
लमजुङ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता र समावेशी व्यवस्था सुदृढ गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।
सोमबार लमजुङको दुधपोखरीमा आयोजित स्वर्गीय पूर्णबहादुर गुरुङ (डाँफे) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
उनले मुलुकको वर्तमान राजनीतिक परिस्थिति सहज नरहेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनलाई संघीयता, समावेशिता र गणतन्त्रको पक्षमा शक्ति निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
‘अहिले देशको परिस्थिति सहज छैन। छिट्टै स्थानीय तहको निर्वाचन आउँदैछ। हामीले त्यो निर्वाचनमार्फत फेरि संघीयता, समावेशिता र गणतन्त्रलाई सुदृढ गर्ने ताकत पैदा गर्नुपर्छ,’ उनले भने।
प्रचण्डले शान्ति सम्झौताका हस्ताक्षरकर्ता तथा संविधानसभामा सहभागी राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याएर अघि बढ्ने प्रयास भइरहेको पनि बताए। प्रतिगमनतर्फ फर्काउने प्रयासलाई निर्वाचनमार्फत रोक्नुपर्ने उनको भनाइ थियो।
स्थानीय तहको निर्वाचनमा साझा रणनीति बनाएर अघि बढ्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमालेसहित विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको उनले जानकारी दिए।
श्रद्धाञ्जली सभामा नेपाली कम्युनिष्ट पार्टीका सचिवालय सदस्य देवप्रसाद गुरुङ, अमिक शेरचन, देवेन्द्र पौडेल र हितराज पाण्डेलगायत नेताहरूको उपस्थिति थियो।









Facebook Comments