
काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहले चुनाव जितेको जिल्ला झापामा भारतको सहयोगमा करिब १२ अर्ब रुपैयाँ लागतको पेट्रोलियम पाइपलाइन तथा अत्याधुनिक भण्डारण टर्मिनल निर्माण हुने भएको छ। नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रूपमा रहेको सिलिगुढी–झापा परियोजनाको सोमबार शिलान्यास गरिएको छ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यममार्फत परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।
नेपाल र भारत सरकारबीचको सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत निर्माण हुने आयोजनामा भारत सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउनेछ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले प्राविधिक सहयोग गर्नेछ।
परियोजनाका लागि करिब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। निर्माण सुरु भएको मितिले ५४ महिनाभित्र अर्थात् साढे चार वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना प्रमुख सुरेन्द्र महतोले जानकारी दिएका छन्।
कुल ४९.६ किलोमिटर लामो पाइपलाइनमध्ये भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४.६ किलोमिटर रहनेछ। भारतको सिलिगुढीस्थित आईओसी टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुल हुँदै नेपाल प्रवेश गरी मेचीनगरका विभिन्न क्षेत्र पार गरेर चारआलीस्थित प्रस्तावित टर्मिनलमा पुग्नेछ।
चारआलीमा निर्माण हुने ग्रिनफिल्ड टर्मिनलको भण्डारण क्षमता ३२ हजार ८०० किलोलिटर रहने परियोजनाको विवरणमा उल्लेख छ। यसमा डिजेल र पेट्रोल भण्डारणका लागि छुट्टाछुट्टै ट्यांकी निर्माण गरिनेछ। टर्मिनलमा एकैपटक आठवटा ट्यांकरमा इन्धन भर्न मिल्ने सुविधा र अत्याधुनिक अग्नि नियन्त्रण प्रणालीसमेत जडान गरिनेछ।
पाइपलाइन निर्माणमा आठ इन्च व्यासका कार्बन स्टिल पाइप प्रयोग गरिनेछ। सुरक्षा र चुहावट नियन्त्रणका लागि स्काडा प्रणाली तथा फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गर्ने योजना छ। नदी पार गर्ने स्थानमा वातावरणीय असर कम गर्न एचडीडी प्रविधि अपनाइनेछ।
यसअघि नै नेपाल आयल निगमले चारआलीमा २३ बिघा ३ कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरिसकेको छ। परियोजनाको पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन र जग्गा व्यवस्थापनसम्बन्धी प्रारम्भिक कामसमेत पूरा भइसकेको छ।
सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सहमति २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको थियो। त्यसपछि २०८१ असोजमा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच निर्माणसम्बन्धी औपचारिक सम्झौता भएको थियो।
आयोजना सञ्चालनमा आएपछि भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्न सहज हुने अपेक्षा गरिएको छ। ट्यांकरबाट हुने ढुवानीमा निर्भरता घट्नुका साथै इन्धन आपूर्ति थप व्यवस्थित र सुरक्षित हुने विश्वास गरिएको छ।
प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रसँग जोडिएको झापामा निर्माण हुन लागेको यो परियोजना पूर्वी नेपालको पेट्रोलियम आपूर्ति व्यवस्थापनका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।









Facebook Comments