
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिख (पुस १८ देखि २३, २०८३) सम्म काठमाडौँ र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ।
विदेशमा जन्मिएका, हुर्किएका र शिक्षा हासिल गरेका दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा संस्थागत विकाससँग जोड्ने मुख्य उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनुभयो। आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उहाँले ‘कनेक्ट, एक्सप्लोर, सेप’ मूल नाराका साथ हुने सम्मेलनले शिक्षा, व्यापार, प्रविधि र अनुसन्धानलगायत विविध क्षेत्रमा स्थापित युवा पुस्ताको ज्ञान, सीप, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकासमा परिचालन गर्ने लक्ष्य राखेको बताउनुभयो। दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति, पहिचान र अपनत्वको भावना प्रवर्द्धन गर्दै एनआरएनए अभियानमा उनीहरूको अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्नु सम्मेलनको प्राथमिकता रहने अध्यक्ष शर्माको भनाइ छ।
विश्वभर छरिएर रहेका दोस्रो पुस्ताका नेपाली युवाबीच सञ्जाल विस्तार गर्न, अनुभव साटासाट गर्न र मातृभूमिप्रतिको भावनात्मक तथा व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन साझा मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको सम्मेलनकी संयोजक एवं एनआरएनए आईसीसीकी उपमहासचिव अनुजा प्रधानले बताइन् ।
सम्मेलनअन्तर्गत जनवरी ३ मा काठमाडौँमा हुने मुख्य सत्रमा विज्ञ, युवा नेतृत्व र व्यावसायिक व्यक्तित्वको सहभागितामा पाँचवटा विषयगत छलफल हुनेछन्। जसमा नेपाली भाषा, सम्पदा र पुस्तान्तरणमा केन्द्रित ‘संस्कृति र पहिचान’, प्रवासी युवाको ज्ञानलाई नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र परोपकारी क्षेत्रमा जोड्ने ‘सीप र ज्ञान हस्तान्तरण’ तथा गैरआवासीय नेपाली नागरिकता, व्यावसायिक अनुमतिपत्र र व्यवसाय सञ्चालनका चुनौतीबारे समीक्षा गरिने ‘नीतिगत तथा कानुनी संरचना’ विषय समेटिएका छन्।

यसैगरी सीमापार व्यावसायिक सहकार्य र लगानीका अवसर खोजी गर्ने ‘उद्यमशीलता र लगानी’ र दोस्रो पुस्ताको विश्वव्यापी सञ्जाल सुदृढीकरण तथा एनआरएनएभित्र आवश्यक नीतिगत एवं विधानगत सुधारबारे विमर्श गर्ने ‘युवा नेतृत्व र संस्थागत सुधार’ सत्रसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
मुख्य सम्मेलनसँगै नेपाल पर्यटन बोर्डसँगको सम्भावित रणनीतिक सहकार्यमा सहभागीलाई नेपालको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र संस्थागत पहिचानको प्रत्यक्ष अनुभव गराउन छ दिने ‘डिस्कभर नेपाल’ कार्यक्रमसमेत तय गरिएको छ। कार्यतालिकाअनुसार जनवरी २ मा काठमाडौँमा स्वागत, उद्घाटन समारोह र अन्तर्राष्ट्रिय सञ्जाल विस्तार कार्यक्रम हुनेछ भने जनवरी ३ मा मुख्य सम्मेलन र कार्ययोजना निर्माण सत्र चल्नेछ। यस्तै, जनवरी ४ मा काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक सम्पदा, दरबार क्षेत्र र परम्परागत हस्तकला केन्द्रको अवलोकन भ्रमण तथा जनवरी ५ मा लोकतन्त्र, सुशासन र सार्वजनिक नीतिसँग सम्बन्धित संस्थागत भ्रमण र अन्तरक्रिया गरिनेछ।
कार्यक्रमको अन्तिम चरणअन्तर्गत जनवरी ६ र ७ मा धुलिखेलमा दुई दिने ‘हिमालयन एस्केप’ कार्यक्रम राखिएको छ। सो क्रममा योग, ध्यान, प्रकृति अवलोकन र दोस्रो पुस्ताको भावी दिशा तय गर्ने ‘एक्सन रोडम्याप’ निर्माण कार्यशाला सञ्चालन हुने जनाइएको छ। जनवरी ७ को साँझ काठमाडौँमा साङ्गीतिक कार्यक्रम तथा रात्रिभोजसँगै सम्मेलन समापन हुनेछ। जस्मिन सैयदले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा समिरा केसी, करुणा रावत, इभान शर्मा, कृति महतो, विश्वजित बी. थापा, जागृत पौडेल, रोबर्ट विश्वकर्मा र गौरवराज केसीले विभिन्न सत्रबारे प्रस्तुति दिनुभएको थियो। दोस्रो पुस्तालाई राष्ट्रिय समृद्धिको महत्त्वपूर्ण स्रोतका रूपमा लिँदै एनआरएनएले सम्मेलन सफल बनाउन नेपाल सरकार, सम्बन्धित निकाय, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र सरोकारवालालाई सक्रिय सहयोगका लागि अपिल गरेको छ।









Facebook Comments