काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसहित केही व्यक्तिविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रक्रियामा हस्तक्षेप गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ।

वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले बेनसहित सम्बन्धित व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी पठाएका हुन्।

ad

वलीका अनुसार सोमबार प्रहरी कार्यालयले जाहेरी बुझ्न अस्वीकार गरेपछि उनले हुलाक सेवामार्फत सम्बन्धित निकायमा कागजात पठाएका हुन्।

जाहेरीमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फोनबाट अनुसन्धानसँग सम्बन्धित डिजिटल प्रमाण हटाइएको दाबी गरिएको छ। फरेन्सिक परीक्षण प्रतिवेदनलाई आधार बनाउँदै उक्त मोबाइल असोज १५ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय हुँदै कुपण्डोलमा रहेको कुमार बेनको निवाससम्म पुर्‍याइएको आरोप जाहेरीमा उल्लेख छ।

यस घटनामा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीको सम्भावित भूमिकाबारे समेत छानबिन गर्न वलीले माग गरेका छन्।

जाहेरीसँगै घटनासँग सम्बन्धित मोबाइलको फरेन्सिक परीक्षण प्रतिवेदन, तस्बिर र भिडियो सामग्री पनि प्रमाणका रूपमा पेस गरिएको बताइएको छ।

वलीले मुलुकी अपराध संहिता, २०७४ को दफा ९३ आकर्षित हुने गरी प्रमाण दबाउने, नष्ट गर्ने वा अनुसन्धान प्रभावित पार्ने कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले कानुनअनुसार दर्ता गर्न नमिल्ने प्रकृतिका जाहेरी प्रहरीले अस्वीकार गर्न सक्ने बताएका छन्।

प्रहरीमा जाहेरी दर्ता नभएको अवस्थामा जिल्ला सरकारी वकिल कार्यालयमार्फत कानुनी प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ।

यद्यपि, जाहेरीमा लगाइएका आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन। सम्बन्धित व्यक्तिहरूको यस विषयमा आधिकारिक प्रतिक्रिया तथा अनुसन्धानको निष्कर्ष आउन बाँकी छ।