काठमाडौं।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राजनीतिक संवादमा मर्यादा र सीमा कायम राख्न आग्रह गरेका छन्।

मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले देउवाको राजनीतिक हैसियत र योगदानअनुसार अभिव्यक्ति आउनुपर्ने बताएका हुन्।

ad

थापाले देउवालाई पार्टीको पूर्वसभापति मात्र नभई लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण नेता र पार्टीको अभिभावकका रूपमा चित्रण गरे। उनले देउवाप्रति आफ्नो सम्मान कायमै रहेको उल्लेख गर्दै राजनीतिक असहमति व्यक्त गर्दा पनि त्यसको भाषा र शैली मर्यादित हुनुपर्नेमा जोड दिए।

‘मलाई जोकरहरूले के भने भन्नेसँग सरोकार छैन। तर त्यो नमुनाहरूले, जोकरहरूले बोलेको जस्तै शेरबहादुर देउवाले बोल्न थाल्नुभयो भने मलाई चिन्ता लाग्ने भो। मेरो नेता हुन्, सभापति नि,’ थापाले बैठकमा भने।

उनले विशेष महाधिवेशनका विषयमा देउवाले असहमति राख्न र प्रश्न उठाउन पाउने भए पनि त्यसलाई राजनीतिक ढङ्गले प्रस्तुत गर्नुपर्ने बताए।

‘विशेष महाधिवेशनमाथि प्रश्न उठाउनुस्, त्यसमा मेरो भन्नु केही छैन। किनकि त्यसमा तपाईंका प्रश्न वा असन्तुष्टिहरू होलान्। तर त्यो राजनीतिक हुनुपर्छ,’ थापाले भने, ‘राजनीतिक मान्छेको बोली, वचन र असहमति पनि राजनीतिक नै हुनुपर्छ। त्यसलाई एउटा सीमा र मर्यादाभित्र राख्नुपर्छ।’

सम्बोधनका क्रममा थापाले देउवासँग विगतमा आफूले राजनीतिक र सांगठनिक प्रतिस्पर्धा गरेको प्रसंगसमेत स्मरण गरे। देउवा पार्टी सभापति हुँदा आफूले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गरेको र उनको नेतृत्व स्वीकार गरेर पार्टीमा काम गरेको उनले बताए।

‘तपाईंको सभापतित्वमा बसेर हामीले काम गरेका हौं। म तपाईंसँग संसदीय दलको नेता लडेको हुँ। तपाईं पार्टी सभापति हुनुहुन्न भनेर पनि लडेको हुँ। तर, तपाईं पार्टी सभापति भएको कुरालाई मानेर पनि बसेको हुँ,’ थापाले भने।

उनका अनुसार पार्टीभित्र फरक मत राख्नु र नेतृत्वको निर्णयमाथि प्रश्न उठाउनु स्वाभाविक राजनीतिक प्रक्रिया हो। तर, असहमति व्यक्त गर्ने क्रममा व्यक्तिगत आरोप र अमर्यादित अभिव्यक्तिभन्दा राजनीतिक तर्क र संवादलाई प्राथमिकता दिनुपर्छ।

आफूले देउवालाई विगतमा सँगै काम गरेको नेता र पार्टीको अभिभावकका रूपमा लिने गरेको उल्लेख गर्दै थापाले उमेर, अनुभव र राजनीतिक योगदानले स्थापित नेताको अभिव्यक्तिमा पनि त्यहीअनुसारको राजनीतिक संस्कार देखिनुपर्ने धारणा राखे।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको असन्तुष्टि र नेतृत्वबीचको मतभेदका सन्दर्भमा थापाको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।