काठमाडौं।निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई पुनः आधिकारिक मान्यता दिएको छ। आयोगले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरणसँगै संशोधित विधान र राजनीतिक दस्तावेजसमेत आफ्नो अभिलेखमा अद्यावधिक गरेको हो।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। महाधिवेशनले पारित गरेका निर्णय, विधान संशोधन र राजनीतिक दस्तावेज अद्यावधिक गराउन पार्टीले निर्वाचन आयोगमा निवेदन दिएको थियो।

ad

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेसले पेस गरेका कागजात तथा महाधिवेशनका निर्णयहरूको कानुनी अध्ययनपछि आयोगको मंगलबार बसेको बैठकले विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार बुधबार पार्टीलाई आधिकारिक पत्र उपलब्ध गराइएको उनले जानकारी दिए।

आयोगबाट कार्यसमिति र विधान अद्यावधिक भएको पत्र प्राप्त भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले पनि पुष्टि गरेका छन्।

यसैबीच, सभापति थापाले सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचन आयोगको निर्णयबारे जानकारी गराएका थिए। आयोगबाट महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक भएको पत्र प्राप्त भएको उनले बैठकलाई बताएका हुन्।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो। त्यसपछि उक्त कार्यसमितिले आयोजना गरेको १५औँ नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।

महाधिवेशन सम्पन्न भएपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधन, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयसहित आवश्यक विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दर्ता गराएको थियो।

आयोगको पछिल्लो निर्णयले थापा नेतृत्वको कार्यसमितिको विवरणलाई संस्थागत रूपमा थप स्पष्ट बनाएको छ। यद्यपि, कांग्रेसभित्रको आन्तरिक विवाद भने पूर्ण रूपमा साम्य भएको देखिँदैन। देउवा पक्षले समेत समानान्तर महाधिवेशन गर्ने तयारीबारे निर्वाचन आयोगलाई जानकारी गराएको बताइएको छ।

यसले पार्टीभित्रको विवाद आगामी दिनमा थप पेचिलो बन्न सक्ने संकेत गरेको छ।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। बैठक भोलि बिहान ११ बजे पुनः बस्ने तय भएको छ।