काठमाडौँ ।राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको करिब १६ अर्ब रुपैयाँ लागतको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको विषयले संसदीय छानबिनको रूप लिएको छ। ठेक्का रद्द गर्नुअघि सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरी नियन्त्रणमा लिइएको घटनासमेत सार्वजनिक भएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारसँग जवाफ मागेको छ।

मंगलबार बसेको समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सिँचाइ विभागका अधिकारीहरूसँग ठेक्का रद्द गर्नुको कारण, कानुनी आधार र निर्णय प्रक्रियाबारे छलफल भएको थियो। बैठकमा सहभागी सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला बोलपत्र रद्द गरिनुका पछाडि कुनै स्वार्थ वा बाह्य दबाब थियो कि थिएन भन्ने विषयमा प्रश्न उठाए।

ad

समितिले विवादित ठेक्का प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। समितिका सभापति भरत खड्काका अनुसार प्राप्त कागजातको अध्ययनपछि निर्णय प्रक्रियाको वैधानिकता र उठेका आरोपबारे थप अनुसन्धान गरिनेछ।

ठेक्का रद्द गर्ने निर्णयमाथि दलहरूबीच साझा चासो

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका गणेशसिंह ठगुन्ना, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बु ओली र नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्ने निर्णयबारे प्रश्न उठाएका थिए।

सांसदहरूले सार्वजनिक खरिद नियमावलीको संशोधनलाई आधार बनाएर अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया रद्द गर्नुको औचित्य स्पष्ट पार्न माग गरे। उनीहरूले यसबाट राज्यलाई आर्थिक क्षति पुगेको भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाए।

राप्रपाकी सांसद खुस्बु ओलीले प्रधानमन्त्री कार्यालयबाट ठेक्का रद्द गर्ने विषयमा कुनै निर्देशन, राय वा निर्णय आएको थियो कि थिएन भन्ने स्पष्ट पार्नुपर्ने बताइन्।

उनले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्न सक्ने भए पनि त्यसका नाममा कानुनी प्रक्रियामा हस्तक्षेप गर्न नमिल्ने धारणा राखिन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका विवरणलाई समेत ध्यानमा राखेर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो।

ओलीले सांसद ठगुन्नाले उठाएको भूतप्रभावी कानुनको विषयलाई समर्थन गर्दै प्रक्रिया पूरा भइसकेपछि नियम परिवर्तन गरेर पुरानो प्रक्रियामै असर पार्न नहुने तर्क गरिन्।

आर्थिक प्रस्ताव खोल्ने चरणमा किन रद्द गरियो ?

एमाले सांसद गणेशसिंह ठगुन्नाले प्राविधिक मूल्याङ्कन सम्पन्न भएर आर्थिक प्रस्तावसमेत सिलबन्दी रूपमा पेस भइसकेको अवस्थामा बोलपत्र रद्द गरिनु शंकास्पद रहेको बताए।

उनका अनुसार हेडवर्क्स र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधनअनुसार अघि बढाइएको थियो। तर प्रक्रिया अन्तिम चरणमा पुगेपछि नियमावली संशोधन भएको भन्दै ठेक्का रद्द गर्नुको कानुनी आधार स्पष्ट हुनुपर्ने उनले बताए।

ठेक्का प्रक्रियाको बीचमा नियम परिवर्तन गरेर पहिलेको प्रक्रिया नै रद्द गर्ने अभ्यासले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रभावित हुने उनको भनाइ थियो। यस विषयमा समितिले विस्तृत अध्ययन गर्नुपर्ने उनले माग गरे।

दुई वर्षदेखि सुरुङपछिको काम ठप्प भएको सांसदको प्रश्न

रास्वपा सांसद मनिष झाले ठेक्का रद्द भएको घटनालाई मात्र नभई आयोजनाको समग्र प्रगतिलाई केन्द्रमा राखेर छानबिन गर्नुपर्ने बताए।

करिब ६ वर्षअघि सुरु भएको आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ सन् २०२४ मे महिनामै ब्रेक थ्रु भए पनि त्यसपछि अन्य संरचना निर्माणको काम अघि बढ्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे।

उनले २०८२ कात्तिक २५ गते भएको ठेक्का रद्दको निर्णय कसको जिम्मेवारीमा भएको थियो र त्यसको वास्तविक कारण के थियो भन्ने पत्ता लगाउनुपर्ने बताए।

‘काम किन अगाडि बढेन, के बदमासी देखियो र अबको बाटो के हो भन्ने तीनवटा कुरामा थप स्पष्टता आवश्यक छ,’ झाले बैठकमा भने।

उनले आयोजनाको काम सम्पन्न गर्ने स्पष्ट समयसीमा र कार्ययोजना सरकारले प्रस्तुत गर्नुपर्ने माग गरे।

सुनकोशी–मरिण आयोजना सम्पन्न हुँदा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्र गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने तथा २८ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य छ।

आयोजना लामो समय अन्योलमा रहँदा किसानले बेहोर्नुपरेको उत्पादन क्षतिको समेत मूल्याङ्कन गर्नुपर्ने झाले बताए। ठेक्का विवाद लम्बिँदै गए मधेसका नागरिकमा असन्तुष्टि बढ्न सक्ने उनको भनाइ थियो।

राज्यलाई भएको आर्थिक क्षतिको विवरण माग

कांग्रेस सांसद जनकराज गिरीले ठेक्का रद्द गर्ने निर्णयलाई वित्तीय अनुशासनसँग जोडेर हेर्नुपर्ने बताए।

उनले अघिल्लो निर्माण कम्पनी रमण–पटेल जेभीसँगको ठेक्का रद्द गर्दा राज्यलाई कति आर्थिक क्षति भयो र नयाँ प्रक्रिया रद्द गर्दा थप दायित्व सिर्जना भयो कि भएन भन्ने विवरण माग गरे।

गिरीले प्रधानमन्त्री कार्यालयबाट सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई नियन्त्रणमा लिइएको घटनाबारे पनि स्पष्ट जवाफ आउनुपर्ने बताए।

नेकपाका सांसद महेन्द्रबहादुर शाहीले नियमावली संशोधन हुँदैमा बहुवर्षीय आयोजना तथा पुराना ठेक्का स्वतः रद्द गर्न मिल्ने हो कि होइन भन्ने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको बताए।

उनले ठेक्का रद्द गर्नुको प्राविधिक कारण, कानुनी आधार र राज्यलाई परेको आर्थिक प्रभावबारे सरकारसँग तथ्यगत विवरण माग गरे।

प्रधानमन्त्री कार्यालय गएको महानिर्देशकको स्वीकारोक्ति

बैठकमा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरे। तर ठेक्का रद्द गर्ने विषयमा प्रधानमन्त्री कार्यालय वा सचिवालयबाट कुनै नियन्त्रण अथवा हस्तक्षेप महसुस नगरेको उनको दाबी थियो।

रजौरियाले नयाँ ठेक्का प्रक्रिया रद्द गर्नुको मुख्य कारण सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधन रहेको बताए।

उनका अनुसार २०८३ असार २५ गते आयोजनाको हेडवर्क्स, डिस्यान्डर, पावरहाउस लगायतका संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो। त्यसबेला सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधनअनुसार औसत बोलपत्र मूल्यका आधारमा मूल्याङ्कन गर्ने व्यवस्था अपनाइएको थियो।

तर २०८३ भदौ ३ गतेदेखि लागू हुने गरी नियमावलीको १६औँ संशोधन राजपत्रमा प्रकाशित भयो। भदौ १० गते प्राविधिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला आएको उक्त संशोधनले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका आयोजनामा अङ्कभारमा आधारित मूल्याङ्कन प्रणाली अनिवार्य गरेको रजौरियाले बताए।

उनका अनुसार पुरानै मूल्याङ्कन प्रणालीबाट प्रक्रिया अघि बढाउँदा भविष्यमा कानुनी तथा प्रक्रियागत जटिलता आउन सक्ने देखिएकाले बोलपत्र रद्द गरिएको हो।

रजौरियाले आफू २०८३ असोज ५ गते विभागको जिम्मेवारीमा आउनुअघि नै प्राविधिक मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिँदै आर्थिक प्रस्ताव खोल्ने विषयमा सम्बन्धित मन्त्रीहरूको उपस्थितिमा समेत छलफल भएको बताए।

उनले निर्णय कुनै व्यक्ति वा निर्माण कम्पनीको स्वार्थमा नभई प्रचलित कानुनअनुसार गरिएको दाबी गरे।

दुई अधिकारी नियन्त्रणमा लिइएको घटनाले थप प्रश्न

ठेक्का रद्द हुनुअघि महानिर्देशक रजौरिया र आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले पनि विवादलाई थप चासोको विषय बनाएको छ।

प्रहरी उच्च स्रोतलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अधिकारीहरूको निर्देशनमा दुवैलाई नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई कात्तिक १२ गते सिरहा र सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाडौँस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको र कात्तिक १३ गते साँझ रिहा गरिएको दाबी गरिएको छ।

त्यसको केही समयपछि ठेक्का रद्द गरिएको सूचना गोरखापत्रमा प्रकाशित भएको थियो।

यसैबीच, मन्त्रालयका केही स्रोतले प्राविधिक मूल्याङ्कनबाट आफू निकटका निर्माण कम्पनी बाहिरिएपछि ठेक्का प्रक्रिया रद्द गर्न दबाब दिइएको आरोप लगाएका छन्। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ। महानिर्देशक रजौरियाले भने प्रधानमन्त्री कार्यालयबाट दबाब वा हस्तक्षेप भएको अस्वीकार गरेका छन्।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तीन कम्पनी प्राविधिक रूपमा योग्य

आयोजनाले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा चीन, भारत र भियतनामका गरी छवटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए।

प्रारम्भिक प्राविधिक मूल्याङ्कनमा तीनवटा चिनियाँ कम्पनी मात्र योग्य ठहरिएका थिए। योग्य कम्पनीमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, एनेंग–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड रहेका थिए।

बाँकी तीन कम्पनी भने न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्न नसकेपछि प्रतिस्पर्धाबाट बाहिरिएका थिए। तीमध्ये भारत र नेपालको संयुक्त उपक्रम एसआईएल–केसी कन्स्ट्रक्सन–फेवा, भियतनाम र नेपालको सोङ्दा–कालिका कन्स्ट्रक्सन तथा चिनियाँ संयुक्त उपक्रम सीआरईजीसी–एसडब्लूडीसीसी थिए।

प्राविधिक मूल्याङ्कनबाट तीन कम्पनी छनोट भइसकेपछि आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको प्रक्रिया रद्द हुनु नै अहिलेको विवादको मुख्य विषय बनेको छ।

एकातिर विभागले नियमावलीको संशोधनअनुसार कानुनी जटिलता रोक्न बोलपत्र रद्द गरिएको दाबी गरेको छ भने अर्कोतिर सांसदहरूले निर्णयको समय, प्रक्रिया र त्यसअघि भएका घटनाक्रममाथि प्रश्न उठाएका छन्।

अब सार्वजनिक लेखा समितिले सात दिनभित्र प्राप्त गर्ने कागजातका आधारमा ठेक्का रद्दको निर्णय कानुनी आवश्यकताका कारण गरिएको थियो वा प्रक्रियामा बाह्य हस्तक्षेप भएको थियो भन्ने विषयको अध्ययन गर्नेछ। त्यसबाट आयोजनाको निर्माण प्रक्रिया पुनः कसरी अघि बढाउने भन्ने विषयमा समेत थप स्पष्टता आउने अपेक्षा गरिएको छ।