
काठमाडौँ।काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नम्बर पुलसम्मको बीपी राजमार्ग दुई लेनमा विस्तार गरिने भएको छ। सडकको स्तरोन्नति तथा चौडाइ विस्तारका लागि करिब ३ अर्ब ८० करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार विस्तार गर्न लागिएको सडकखण्ड २० दशमलव ६ किलोमिटर लामो छ। हाल करिब ५ दशमलव ५ मिटर चौडाइ रहेको कालोपत्रे सडकलाई विस्तार गरेर मुख्य कालोपत्रे भाग १० मिटरसम्म पुर्याउने योजना छ।
सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ।
डीपीआरअनुसार सडक विस्तारमा ३ अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकमको स्रोत सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाइएको योगेशले बताए।
प्रस्तावित लागतअनुसार सडक विस्तारमा प्रतिकिलोमिटर करिब १८ करोड ६ लाख रुपैयाँ खर्च हुनेछ। बजेटको स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाइने र चालु वर्षभित्रै निर्माण सुरु गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।
योगेशका अनुसार धुलिखेलदेखि भकुण्डेबेँसीसम्म सडक विस्तार गर्दा केही रूख कटान गर्नुपर्ने र घुम्ती सुधारका लागि केही घरसमेत हटाउनुपर्ने अवस्था छ। यसले निर्माण प्रक्रिया सुरु गर्न केही समय लाग्न सक्नेछ। निर्माण सुरु भएको तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिनेछ।
सडकको दायाँबायाँ १५ मिटरभित्र पर्ने संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको कार्यालयले जनाएको छ। विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्दछ।
प्रतिघण्टा ६० किलोमिटरको गतिमा यात्रा गर्न सकिने लक्ष्य
सडक विस्तारपछि सवारीसाधनको गति प्रतिघण्टा ३० किलोमिटरबाट बढाएर ६० किलोमिटरसम्म पुर्याउने लक्ष्य राखिएको छ। यसबाट ठूला सवारीसाधनको आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ।
हाल सडकको चौडाइ सीमित हुँदा ठूला सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको छ। विस्तारपछि नारायणगढ हुँदै लामो दूरी पार गरेर काठमाडौं आउनुपर्ने केही ठूला सवारीसाधनले बीपी राजमार्ग प्रयोग गरी छोटो दूरीबाट राजधानी प्रवेश गर्न सक्नेछन्।
सडक निर्माणका क्रममा सहज स्थानमा पर्खाल लगाएर र भौगोलिक रूपमा अप्ठ्यारा क्षेत्रमा पहाडको भित्तो काटेर चौडाइ बढाइने कार्यालयले जनाएको छ।
यसैबीच, २०८१ असोजको बाढीपहिरोले क्षति पुर्याएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको सडकलाई पनि दुई लेनमा पुनर्निर्माण गर्ने काम अघि बढाइएको छ। उक्त क्षेत्रमा क्षति पुगेका सडकखण्डको पुनर्निर्माण गर्दा नाला र ढलसहित सडकको चौडाइ ११ मिटर तथा मुख्य कालोपत्रे भाग सात मिटर बनाउने योजना छ।
धुलिखेलदेखि नेपालथोकसम्म दुई लेन बनाउने योजना
२०८१ असोजको बाढीपहिरोले बीपी राजमार्गको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो। बाढीले सडक बगाएपछि रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर सवारी आवागमन सञ्चालन गरिएको थियो।
क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ। कार्यालयका अनुसार काभ्रेतर्फका तीन खण्डका लागि ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीतर्फको खण्डका लागि एक अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ।
बाढीले क्षति पुर्याएको खण्ड पुनर्निर्माण गर्ने क्रममा धुलिखेलदेखि भकुण्डेबेँसीसम्मको सडकलाई पनि दुई लेनमा विस्तार गर्ने प्रस्ताव स्वीकृत भएको योगेशले बताए।
यसरी धुलिखेलदेखि नेपालथोकसम्मको करिब ५२ किलोमिटर सडक दुई लेनमा स्तरोन्नति हुनेछ। नेपालथोकदेखि खुर्कोटसम्मको पुरानो बीपी राजमार्गलाई भौगोलिक कठिनाइका कारण दुई लेनमा विस्तार गर्न भने चुनौती रहेको कार्यालयको भनाइ छ।
नेपालथोकबाट मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्मको आवागमन सहज बनाउन सुनकोशी नदीमाथि दुई लेनको पक्की पुल निर्माण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। उक्त पुलका लागि ठेक्का सम्झौता भइसकेको योगेशले जानकारी दिए।
जापानी सहयोगमा बनेको राजमार्गको स्तरोन्नति
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण सुरु गरिएको थियो।
विभिन्न खण्डमा विभाजन गरेर निर्माण गरिएको राजमार्ग २०७२ असार १८ गते जापान सरकारले औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
पूर्वी तराई र राजधानीलाई जोड्ने छोटो तथा महत्त्वपूर्ण सडकका रूपमा रहेको बीपी राजमार्गमा पछिल्लो समय सवारी चाप बढ्दै गएको छ। बाढीपहिरोबाट क्षतिग्रस्त खण्डको पुनर्निर्माण र धुलिखेलदेखि नमोबुद्धसम्मको सडक विस्तार सम्पन्न भएपछि राजमार्गको आवागमन क्षमता बढ्ने अपेक्षा गरिएको छ।









Facebook Comments