काठमाडौं।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्ने प्रयास भए हतकडीसहित आउन सरकारलाई चुनौती दिएका छन्। आफूविरुद्ध उठेका प्रश्नमा कानुनी अनुसन्धान गर्न पूर्ण सहयोग गर्ने स्पष्ट पार्दै उनले डर, धम्की र सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गरेर आफ्नो आवाज दबाउन नसकिने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूविरुद्ध भइरहेको प्रचार र व्यक्तिगत जीवनमाथि उठाइएका प्रश्नप्रति असन्तुष्टि जनाए। प्रश्न उठाउन थालेपछि अडियो सार्वजनिक गरेर भय सिर्जना गर्ने प्रयास गरिएको उनको टिप्पणी थियो।

ad

‘पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,’ थापाले भने।

उनले आफू वा अन्य कुनै व्यक्तिविरुद्ध हुने अनुसन्धानमा नेपाली कांग्रेसले अवरोध नगर्ने स्पष्ट पारे। अनुसन्धान निष्पक्ष र कानुनसम्मत हुनुपर्नेमा जोड दिँदै उनले राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार परिचालन नगर्न सरकारलाई सचेत गराए।

राज्यका संयन्त्र सत्य र न्यायको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो। सरकारका गलत निर्णय र कामको विरोध गर्नु प्रतिपक्षको राजनीतिक जिम्मेवारी भएको उल्लेख गर्दै थापाले विगतमा पनि विभिन्न चुनौती र दबाबको सामना गरेर आफ्नो राजनीतिक यात्रा अघि बढाएको स्मरण गरे। राजाको शासनकालमा राजद्रोहको मुद्दा खेप्नुपरेको र माओवादी द्वन्द्वका क्रममा समेत कठिन परिस्थिति सामना गरेको उनले बताए।

सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्ने पक्षमा कांग्रेस

बैठकमा थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनबाट प्राप्त गरेको जनादेशको सम्मान गर्दै सरकारलाई पाँच वर्षसम्म निर्बाध काम गर्न दिनुपर्ने धारणा राखे। कांग्रेस सरकारमा सहभागी हुने वा प्रतिपक्षी दलहरूबीच सत्ता समीकरणका लागि गठबन्धन बनाउने पक्षमा नरहेको उनले स्पष्ट पारे।

सरकारका सकारात्मक काममा सहयोग गर्ने र कमजोरी देखिएमा प्रश्न उठाउँदै खबरदारी तथा आवश्यक प्रतिरोध गर्ने कांग्रेसको नीति हुने उनले बताए। पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा पुनःस्थापित गर्दै प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता थियो।

ओलीसँग पाँचपटक भेट, मधेसको राजनीतिक समीकरणबारे संवाद

सभापति बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँचपटक भेट भएको जानकारी पनि थापाले बैठकमा गराए। प्रदेश सरकारको समीकरण र विशेषगरी मधेस प्रदेशको राजनीतिक अवस्थाबारे विभिन्न दलका नेताहरूसँग छलफल गर्नु स्वाभाविक भएको उनको भनाइ थियो।

मधेस प्रदेशमा मध्यावधि निर्वाचनमा जाने वा राजनीतिक दलहरूबीच सहमतिबाट निकास खोज्ने भन्ने विषयमा छलफल आवश्यक रहेको उनले बताए। यस क्रममा एमाले अध्यक्ष ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संवाद भइरहेको उनले जानकारी दिए।

यस्ता राजनीतिक भेटघाटलाई अन्य अर्थमा व्याख्या गर्न नहुने उल्लेख गर्दै थापाले सामाजिक सञ्जालमार्फत भ्रम र भय सिर्जना गरेर पार्टीको मूल राजनीतिक अडान कमजोर नहुने बताए।

कांग्रेसको पुनर्गठन र विधान कार्यान्वयनमा जोड

थापाले कांग्रेसको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि पार्टीको नीति, विचार र कार्यदिशा तय गर्ने आधार तयार गरेको बताए। राष्ट्रिय पुनर्जागरण र समुन्नतिको लक्ष्यसहित पार्टीलाई अघि बढाउने उनको भनाइ थियो।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेको स्वीकार गर्दै उनले त्यसको गम्भीर समीक्षा आवश्यक रहेको बताए। २०६२/६३ को जनआन्दोलनपछिका दुई दशकको राजनीतिक उपलब्धि र कमजोरीको मूल्याङ्कन गर्दै नागरिक र राज्यबीच कमजोर बनेको विश्वास पुनःस्थापित गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उनले उल्लेख गरे।

पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को दलको सदस्यता लिने जनप्रतिनिधिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने व्यवस्था विधानअनुसार कार्यान्वयन गरिने पनि उनले बताए। यसमा कुनै सम्झौता नहुने उनको स्पष्टोक्ति थियो।

त्यसैगरी आगामी पुस १५ गतेभित्र जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई आग्रह गरिएको उनले जानकारी दिए। बैठकमा स्थानीय तहको आगामी निर्वाचनको प्रारम्भिक तयारी र पार्टीको भावी राजनीतिक कार्यदिशाबारे समेत छलफल भइरहेको छ।

थापाको सम्बोधनले एकातिर सरकारलाई अनुसन्धानका नाममा राजनीतिक प्रतिशोध नलिन चेतावनी दिएको छ भने अर्कोतिर कांग्रेसले सत्ता समीकरणभन्दा संगठन निर्माण र सशक्त प्रतिपक्षको भूमिकालाई प्राथमिकता दिने सन्देश दिएको छ।