काठमाडौं।निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गरेसँगै पार्टीको नाममा समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको शेरबहादुर देउवा पक्षमाथि कानुनी तथा राजनीतिक दबाब बढेको छ।

आयोगले गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलबार अभिलेखमा अद्यावधिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नयाँ कार्यसमितिको विवरण विधिवत् रूपमा अद्यावधिक भएको पुष्टि गरेका छन्।

ad

आयोगको निर्णयसँगै गगन थापा नेतृत्वको समितिले पार्टीको आधिकारिक नेतृत्वको मान्यता पाएको छ। तर, यसले कांग्रेसभित्र लामो समयदेखि जारी विवाद तत्काल समाधान हुने संकेत भने देखिएको छैन।

पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले विशेष महाधिवेशन तथा त्यसबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार गरेका छैनन्। उनीहरू १५औँ महाधिवेशनमा समेत सहभागी भएका थिएनन्।

यही विवादबीच देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ। उक्त समूहले तयारीस्वरूप हालसम्म ५९ जिल्ला र दुई प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको नेता डा. प्रकाशशरण महतले बताएका छन्।

तर, निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गरिसकेपछि देउवा पक्षले नेपाली कांग्रेसकै नाममा अर्को महाधिवेशन गर्न पाउने वा नपाउने भन्ने प्रश्न उठेको छ।

देउवा पक्ष पछि नहट्ने अडानमा

आयोगको निर्णय सार्वजनिक भए पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार महाधिवेशन गर्ने अडानबाट देउवा पक्ष पछि हटेको छैन।

कांग्रेस नेता एनपी साउदले आयोगको अद्यावधिक निर्णयले आफूहरूको महाधिवेशनलाई असर नगर्ने दाबी गरेका छन्। उनका अनुसार देउवा पक्षले पनि महाधिवेशन सम्पन्न गरेर पार्टीको नाम नेपाली कांग्रेस नै राख्नेछ।

उनले भने, ‘हाम्रो महाधिवेशन भइसकेको छैन। हामीले पनि महाधिवेशन सम्पन्न गरेर जान्छौँ। पार्टीको यही नाम (नेपाली कांग्रेस) मा नै महाधिवेशन हुन्छ।’

नेता डा. प्रकाशशरण महतले पनि आयोगको निर्णयलाई प्रशासनिक प्रक्रिया मात्र भएको टिप्पणी गरेका छन्। पार्टीको वैधानिकतासम्बन्धी विवादको अन्तिम टुंगो अदालतबाट लाग्ने उनको भनाइ छ।

‘अद्यावधिक भनेको दर्ता गरेको मात्र हो। यसको अन्तिम टुंगो अदालतले लगाउला,’ महतले भने, ‘हामी मंसिर २१ गतेको महाधिवेशनको तयारीमा पूर्ण रूपमा जुटिसकेका छौँ। महाधिवेशन खुलामञ्चमै हुन्छ।’

देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म आफ्नो राजनीतिक गतिविधि जारी राख्ने बताएका छन्।

समानान्तर महाधिवेशन रोक्ने संस्थापनको तयारी

यता निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि गगन थापा नेतृत्वको संस्थापन पक्षले पार्टीको नाम, झण्डा र पहिचान प्रयोग गरेर समानान्तर गतिविधि सञ्चालन गर्न नदिने रणनीति बनाएको छ।

संस्थापन पक्षको बुझाइमा आधिकारिक कार्यसमिति कायम भइसकेपछि अर्को समूहले नेपाली कांग्रेसकै नाममा महाधिवेशन गर्नु कानुनी रूपमा उचित हुँदैन।

कांग्रेस सहमहामन्त्री प्रतिमा गौतमले देउवा पक्षको प्रस्तावित महाधिवेशन रोक्न सम्बन्धित निकायमा जाने बताएकी छन्।

उनले भनिन्, ‘अर्को समूहको महाधिवेशन रोक्न हामी सम्बन्धित निकायमा जान्छौँ। यसभन्दा बढी पार्टीले छलफल गरेर आधिकारिक निर्णय लिनेछ।’

आयोगको पछिल्लो निर्णयपछि कांग्रेसभित्रको विवाद अब संगठनात्मक प्रतिस्पर्धाबाट कानुनी संघर्षतर्फ अघि बढ्ने देखिएको छ। देउवा पक्ष पूर्वघोषित महाधिवेशन गर्ने अडानमा छ भने संस्थापन पक्ष त्यसलाई रोक्न कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छ।

यसले मंसिर २१ देखि २३ गतेसम्म तय गरिएको समानान्तर महाधिवेशनको भविष्य र कांग्रेसको आधिकारिक नाम तथा चुनाव चिह्नको प्रयोगसम्बन्धी विवादलाई थप पेचिलो बनाउने संकेत गरेको छ।