
काठमाडौं।भारतले नेपाललाई कुल २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय सहमतिअनुसार भारतले ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको हो।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको आर्थिक सहायता प्याकेजअन्तर्गत उक्त सहयोग उपलब्ध गराउने उल्लेख छ।
वक्तव्यअनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माणका लागि भारतले ३५ अर्ब भारतीय रुपैयाँ उपलब्ध गराउनेछ। नेपाली मुद्रामा यसको मूल्य करिब ५६ अर्ब रुपैयाँ हुन्छ। उक्त रकम अनुदानका रूपमा प्रदान गरिनेछ।
त्यस्तै, थप १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् नेपाली १ खर्ब ८४ अर्ब रुपैयाँ लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) मार्फत उपलब्ध गराउने सहमति भएको छ।
यसअघि नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग उपलब्ध गराउन आग्रह गरेको थियो। त्यसैअनुरूप भएको छलफलपछि भारतले आर्थिक सहायता प्याकेज घोषणा गरेको हो।
भारतबाट प्राप्त हुने अनुदानले बाढीपछिको पुनर्निर्माणमा सहयोग पुग्नेछ भने सहुलियतपूर्ण ऋण विकास निर्माण तथा पूर्वाधार आयोजनामा उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।
दुई देशबीचको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा आर्थिक सहयोगसम्बन्धी प्रतिबद्धता समेटिएको हो।









Facebook Comments