महाभारत युद्धमा जित्न श्रीकृष्णले गरेको रणनीतिक छल

जित-हारभन्दा धेरै पर पुगिसकेको मान्छेलाई

ad

के जित्नु छ र ?

पापयुद्ध मात्र भइरहेको ठाउँमा धर्मयुद्ध कहाँबाट हुने ?

त्यतिबेला-

कहिल्यै मृत्यु नहुने आफ्नो पुत्र अश्वत्थामा

त्यो कुरा जानेका द्रोणाचार्यले किन हतियार बिसाए ?

के मौका कुरेर बसेका धृष्टद्युम्नबाट मारिन ?

 

द्रोणाचार्यको मृत्यु-शोक नै भ्रम थियो या नाटक ?

कहिल्यै झुटो नबोल्ने धर्मराज युधिष्ठिरले भनेजस्तोः

‘अश्वत्थामा मर्‍यो, तर मान्छे कि हात्ती हो, मलाई थाहा छैन’

यो भनिरहँदाको पछिल्लो भाग-

कृष्णले शंख बजाएर नसुनिने गराए ।

 

न म धर्मराज, न कृष्ण

केवल बबुरो नागरिक यस देशको

तर निर्धक्क भएर भन्छु ः

रोनाल्डो हात्तीचाहिँ मरेकै हो

छलबाट होइन

सरकारको लापरबाहीबाट

बिजुलीको करेन्ट लागेर ।

 

मान्छे मारेर उसको नाम लिएको थिएन रोनाल्डोले

न सिधासाधा मान्छे गोविन्दलाई मारेर गोविन्दे बनेको

न सैनिक ध्रुवलाई मारेर ध्रुबे बनेको

गोविन्देले निहुँ खोज्दा दारा नै भाँचिदिएको

५० गोली खाएको ध्रुबे त उसको अगाडि पर्नै नसक्ने

रोनाल्डो यसरी बनेको थियो चितवन निकुञ्जको बादशाह

मान्छेको आयुको हिसाबमा ९० वर्ष काट्दा पनि

अझै यौवन साँचेर जंगलमा हत्तिनी खोजिहिँड्ने

बुढो भएको रोनाल्डो गत हप्ता मरेकै हो ।

 

नेपाली हात्तीको नाम रोनाल्डो कसरी ?

पोर्चुगलका रोनाल्डो त विश्वका महान् फुटबल खेलाडी

उनी त अझै फुटबल खेलिरहेका छन्

विश्वमा सबैभन्दा धेरै गोल हानेका खेलाडी भएर

उनको अनुपम खेल्ने तरिका

अनि सर्वाधिक गोल हान्न सकेको तागतबाट

अभिप्रेरित नेपाली जनजिब्रोले

हत्तिनी-गोल धेरै हान्न सकेको त्यो हात्तीलाई

दृष्टान्त-उपाधि दियो रोनाल्डो भनेर ।

 

बुढो हुँदै गएपछि एकथरी भन्छन् ः

‘उमेर एउटा संख्या मात्र हो’

त्यस्तै अर्कोथरी भन्छन् ः

होइन, ‘वृद्धावस्था आफैँमा एउटा रोग हो’

मान्छे मात्र होइन कुनै पनि जीवको

सुरुवातसँगै अन्त्य पनि गाँसिएको

एउटा समयको अन्तरालपछि

जे आउँछ त्यो बुढेसकाल हो अन्त्यको लागि

अँध्यारो हुनको लागि आउने सायंकालजस्तो

 

रम्न सके अति सुन्दर छ सायंकाल

परिवर्तनको लागि मन र प्रकृति संयोजित अपूर्व सुन्दरता

राप्ती र नारायणीको संगमस्थल गोलाघाट

त्यहाँ उभिएर हेरेको सूर्यास्तजस्तो

गोही अझै घाम तापिरहेका

चराचुरुंगी आफ्नो घर फर्किरहेका

अँध्यारो हुँदै गएको यामको दोभानमा

थाकेको सूर्यको टल्किएको पूर्णरूप

बुढेसकाल भनेको यस्तै स्वर्णमयी काल

यो दृश्यमा बुढो रोनाल्डो पनि यौवनको लावण्य बोकेर हिँडिरहेझैँ

आउने बिहानीलाई स्वागत गरेर ।

 

बुढेसकालका दिनलाई ‘संख्या’ मानौँ या ‘आफैँमा रोग’

मनको बेग-आवेग जसरी निर्माण गर्न खोजे पनि

अन्त्य विनिर्माण हुँदैन

हो, रहन्छ ऊर्जा, जुन न कहिल्यै ध्वस्त हुन्छ

न कहिल्यै मर्छ

त्यसैले जंगल थर्काएर कराएको उसको आवाज

अन्तरिक्षमा रहेको होला

उसको आत्मा पनि घुमिरहेको होला

तर रोनाल्डोको भौतिक अस्तित्व समाप्त भएको छ ।

 

दुई वर्षअगाडि हत्तिनी खोज्दै आएको थियो

लहरै थिए हत्तिनीहरू त्यो प्रजनन केन्द्रमा

रोनाल्डो त्यहाँ आउन थालेपछि

सरकारी हात्तीले सुइँकुच्चा ठोकिसकेका

प्रजनन गराउने जिम्मा रोनाल्डोले आफैँ लिएको

जम्काभेटमा करिब आधा घण्टा म हेरिरहेको थिएँ

साथमा एउटा ठूलो जनसमूहसँगै

त्यो पुच्छर नभएको रोनाल्डोले देखाएको संयमता

त्यसबाट त्यतिबेला फुरेको कविता

दुई वर्षअगाडि छापिएको त्यसको अन्त्य ः

‘शक्तिले मदमत्त छ रोनाल्डो

तर झन् बढी अनुशासित

त्यो देखेपछि मलाई सोध्न मन लाग्यो-

शासक र जनावरमा को अनुशासित ?

को समझदार ?’

 

यतिखेर वैदिक वाङ्मयको दिव्य हात्तीलाई सम्झेँ

समुद्र मन्थनबाट निस्केको ऐरावत

आखिर वाहन नै हो त्यो, चाहे इन्द्रकै किन नहोस्

हाम्रो रोनाल्डो कुनै पनि शासकको वाहन कहिले बनेन

उन्मुक्त भएर बुढो हुन्जेल बाँच्यो

जतिसुकै लखेटिनुपरेको उसले सहरियाबाट किन नहोस्

मर्‍यो सरकारकै लापरबाहीका कारणले

अमर भएर नेपालको हात्ती संरक्षणको इतिहासमा ।