काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगीले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका छन्। उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका ढकाल र डाँगीले विवाहको मिति तय गरेसँगै दुवै परिवारमा तयारी सुरु भएको छ। ढकालका अनुसार विवाहका लागि निमन्त्रणा कार्ड छपाइलगायत आवश्यक तयारी भइरहेको छ।

ad

विराटनगर महानगरपालिका–३, दूधफारमस्थित ढकालको निवासमा पनि विवाहको तयारी भइरहेको छ। तर विवाह समारोह भने झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने तय भएको छ।

'मंसिर १० मा हामी विवाह बन्धनमा बाँधिँदै छौँ। कार्ड छपाइ लगायत विवाहका अन्य तयारीको काम भइरहेको छ,' ढकालले जानकारी दिए।

ढकाल र डाँगीबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बन्दै आएको थियो। अब उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिक वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन्।

रास्वपाकी नेतृ डाँगी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन्। २०८२ को निर्वाचनमा भने उनी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। उनी पार्टीको केन्द्रीय नेतृत्वमा समेत सक्रिय छिन्।

ढकाल रास्वपाका संस्थापक महामन्त्री हुन्। पार्टीको स्थापनाकालदेखि नै उनी नेतृत्व तहमा सक्रिय रहेका थिए।