
न संकीर्णताभित्र अटाउनु छ
न निकृष्ट कुराकानीमा रमाउनु छ
बगेर जाने स्वभाव जहाँ खुसी मिल्छ
त्यहीँ मात्र रम्ने जहाँ खुला आकाश हुन्छ
जिन्दगी यस्तैयस्तै नै छ
जे छ तर त्यो सुन्दर छ ।
अस्ताउँदो घामको कुन रापताप हुन्छ र ?
पेटबाट घस्रिँदो नदीको कुन आवाज हुन्छ र ?
हराएको प्रवाहले फैलिएर अस्तित्व खोज्दा
जंगलले ढाक्दै जाँदा अब के रहेको हुन्छ र ?
जिन्दगी यस्तैयस्तै नै छ
जे छ तर त्यो सुन्दर छ ।
विश्रामको यात्रामा हिँडिरहेको मान्छेले
खोजिरहने खुसी सिवाय अरू के हुन्छ र ?
जिन्दगी यस्तैयस्तै नै छ
जे छ तर त्यो सुन्दर छ ।
मलाई दुख्दा उसलाई कतै छुँदैन भने
त्यस्तो आफन्त–सम्बन्ध किन चाहियो र ?
प्रदूषण थुप्रिएर भुत्ते भइसकेको मनमा
कुन संवेदनशीलता बाँचेको हुन्छ र ?
कर्मकाण्डमा अल्मलिने समय अब कहाँ बचेको छ र ?
जिन्दगी यस्तैयस्तै नै छ
जे छ तर त्यो सुन्दर छ ।
त्यो मित्रता के मित्रता ?
जहाँ बराबरीको मन छैन
जहाँ संवेदनाहरू ओहोरदोहोर गर्न सक्दैनन्
बार्दली नै नभएको घरमा बसेको भए पनि
भोगेको अभावको अप्रत्यक्ष आक्रामक–प्रतिशोध–भाव
पुरानो बार्दली मनबाट चोकमा संवाद गरेर तुष्टि लिन खोज्दा
मित्रता त्यहाँ कहाँ अटाउन सक्छ र ?
जिन्दगी यस्तैयस्तै नै छ
जे छ तर त्यो सुन्दर छ
पारितोषिक थाप्न शक्तिशालीलाई आराध्यदेव मान्ने
चौरमा उभिएर सूर्यदर्शनसरह बुर्जामा हेरिरहने
देखिनेबित्तिकै कमेडी देखाएर उसलाई हँसाउन सकेमा
त्यो पूरै दिनको जागिर पाक्ने
यसरी दुई सेतो पैसा देखेकाले
अनि ठालु भएर फाँटका फाँट खाएकाले
‘चाँदीको चम्चा मुखमा लिएर जन्मेको’जस्तो गफ
आत्मसम्मानको सगरमाथा बनेको झन् महागफ छाँटेर
स्वाभिमानीलाई हेप्ने प्रयास गरेको देख्दा
म त झन् अति साधारण मान्छे भएको छु
जिन्दगी यस्तैयस्तै नै छ
जे छ तर त्यो सुन्दर छ
आकांक्षारहित जिन्दगीमा
लोभनिःसृत गगनचुम्बनको कुरै छोडौँ
मोक्षको पनि आकांक्षा नलिएर बाँच्नेले
जिन्दगीमा सधैँ एक्लै नै हिँड्नुपर्छ
जिन्दगी यस्तैयस्तै नै छ
जे छ तर त्यो सुन्दर छ ।









Facebook Comments