
काठमाडौं।नेपालका बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र स्थानीय अर्थतन्त्रलाई पुनः चलायमान बनाउन नेपाल र भारतका निजी क्षेत्रले संयुक्त रूपमा काम गर्ने भएका छन्।
यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। आइतबार भारतको नयाँ दिल्लीमा भएको समझदारीमा सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनी र महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार बाढी प्रभावित समुदायलाई तत्काल स्वास्थ्य तथा सरसफाइ सेवा उपलब्ध गराउनुका साथै प्रभावित परिवारको जीविकोपार्जन र स्थानीय व्यवसाय पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य उपचार र राहत वितरणलाई प्राथमिकता दिइएको छ। यसअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने र दुईवटा अस्पताललाई एम्बुलेन्स प्रदान गर्ने योजना छ।
स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै मातृ तथा बाल स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। बाढीपछि फैलिन सक्ने पानीजन्य तथा अन्य सङ्क्रामक रोगको पहिचान र उपचारमा समेत सहयोग गरिने समझदारीमा उल्लेख छ।
त्यसैगरी प्रभावित परिवारलाई सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ र रोग संक्रमणबाट बच्न आवश्यक सामग्री वितरण गरिनेछ। पहिलो चरणको कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। त्यसअघि प्रभावित क्षेत्रको आवश्यकता मूल्यांकन, लाभग्राही छनोट, कार्यक्रमस्थल निर्धारण र सरकारी स्वीकृतिको प्रक्रिया पूरा गरिनेछ।
समझदारीको दोस्रो चरणमा प्रभावित परिवारको आयआर्जन र आर्थिक गतिविधि पुनःस्थापनामा ध्यान दिइनेछ। कृषि, पशुपालन, साना व्यवसाय तथा स्थानीय सेवामूलक उद्यम सञ्चालन गर्न आवश्यक उपकरण, औजार र सीपमूलक तालिम उपलब्ध गराउने योजना बनाइएको छ।
बाढीका कारण प्रभावित सूक्ष्म, लघु तथा साना उद्यमको पुनरुत्थानका लागि प्राविधिक सहयोग, वित्तीय पहुँच, बजार विस्तार र नेपाली तथा भारतीय व्यवसायीबीच व्यावसायिक साझेदारी विकासमा समेत सहकार्य गरिनेछ। प्रभावित जिल्लाको स्थानीय आर्थिक पुनरुत्थान तथा विकास योजना तयार गर्न पनि दुवै संस्थाले सहयोग गर्नेछन्।
कार्यक्रम कार्यान्वयनमा भारतीय उद्योग परिसंघले भारत सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी स्रोत व्यवस्थापन र कार्यान्वयन साझेदार पहिचान गर्नेछ। नेपाल उद्योग वाणिज्य महासंघले भने नेपाल सरकार, स्थानीय तह तथा स्थानीय उद्योगी व्यवसायीसँग समन्वय गरी कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने जिम्मेवारी पाउनेछ।
कार्यक्रमको प्रारम्भिक प्राथमिकतामा बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङ जिल्ला रहेका छन्। आवश्यकता र सम्भाव्यताका आधारमा गोरखा र बागलुङका साथै पछिल्लो बाढीबाट प्रभावित मुस्ताङ तथा मनाङ जिल्लामा समेत कार्यक्रम विस्तार गर्न सकिने समझदारीपत्रमा उल्लेख छ।
दुई देशका निजी क्षेत्रबीच भएको यो सहकार्यले बाढी प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा स्थानीय उद्यम, रोजगारी र आर्थिक गतिविधि पुनःस्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









Facebook Comments