
काठमाडौं।नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनको जस्तो लहर वा हुरीबतास नचल्ने बताएका छन्।
मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनमा उम्मेदवारको व्यक्तिगत पहिचान, राजनीतिक पृष्ठभूमि र विगतका कामले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
उनले संघीय निर्वाचनमा जस्तो जुनसुकै उम्मेदवारलाई मतदान गर्ने प्रवृत्ति स्थानीय तहमा नरहने जिकिर गरे। स्थानीय स्तरमा उम्मेदवारको पारिवारिक सम्बन्ध, सामाजिक पहिचान र कामकारबाहीबारे मतदाता जानकार हुने भएकाले चुनावलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ थियो।
‘स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव छैन। स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भन्ने हुँदैन। सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन्,’ प्रचण्डले भने।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई चुनाव जित्ने आत्मविश्वासका साथ मैदानमा खटिन निर्देशनसमेत दिए। पार्टी कमजोर छ वा चुनाव हारिन्छ भन्ने मानसिकता बनाएर अघि बढ्दा परिणाम पनि अनुकूल नआउने उनको संकेत थियो।
प्रचण्डले नयाँ राजनीतिक दलका गतिविधि र कामकारबाहीबारे नागरिकले विस्तारै बुझ्दै गएको दाबी गरे। नयाँ राजनीतिक शक्तिप्रति जनताको धारणा क्रमशः स्पष्ट हुँदै जाने उल्लेख गर्दै उनले आफ्नो पार्टीको इतिहास, राजनीतिक योगदान र कामबारे गाउँगाउँमा जानकारी पुर्याउनुपर्ने बताए।
‘हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन। इतिहास र पृष्ठभूमि थाहा नभइ भोट हाल्दैनन्। नयाँको काम बुझ्नेले त बुझिसकेका छन्। गाउँघरमा बुझाउन बाँकी छ,’ उनले भने।
स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा हासिल गर्न सके मुलुकको राजनीतिक परिवर्तनको प्रक्रिया पुनः अघि बढ्ने प्रचण्डको दाबी थियो।
‘स्थानीय तहमा राम्रो परिणाम निकाल्यौं भने क्रान्तितिर देश फेरि जान्छ। यो कुरालाई तपाईं हामीले जति गहिरो गरी बुझ्छौं, त्यति जोश आउनेछ,’ उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने।
उनले स्थानीय निर्वाचनलाई पार्टीको राजनीतिक प्रभाव र संगठनात्मक शक्ति परीक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने सन्देश दिएका छन्।









Facebook Comments