काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे सरकारले उपलब्धि सार्वजनिक गर्नुपर्ने काग गरेकाे छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले प्रधानमन्त्रीको भारत भ्रमणबाट दीर्घकालीन महत्त्वका उपलब्धि हासिल भएको नदेखिएको टिप्पणी गरे। 

भ्रमणका विषयमा सरकारले औपचारिक जानकारी दिनुपर्ने उनको भनाइ थियो। सभापति गगनकुमार थापाले भ्रमणबारे हतारमा निष्कर्ष निकाल्ने पक्षमा कांग्रेस नरहेको उनले स्पष्ट पारेका छन्।

ad

‘प्रधानमन्त्रीले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराउनुपर्छ। हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ। तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ थापाले भने।
बैठकमा पार्टीको आगामी संगठनात्मक कार्यभार, भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन, सरकारका पछिल्ला गतिविधि र स्थानीय तह निर्वाचनको तयारीलगायत विषय छलफलका कार्यसूचीमा छन्।
१० वर्षमा जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा असन्तुष्टि
सभापति थापाले २०७२ सालपछि नेपालको राजनीति सत्ता केन्द्रित हुँदै गएको टिप्पणी गरे। राजनीतिक दलहरूले जनताको अपेक्षाअनुसार सेवा प्रवाह र विकासका काम गर्न नसक्दा पछिल्लो राजनीतिक असन्तुष्टि बढेको उनको विश्लेषण थियो।
नेपालको जनसाङ्ख्यिक अवस्था, बसोबासको स्वरूप र अर्थतन्त्रमा ठूलो परिवर्तन आइसकेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्वले बदलिँदो परिस्थितिअनुसार काम गर्न नसकेको बताए। विश्वव्यापी रूपमा नयाँ प्रविधि र सञ्चारका माध्यमको विकास भए पनि त्यसअनुसार राज्यको सेवा प्रवाहमा सुधार हुन नसकेको उनको भनाइ थियो।
उनले पछिल्लो एक दशकमा नागरिकले अपेक्षा गरेको परिणाम दिन नसक्नु नै भदौ २३ र २४ गतेका घटनाको पृष्ठभूमिसँग जोडिएको बताए।
थापाका अनुसार कांग्रेसले आफ्नो महाधिवेशनबाट ती दुवै दिनका घटनालाई गम्भीर रूपमा लिँदै निष्कर्ष निकालेको छ।
‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ। भदौ २३ र २४ गते भएका घटनालाई अन्डरमाइन्ड गर्न हुँदैन भन्ने निष्कर्ष निकालेका छौँ,’ उनले भने।
रास्वपाको आन्तरिक विवादमा कांग्रेसको चासो छैन
सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएका आन्तरिक विवादमा नेपाली कांग्रेस सहभागी नहुने स्पष्ट पारेका छन्।
कांग्रेसले आफ्नो राजनीतिक दिशा र भूमिका निर्धारण गर्दा अन्य दलका आन्तरिक समस्यालाई विषय नबनाउने उनको भनाइ थियो। यो विषय पार्टीको महाधिवेशनबाट पारित दस्तावेजमै स्पष्ट पारिएको उनले जानकारी दिए।
‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन। हामी कुनै कचकच गर्दैनौँ, कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ,’ थापाले भने।
उनको अभिव्यक्तिले कांग्रेसले रास्वपाको आन्तरिक राजनीतिक घटनाक्रमभन्दा आफ्नै संगठन सुदृढीकरण, सरकारका कामको निगरानी र जनताका मुद्दालाई प्राथमिकतामा राख्ने संकेत गरेको छ।