काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको सम्बन्धमा देखिएको दूरी पछिल्लो समय पार्टीका बैठक र गतिविधिमा समेत प्रकट हुन थालेको छ। पार्टी पुनर्गठनको विषयलाई लिएर दुई नेताबीच मतभेद बढ्दै जाँदा राष्ट्रिय कार्यकर्ता भेलामै ओलीले पोखरेललाई काम गर्न नसके पद छाड्न सुझाव दिएका छन्।

गत २ र ३ मंसिरमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष ओली र महासचिव पोखरेलबीच पार्टीको आगामी दिशा, नेतृत्व हस्तान्तरण र सांगठनिक पुनर्गठनका विषयमा मतभिन्नता देखिएको थियो।

ad

भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले पदमा बसेर काम गर्न नसक्नेले नयाँ नेतृत्वलाई ठाउँ दिनुपर्ने बताएका थिए। उनले यो कुरा महासचिव पोखरेलको सन्दर्भमा मात्र नभई आफू स्वयंमा पनि लागू हुने उल्लेख गरेका थिए।

‘काम गर्न सकिँदैन भने छोडिदिनुपर्छ, नयाँलाई ठाउँ दिनुपर्छ,’ ओलीले भनेका थिए, ‘दौडन सकिँदैन भने छोड्नुपर्छ, मेरो पनि हो, अरूका लागि पनि हो। काम गर्न नसक्ने अवस्था आयो भने ठाउँ ओगटेर बस्नु हुँदैन।’

ओलीको यो अभिव्यक्तिलाई महासचिव पोखरेलले अघि सारेको नेतृत्व पुनर्गठन र पुस्तान्तरणको प्रस्तावप्रतिको प्रतिवादका रूपमा हेरिएको छ।

गत २१ फागुनको निर्वाचनमा एमालेले बेहोरेको पराजयपछि पोखरेलले पार्टीको नेतृत्व र संगठन पुनर्गठन गर्नुपर्ने धारणा अघि सारेका थिए। त्यसका लागि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरी देशभरका नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरिएको थियो। प्राप्त सुझावका आधारमा पोखरेलले प्रतिवेदनसमेत तयार पारेका थिए।

तर उक्त प्रतिवेदनमा समेटिएका विषय कार्यान्वयन गर्ने पोखरेलको अडानप्रति ओली असन्तुष्ट रहेको नेताहरूको भनाइ छ।

कार्यकर्ता भेलामै देखियो मतभेद

राष्ट्रिय कार्यकर्ता भेलाको व्यवस्थापन र सञ्चालनमा समेत अध्यक्ष ओलीले महासचिव पोखरेललाई भन्दा सचिव भानुभक्त ढकाललाई जिम्मेवारी दिएका थिए। भेलाको तयारीदेखि कार्यसूची निर्धारणसम्म ओली आफैँ सक्रिय देखिएका थिए।

महासचिव पोखरेलले भने भेलामा आफ्नो मन्तव्यका क्रममा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनका निष्कर्ष प्रस्तुत गरेका थिए। उनले दुई कार्यकालको सीमा र ७० वर्षे उमेर हदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने विषयसमेत उठाएका थिए।

यसप्रति ओलीले असहमति जनाउँदै विधानमा भएको व्यवस्था परिवर्तन गर्ने निर्णय महाधिवेशनबाट भइसकेकाले अर्को महाधिवेशनसम्म त्यसलाई स्वीकार गरेर जानुपर्ने बताएका थिए।

‘कार्यान्वयन गर्न उपयुक्त नदेखेर त संशोधन गर्‍यो होला नि त महाधिवेशनले,’ ओलीले भनेका थिए, ‘महाधिवेशनको निर्णय मानेर अर्को महाधिवेशनसम्म जानुपरेन ?’

पोखरेलले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको अधिकार सम्बन्धित स्थानीय कमिटीलाई दिनुपर्ने प्रस्ताव राखेपछि पनि ओलीले त्यसको प्रतिवाद गरेका थिए।

पोखरेलले कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र जिताउने जिम्मेवारी लिनुपर्ने धारणा राखेका थिए। तर ओलीले तल्ला कमिटीबाट आउने सबै सुझाव सही नहुन सक्ने भन्दै उम्मेदवार छनोटमा केन्द्रकै भूमिका आवश्यक रहेको बताएका थिए।

यसको उदाहरण दिँदै उनले मोहम्मद इस्तियाक राईलाई तल्लो तहबाट सिफारिस नगरिए पनि टिकट दिँदा मधेसमा पार्टीले एक सिट जित्न सकेको तर्क गरेका थिए।

पार्टीभित्रको आलोचना र आन्तरिक लोकतन्त्रमा पनि विवाद

महासचिव पोखरेलले पार्टीभित्र खुला छलफल, आलोचना र आत्मालोचनाको संस्कृति कमजोर हुँदै गएको विषय पनि उठाएका थिए। सुझाव तथा आलोचनालाई व्यक्तिगत आक्षेपका रूपमा लिने प्रवृत्तिले कार्यकर्तालाई कमिटीमा आफ्ना कुरा राख्न असहज बनाएको उनको भनाइ थियो।

उनले पार्टीभित्र व्यक्त गर्न नसकिएका असन्तुष्टि सामाजिक सञ्जाल र अनौपचारिक माध्यमबाट बाहिर आउने गरेको बताएका थिए।

तर ओलीले पार्टीका कमिटीमा कसैलाई बोल्न नदिइएको भन्ने गुनासो गलत भएको दाबी गरेका थिए। पार्टीभित्र छलफल नगरी सामाजिक सञ्जालमार्फत विरोधीलाई मौका दिने काम नगर्न उनले कार्यकर्तालाई सचेत गराएका थिए।

ओलीले गत असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकलाई अनुशासनका विषयमा नयाँ सुरुवातका रूपमा व्याख्या गर्दै त्यसअघि भएका अनुशासन उल्लंघनका घटनालाई क्षमा गरिएको पनि बताएका थिए।

च्यासलमा ओलीको सक्रियता बढ्यो

महासचिव पोखरेलसँगको सम्बन्धमा आएको परिवर्तन पार्टी केन्द्रीय कार्यालय च्यासलका गतिविधिमा समेत देखिएको नेताहरूको भनाइ छ।

यसअघि पार्टीका बैठक वा औपचारिक कार्यक्रमबाहेक च्यासल कम आउने ओली पछिल्लो समय कार्यकर्ता भेटघाटका लागि पनि नियमित पुग्न थालेका छन्। गत असोजमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकयता उनको कार्यालयमा उपस्थिति बढेको पार्टी स्रोतको दाबी छ।

एमालेको बहुपदीय संरचनाअनुसार केन्द्रीय कार्यालयको नेतृत्व महासचिवले गर्ने अभ्यास रहँदै आएको थियो। अध्यक्षसँगको समन्वयमा महासचिवले पार्टीका दैनिक गतिविधि र कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

तर पछिल्लो समय ओली आफैँले बैठक र भेटघाट सञ्चालन गर्न थालेपछि पार्टीभित्र जिम्मेवारी बाँडफाँट र नेतृत्वको भूमिकालाई लिएर प्रश्न उठ्न थालेको नेताहरू बताउँछन्।

राष्ट्रिय कार्यकर्ता भेलामा देखिएको मतभेदले एमालेभित्र नेतृत्व हस्तान्तरण, उमेर हद, कार्यकाल सीमा, आन्तरिक लोकतन्त्र र संगठन पुनर्गठनको बहसलाई थप सतहमा ल्याएको छ। ओली र पोखरेलबीचको असमझदारी अब पार्टीका आगामी निर्णय र सांगठनिक गतिविधिमा कसरी प्रतिबिम्बित हुन्छ भन्ने चासो एमालेभित्र बढेको छ।