काठमाडौं।सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन छुट्टै आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको छ।

यसका लागि मन्त्रिपरिषद्ले आयोग गठनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। अध्यादेशमार्फत आन्दोलनका क्रममा भएका घटनाको थप अनुसन्धान गर्ने र पीडित व्यक्ति तथा परिवारलाई न्याय दिलाउने कानुनी व्यवस्था गर्न खोजिएको हो।

ad

सरकारका एक मन्त्रीका अनुसार आन्दोलनका क्रममा पीडित बनेका व्यक्ति तथा परिवारलाई न्याय, क्षतिपूर्ति र उचित परिपूरण उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

प्रस्तावित व्यवस्थाअनुसार आन्दोलनसँग सम्बन्धित मुद्दाहरूको थप छानबिन गरिनेछ। साथै पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण निर्माण गर्ने तथा क्षति बेहोरेकालाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइनेछ।

अध्यादेशले गम्भीर अपराधबाहेक आन्दोलनसँग सम्बन्धित अन्य मुद्दालाई छिटो र व्यवस्थित ढंगले टुंग्याउने कानुनी आधारसमेत तयार गर्ने बताइएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा कतिपय व्यक्ति मुद्दा खेप्न बाध्य भएको भन्दै उनीहरूको रिहाइको माग गर्दै आएका थिए।

सरकारको पछिल्लो निर्णयले आन्दोलनसँग सम्बन्धित मुद्दाको निरुपण, पीडितको न्यायिक उपचार र क्षतिपूर्तिको विषयलाई कानुनी प्रक्रियामार्फत अघि बढाउने बाटो खोल्ने अपेक्षा गरिएको छ।