
काठमाडौं।नेपाल र भारतबीच लामो समयदेखि चर्चामा रहेको रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ। प्रस्तावित रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण (एफएलएस) सम्पन्न भएको दुवै देशका प्रधानमन्त्रीले संयुक्त वक्तव्यमार्फत घोषणा गरेका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट जारी संयुक्त वक्तव्यमा एफएलएस सम्पन्न भएको विषयलाई स्वागत गरेका हुन्।
कोंकण रेलवे कर्पोरेसनले तयार पारेको अध्ययनअनुसार १३६ किलोमिटर लामो प्रस्तावित रेलमार्ग निर्माण गर्न करिब साढे ४ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ। परियोजनामा ४२ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ भने १२४ वटा ठूला पुलसमेत बनाउनुपर्ने अध्ययनले देखाएको छ।
रेल विभागका पूर्वमहानिर्देशक रोहित विसुरालका अनुसार अन्तिम स्थलगत सर्वेक्षण करिब तीन वर्षअघि नै सम्पन्न भएको थियो। तर, त्यसपछि प्रक्रिया अघि बढ्न नसकी रोकिएको उक्त सर्वेक्षणलाई अहिले दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमार्फत औपचारिक रूपमा उल्लेख गरिएको हो।
प्रस्तावित रेलमार्ग भारतको रक्सौलबाट सुरु भएर जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी र साठीखेल हुँदै काठमाडौंको चोभारसम्म पुग्नेछ। ब्रोडगेज प्रणालीमा निर्माण गर्ने प्रस्ताव गरिएको रेलमार्गमा प्रतिघण्टा अधिकतम १२० किलोमिटरको गतिमा रेल सञ्चालन गर्न सकिने अध्ययनमा उल्लेख छ।
यस परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै तयार भइसकेको छ। भारतीय रेल मन्त्रालयले २०८२ चैतमा १३६ किलोमिटर लामो रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण पूरा गरी डीपीआर तयार गरेको जनाएको थियो। अब निर्माण अघि बढाउन सम्बन्धित निकायबाट आवश्यक परामर्श, मूल्यांकन र स्वीकृति लिनुपर्नेछ। यसका लागि नीति आयोग र अर्थ मन्त्रालयको स्वीकृतिसमेत आवश्यक पर्नेछ।
यसैबीच नेपाल र भारतले अन्तरदेशीय रेल सञ्जाल विस्तारसँगै नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि सहकार्य गर्ने सहमति गरेका छन्। संयुक्त वक्तव्यमा बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढ खण्डलाई प्राथमिकतामा राखेर काम अघि बढाउने उल्लेख छ।
नेपाल र भारतबीच सन् २०१८ अप्रिल ७ मा रेल सम्पर्क विस्तार गर्ने संयुक्त घोषणा भएपछि रक्सौल–काठमाडौं रेलमार्गको अवधारणा अघि बढेको थियो। भारतको सहयोग तथा लगानीमा विद्युतीय रेलमार्ग निर्माण गर्ने योजनाअनुसार अध्ययन प्रक्रिया सुरु गरिएको हो।
यद्यपि, परियोजनाको ठूलो लागत र वित्तीय प्रतिफलका कारण यसको आर्थिक सम्भाव्यतामाथि प्रश्नसमेत उठेको छ। अध्ययनअनुसार परियोजनाको वित्तीय प्रतिफल दर ४.८१ प्रतिशत मात्रै छ। यो दर बैंकको ब्याजदरभन्दा कम देखिएकाले लगानीको प्रतिफलका दृष्टिले चुनौतीपूर्ण हुन सक्ने विश्लेषण गरिएको छ। परियोजनाको लागत उठाउन करिब २५ वर्ष लाग्ने अनुमान छ।
तर आर्थिक प्रतिफल दर भने १४.३ प्रतिशत रहेको अध्ययनले देखाएको छ। यसले प्रत्यक्ष वित्तीय आम्दानीभन्दा पनि व्यापार, यातायात, पर्यटन, रोजगारी र समग्र आर्थिक गतिविधिमा दीर्घकालीन योगदान पुग्न सक्ने संकेत गर्छ।
यसअघि नेपाल र भारतबीच ट्रान्जिट सन्धि संशोधनका लागि ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान भइसकेको छ। यसबाट जोगबनी–विराटनगर रेल खण्डमार्फत मालसामान ढुवानी थप सहज हुने अपेक्षा गरिएको छ।
रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भएमा नेपालले भारतीय रेल सञ्जालसँग थप प्रत्यक्ष सम्पर्क स्थापित गर्नेछ। यसले यात्रु आवागमन र मालसामान ढुवानीमा नयाँ विकल्प थप्नुका साथै दुई देशबीचको व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।









Facebook Comments