र पारेको जनाएको छ।
सीआईबीका एक उच्च अधिकारीका अनुसार अनुसन्धान टोलीले उनीहरूको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ। प्रहरीले दुवै जना फेला नपरेको र खोजी कार्य जारी रहेको जनाएको छ।
३४ करोडको कर्जा दुरुपयोग आरोपमा बानियाँको खोजी
पूर्वमुख्यमन्त्री बानियाँ बैंकिङ कसुरसम्बन्धी अनुसन्धानमा तानिएका हुन्। उनी सञ्चालक रहेका बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा प्रभु बैंकबाट करिब ३४ करोड रुपैयाँ ऋण लिइएको थियो।
सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार बैंकबाट लिइएको उक्त कर्जा व्यावसायिक प्रयोजनमा खर्च नगरी सेयर बजार तथा विभिन्न व्यक्तिगत खातामा पठाइएको आशंका छ। कर्जाको उद्देश्यविपरीत रकम प्रयोग गरिएको विषयलाई प्रहरीले बैंकिङ कसुरसँग जोडेर अनुसन्धान गरिरहेको छ।
यस प्रकरणमा बानियाँका छोरा दीक्षान्त बानियाँलाई सीआईबीले कात्तिक १६ गते पक्राउ गरेको थियो। छोरामाथिको अनुसन्धानका क्रममा प्राप्त विवरणले पूर्वमुख्यमन्त्री बानियाँको भूमिकासमेत खोतल्नुपर्ने अवस्था बनेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।
अर्याल भारत पुगेको प्रहरीको आशंका
अर्कोतर्फ, पूर्वमुख्यसचिव एकनारायण अर्याल मलेसिया जाने श्रमिकमाथि भएको आर्थिक ठगी प्रकरणमा अनुसन्धानको दायरामा परेका छन्। पक्राउ पुर्जी जारी भएपछि उनी भारततर्फ गएको सूचना प्राप्त भएको सीआईबीका अधिकारीहरूले बताएका छन्।
अर्याललाई नियन्त्रणमा लिन प्रहरीले भारतीय प्रहरीसँग समेत समन्वय गरिरहेको बताइएको छ।
मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको प्रकरणमा उनको संलग्नता रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
यस प्रकरणमा मङ्सिर २ गते पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जना पक्राउ परेपछि अनुसन्धान थप विस्तारित भएको थियो। पक्राउ पर्नेमा यातायात विभागका महानिर्देशक राजीव पोखरेल र पूर्वसचिव विनोद केसी पनि छन्।
१ अर्ब ६९ करोड विदेश पठाउन चारपटक मन्त्रीस्तरीय निर्णय
प्रहरी अनुसन्धानअनुसार मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम उठाएर विदेश पठाउन चारपटक मन्त्रीस्तरीय निर्णय गरिएको थियो। ती निर्णय हुँदा अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए।
मेडिकल स्क्रिनिङका नाममा श्रमिकबाट उठाइएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन अनुमति दिने प्रक्रियामा अर्यालसमेत संलग्न रहेको प्रहरीको दाबी छ।
तत्कालीन श्रममन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा उक्त निर्णय भएको अनुसन्धानबाट खुलेको बताइएको छ। स्वास्थ्य परीक्षणका लागि काठमाडौंका ३६ वटा मेडिकल संस्थालाई तोकिएको थियो।
दुई फरक प्रकरणमा पूर्वमुख्यमन्त्री र पूर्वमुख्यसचिवसमेत अनुसन्धानको घेरामा परेपछि प्रहरीले उनीहरूको खोजी र अनुसन्धानलाई प्राथमिकता दिएको छ। यद्यपि, दुवैविरुद्धका आरोपको अन्तिम निरूपण भने अदालतबाट हुन बाँकी छ।









Facebook Comments