काठमाडौं।नेपाली कांग्रेसभित्र बढ्दै गएको गुटगत विवाद र विभाजनप्रति नेता डा. शेखर कोइरालाले चिन्ता व्यक्त गरेका छन्। पार्टी एकताबद्ध हुन नसके त्यसको असर लोकतान्त्रिक व्यवस्था मात्र नभई मुलुकको अस्तित्वमाथिसमेत पर्न सक्ने उनको चेतावनी छ।

विराटनगरस्थित आफ्नै निवासमा एक टेलिभिजनको कार्यक्रममा कुराकानी गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउन आफू सुरुदेखि नै संवाद र सहमतिको प्रयासमा रहेको बताए। पार्टीभित्रका दुवै पक्षसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै उनले आफू कुनै पक्षबाट अलग हुने वा नयाँ राजनीतिक बाटो रोज्ने तयारीमा नरहेको स्पष्ट पारे।

ad

‘म न छलाङको तयारीमा छु न पलायनको। कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्छु भन्ने मेरो मान्यता छ र त्यसैका लागि प्रयत्नरत छु,’ उनले भने।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्रको विवाद समाधान हुन नसके त्यसको असर चुनावी परिणाममा पर्ने उनको विश्लेषण छ। कांग्रेस विभाजित हुँदा राष्ट्रिय सभाको समीकरणमा समेत प्रभाव पर्न सक्ने भएकाले आफू चिन्तित रहेको उनले बताए।

सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा

कांग्रेसको १५औँ महाधिवेशन र पार्टीभित्र देखिएका समानान्तर गतिविधिबारे बोल्दै कोइरालाले दुवै पक्षका नेतृत्वलाई सम्मान गरेर सहमतिको बाटो खोज्नुपर्ने बताए। विशेष महाधिवेशनका लागि आफूलाई निमन्त्रणा नआएको उल्लेख गर्दै उनले पार्टीभित्रको विवाद अन्ततः सर्वोच्च अदालतसम्म पुगेको अवस्थामा अदालतको निर्णय सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

अदालतले कुनै पक्षको महाधिवेशन वा त्यसबाट भएका निर्णयलाई मान्यता दिए पनि वा खारेज गरे पनि लोकतान्त्रिक संस्कारअनुसार त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको उनको भनाइ थियो। पार्टीभित्र नेतृत्व र राजनीतिक विरासतको बहसमा पनि कोइरालाले आफ्नो धारणा राखेका छन्।

कोइराला परिवारको कांग्रेस निर्माणमा ऐतिहासिक योगदान रहेको स्वीकार गर्दै उनले पारिवारिक विरासतका आधारमा मात्रै राजनीति टिक्न नसक्ने बताए। त्यसका लागि निरन्तर काम, योगदान र मिहिनेत आवश्यक पर्ने उनको भनाइ छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई पूर्ण रूपमा अलग्याएर पार्टी अघि बढाउने सोचसमेत उचित नहुने उनले बताए। कांग्रेस विभिन्न विचार र समूह समेटिएको पार्टी भएकाले सबै पक्षलाई साथमा लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

अहिलेको आवश्यकता नयाँ पार्टी गठन गर्नु वा छुट्टै राजनीतिक शक्ति निर्माण गर्नु नभई अस्तित्वमा रहेको कांग्रेसलाई नै एकताबद्ध बनाउनु रहेको कोइरालाको भनाइ छ।

सरकारलाई संविधान र कानुनअनुसार चल्न सुझाव

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै कोइरालाले संविधान र कानुनको सीमाभित्र रहेर शासन सञ्चालन गर्न सुझाव दिएका छन्।

संसद्मा पर्याप्त बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्नु उचित अभ्यास नभएको उनको टिप्पणी छ। संसदीय प्रणालीमा संसद्लाई प्रभावकारी बनाएर अघि बढ्नुपर्ने उनको धारणा छ।

प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे पनि उनले आफ्नो विश्लेषण प्रस्तुत गरेका छन्। उनको विचारमा उक्त भ्रमण मुख्यतः सद्भावना र सम्बन्ध विस्तारमा केन्द्रित रहनेछ। पहिलो भेटमै नेपाल–भारतबीच लामो समयदेखि जटिल बनेका सबै विषय समाधान हुने अपेक्षा गर्नु व्यावहारिक नहुने कोइरालाले बताए।