
काठमाडौं।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित भएर सार्वजनिक पदमा रहेका नेता तथा जनप्रतिनिधिलाई देउवा समूहको समानान्तर गतिविधिमा संलग्न हुने भए आफ्नो पदबाट राजीनामा दिन चेतावनी दिएका छन्।
पार्टीको सदस्यता कायम राखेर अर्को राजनीतिक दलको गतिविधिमा सहभागी हुन नमिल्ने भन्दै थापाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो राजनीतिक बाटो स्पष्ट गर्न आग्रह गरेका हुन्।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित भएका व्यक्तिहरूलाई लक्षित गर्दै यस्तो धारणा राखेका हुन्।
‘तपाईं राष्ट्रिय सभामा हुनुहुन्छ, तपाईं प्रतिनिधिसभामा हुनुहुन्छ, तपाईं प्रदेशसभामा हुनुहुन्छ, तपाईं स्थानीय तहको मेयर, उपमेयर, वडाध्यक्ष हुनुहुन्छ, म जान्दिनँ,’ थापाले भने, ‘तर तपाईंले कांग्रेसको सदस्यता छाडेर अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने अहिलेको पदबाट राजीनामा गर्नुहोला, जुन सभामा हुनुहुन्छ, राजीनामा गर्नुहोला।’
देउवा समूहले पार्टीको आधिकारिक संरचनाभन्दा बाहिर रहेर वडा, क्षेत्र, जिल्ला र प्रदेश तहमा अधिवेशनको प्रक्रिया अघि बढाएपछि थापाको यस्तो चेतावनी आएको हो। उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
देउवा पक्षले आफूहरू नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गर्दै पार्टीको नाम, चुनाव चिह्न र आधिकारिकता आफ्नै पक्षमा आउने जिकिर गरिरहेको छ। तर थापाले एउटै पार्टीभित्र दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै समानान्तर गतिविधिलाई पार्टीको आधिकारिक महाधिवेशनका रूपमा मान्यता दिन नसकिने स्पष्ट पारे।
उनले पार्टीबाट निर्वाचित भएर पदमा बस्ने तर अर्कै राजनीतिक संरचनाको गतिविधिमा सहभागी हुने अवस्था स्वीकार्य नहुने बताए। यस्तो गतिविधिमा संलग्न हुनेहरूलाई पार्टी विधानअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने उनको चेतावनी थियो।
यद्यपि, आफूले कसैलाई पार्टीबाट निष्कासन गर्ने कुरा नगरेको थापाले स्पष्ट पारे। संविधान, प्रचलित कानुन र पार्टी विधानले पनि एउटै व्यक्तिलाई एकै समयमा दुई राजनीतिक दलको सदस्य बन्ने छुट नदिने उनको तर्क थियो।
‘मैले नेता साथीहरूलाई पार्टीबाट निकाल्छु भनेकै होइन। नेपालको संविधानले पनि दिँदैन, पार्टीको विधानले दिँदैन। नेपालको कानुनले दिँदैन,’ उनले भने, ‘एउटा व्यक्ति राष्ट्रियसभाको सदस्य हुनुहुन्छ, उहाँ कांग्रेसको पनि सदस्य, अर्को कुनै पार्टीको सदस्य हुन पाउनु हुँदैन।’
देउवा पक्षका समानान्तर गतिविधिमा राष्ट्रिय सभा सदस्य कृष्ण सिटौला, जितजंग बस्नेत तथा प्रदेशसभा सदस्य जित शेरचन, केदार कार्की, भुपेन्द्र राइलगायत नेताहरू संलग्न रहेको बताइएको छ। उनीहरूलाई लक्षित गर्दै थापाले पार्टीको सदस्यता र सार्वजनिक पदबारे स्पष्ट निर्णय लिनुपर्ने सन्देश दिएका हुन्।
सभापति थापाले भने पार्टीभित्रका असन्तुष्ट पक्षलाई बाहिर राखेर अघि बढ्ने आफ्नो चाहना नरहेको बताएका छन्। चारतारे झन्डामुनि रहेका सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्न आफू तयार रहेको उनको भनाइ छ।
विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधानका लागि संवाद र सहमतिको बाटो खुला रहेको उल्लेख गर्दै उनले सहमति र सम्झौताको पनि सीमा हुने बताए। पार्टीको आधिकारिक संरचना र विधानलाई चुनौती दिने गतिविधिसँग भने सम्झौता गर्न नसकिने उनको अडान छ।
उता देउवा समूहले सातै प्रदेशमा अधिवेशन गर्ने तयारीसँगै पार्टीबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।
यसले कांग्रेसभित्रको विवाद अब नेतृत्वको वैधानिकताको प्रश्नमा मात्र सीमित नरही जनप्रतिनिधि र उनीहरूले धारण गरेको सार्वजनिक पदसम्म पुगेको देखिएको छ। थापाको पछिल्लो अभिव्यक्तिले समानान्तर गतिविधिमा संलग्न नेताहरूलाई आफ्नो राजनीतिक तथा संस्थागत आबद्धताबारे निर्णय लिन थप दबाब सिर्जना गरेको छ।









Facebook Comments