
रुपन्देही । नेपाल र भारतबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई रुट दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ। तर, विगतमा पटकपटक आश्वासन पाएर पनि विमानस्थलले गति लिन नसकेको अनुभवका कारण यसपटकको सहमति कार्यान्वयन हुनेमा निजी क्षेत्रले आशंका पनि व्यक्त गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा नेपालले लामो समयदेखि उठाउँदै आएको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषय समेटिएको छ। यसलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
तर, हवाई रुटसम्बन्धी सहमति हुँदैमा विमानस्थल नियमित रूपमा सञ्चालन हुने अवस्था सुनिश्चित नहुने निजी क्षेत्रको बुझाइ छ। प्राविधिक जटिलता समाधान, आवश्यक पूर्वाधारको व्यवस्था र सरकारी सक्रियता बढाउनुपर्ने उनीहरूको माग छ।
नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर्स अपरेटर्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले हवाई रुट दुईतर्फी बनाउने सहमतिलाई सकारात्मक उपलब्धि भने पनि त्यसको व्यावहारिक कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।
उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) सँग सम्बन्धित प्रक्रिया, आईएलएस र आरएनपी एआर प्रविधि सञ्चालनमा देखिएका अवरोध तथा विमानको उडान उचाइ प्रयोगसम्बन्धी विषय टुंगो लाग्न आवश्यक छ।
‘भैरहवाको हवाई रुट दुईतर्फी प्रयोग गर्ने सहमति सकारात्मक छ। तर आईकाओसँग सम्बन्धित प्रक्रिया, आईएलएस र आरएनपी एआर प्रविधि सञ्चालनमा देखिएका अवरोध तथा विमानको उडान उचाइ प्रयोगबारे भारतको धारणा स्पष्ट हुनुपर्छ,’ थापाले भने।
उनका अनुसार दुईतर्फी हवाई मार्ग सञ्चालनमा आए विमानलाई आवागमनमा सहजता हुनेछ। अहिले सीमित हवाई मार्गका कारण जहाजले लामो दूरी तय गर्नुपर्ने र आकाशमा होल्ड गर्नुपर्ने अवस्थाले उडान खर्च बढाइरहेको छ। नयाँ व्यवस्थाले उडान दूरी र खर्च घटाउनुका साथै अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारको लगानी, सञ्चालनमा भने उदासीनता
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले नेपाल र भारतबीचको पछिल्लो समझदारीले प्रदेशको निजी क्षेत्रमा आशा जगाएको बताए।
उनले हवाई रुटको समस्या गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रमुख अवरोधमध्ये एक रहँदै आएको उल्लेख गर्दै पछिल्लो सहमतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। तर, प्राविधिक परामर्शपछि मात्रै रुट सञ्चालनको विषय टुंगिने भनिएकाले अझै केही अन्योल रहेको उनको भनाइ छ।
श्रेष्ठले विमानस्थल सञ्चालनमा हवाई रुटको विषय मात्र नभई नेपाल सरकारको पर्याप्त चासो र सक्रियता पनि आवश्यक रहेको औँल्याए।
सरकारले अर्बौं रुपैयाँ खर्च गरेर विमानस्थल निर्माण गरे पनि त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक काम पूरा हुन नसकेको उनको गुनासो छ। विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रमा पर्यटन, होटल, यातायात तथा अन्य व्यवसायमा गरिएको निजी लगानीसमेत प्रभावित भएको उनले बताए।
‘हामी त्यसतर्फ नेपाल सरकारलाई झकझकाइरहेका छौँ। निजी क्षेत्रलाई जिम्मा दिने हो भने निजी क्षेत्र हामी गर्न तयार छौँ,’ श्रेष्ठले भने।
उनले विमानस्थल सञ्चालनका लागि तत्काल गर्नुपर्ने नीतिगत र प्राविधिक कामको पहिचान गरी सरकारले स्पष्ट कार्ययोजना ल्याउनुपर्ने बताए। निजी क्षेत्रले गर्न सक्ने काम र सरकारले गर्नुपर्ने जिम्मेवारी छुट्याएर अघि बढ्नुपर्ने उनको सुझाव छ।
‘हामी उत्साहित त छौँ, तर विगतमा पटकपटक आश्वासन आए पनि विमानस्थल चलेन। त्यसैले सहमति कार्यान्वयन हुनेमा उत्साहसँगै संशय पनि छ,’ उनले भने।
लखनऊ–लुम्बिनी जोडिँदा बौद्ध पर्यटनलाई लाभ
लुम्बिनी होटल संघले पनि नेपाल–भारतबीच भएको हवाई रुटसम्बन्धी समझदारीको स्वागत गरेको छ। संघका अध्यक्ष लिलामणि शर्माले लखनऊसँग भैरहवा जोडिनु लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन विस्तारका लागि महत्वपूर्ण अवसर हुने बताए।
भारतको लखनऊबाट भैरहवा हुँदै लुम्बिनी पुग्न सहज हुने अवस्था बनेमा भारतीय तथा अन्य मुलुकबाट आउने बौद्ध धर्मावलम्बी पर्यटकलाई लाभ पुग्ने उनको भनाइ छ।
लखनऊ, श्रावस्ती र लुम्बिनीलाई एउटै पर्यटन गन्तव्यका रूपमा जोड्न सकिने सम्भावना रहेको शर्माले बताए।
‘हामीकहाँ आउने जति पनि बौद्धमार्गीहरू हुनुहुन्छ, उहाँहरूका लागि लखनऊ, श्रावस्ती र लुम्बिनी अब एकदम नजिकको अवस्थामा पुग्छन्,’ उनले भने, ‘यसले लुम्बिनीको पर्यटनलाई विशेष प्रवर्द्धन गर्छ।’
उनका अनुसार लखनऊ भारतको महत्वपूर्ण सहर भएकाले त्यहाँसँग हवाई सम्पर्क स्थापित हुँदा लुम्बिनीमा पर्यटक आगमन बढाउन सहयोग पुग्न सक्छ। यसले भैरहवा र लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्ने अवसरसमेत सिर्जना गर्नेछ।
सहमति कार्यान्वयन नै मुख्य चुनौती
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान र अपेक्षित व्यावसायिक गतिविधि विस्तार हुन सकेको छैन। हवाई मार्गको सहज उपलब्धता, प्राविधिक सुविधा, एयरलाइन्सको व्यावसायिक आकर्षण र नियमित उडानको सुनिश्चितता विमानस्थलका प्रमुख चुनौतीका रूपमा रहँदै आएका छन्।
निजी क्षेत्रका प्रतिनिधिहरूले पछिल्लो सहमतिलाई विमानस्थल सञ्चालनको अवसरका रूपमा लिएका छन्। तर, सहमतिलाई कागजमा सीमित नराखी प्राविधिक प्रक्रिया छिटो टुंग्याउन र नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।
उनीहरूका अनुसार विमानस्थल सञ्चालनमा आए लुम्बिनी आउने विदेशी पर्यटकलाई हवाई पहुँच सहज हुनेछ। यसबाट होटल, पर्यटन, यातायात, ट्राभल तथा अन्य सेवा व्यवसायमा गरिएको लगानीले पनि गति पाउने अपेक्षा छ।
निजी क्षेत्रको मुख्य माग अब हवाई रुटसम्बन्धी सहमतिको स्वागतमा सीमित छैन। प्राविधिक अवरोध हटाउने, पूर्वाधार र नीतिगत व्यवस्था मिलाउने तथा अन्तर्राष्ट्रिय एयरलाइन्सलाई भैरहवाबाट नियमित उडान गर्न आकर्षित गर्ने ठोस काम तत्काल सुरु हुनुपर्ने उनीहरूको जोड छ।









Facebook Comments