
मालिक रिझाएर गरेको जोहोमा
खल्ती के बज्न थालेको थियो
उसको त प्वाँख पो पलायो
धर्ती छोडेर उड्न थाल्यो
पैसाको मातमा उड्ने मान्छे !
माथि हेर्छन् धर्ती देख्दैनन् !
आफ्नै धरातल भुल्दै हिँड्छन् !
पैसाको मातमा उड्ने मान्छे !
एक दिन त तलै खस्छन् !
पैसाको मातमा उड्ने मान्छे !
दास बनेर अरूको आसमा सास फेर्ने मान्छे
जब उड्न थाल्छ, उसले धर्ती देख्दैन
आकाश मात्र देख्छ
बादलपारिको देश खोज्न थाल्छ
पैसाको मातमा उड्ने मान्छे !
पीडितले मौका पाए झन् बढी पीडा दिन्छ
शोषितले शोषण गर्न पाए झन् ठूलो शोषक बन्छ
जति अरूलाई होच्याउन सक्यो,
त्यति आफू अग्लो ठान्ने
खल्ती बजेको धुनको आरोहण मात्र खोज्ने
पैसाको मातमा उड्ने मान्छे !
उडान पोखिँदा पो देखियो सर्वत्र फोहोर
सुकिलामुकिला त कति घिनलाग्दा ?
सुकिलाबाट बनेको गजुरमा त
झन् महाफोहर !
फोहोर खेलको भेलमा नौकाबिहार गर्ने
पैसाको मातमा उड्ने मान्छे !
चंगा उडाउने, लडाउने र काटिने,
फेरि नयाँ चंगामा अनुकूल ढाँचाको कका हालिने
अर्काको लट्टाइमा उडेका चंगा
कति उडे, कति काटिए, कति पुनः उडिरहेका
क–कसले उडाएका हुन् कहाँ–कहाँबाट
कसलाई काट्न, कसलाई लुट्न
उडिरहेका, लडिरहेका, काटिइरहेका
पैसाको मातमा उड्ने मान्छे !
ड्रोनसरह उड्ने मान्छेहरूले ढाकिएको आकाशमा
दैनिक टक्कर र ठक्कर भइरहेको
को बच्ने, को चेट हुने
कसलाई थाहा छ र ?
दृश्य–अदृश्य ड्रोन चालकहरूको कलाबाजी हेर्दै
सुकिलाहरू बाजी मार्न दाउ खोजिरहेका
कुकुरहरूको लडाइँजस्तो
पैसाको मातमा उड्ने मान्छे !
साहुले दिएको ऋण, गरिबको घरखेत राखेर
त्यसैको घैया कुटेर लुटुलुटु खाएर
लागेको मात
न्याय–अन्यायको कुरा कहाँ आउँछ ?
पैसाको मातमा उड्ने मान्छे !
इनम–बक्सिसले टुटेको सिसामहलभित्र
सबै नांगा देखिएका
भागदौड छ कुना पस्न
अब त एकाघरका दाजुभाइ नै झगडा गर्न थाले
भित्रभित्रै मुर्मुरिएर, दाह्रा किटेर
तर बाहिर देखिँदा नासो लिएको हाँसोमा दाह्री हल्लाउँदै
नदेखिने प्रपञ्च र देखिने हाँसोको तालमेल नमिल्दा
एकातिर ढाक्न खोज्दा अर्कोतिर उदांग
पैसाको मातमा उड्ने मान्छे !
घरको चंगा अकासिँदा अर्को भित्रभित्रै जल्ने
त्यसलाई नथुति नहुने
एउटै छानाबाट अर्को चंगा उडाउन नमिल्ने
मौसम सफा छ
तत्काल एकराते आँधीबेहरी आउला भन्ने डर छैन
तर त्योभन्दा ठूलो डरले मन हुडलिइरहेको
आफूले उडाउनै नपाई कतै ठुस्सिएर जाने पो हो कि !
पैसाको मातमा उड्ने मान्छे!
यसरी धागो छोड्दै जाँदा कता पुग्ने हो कता–कता ?
डरको सीमा कहाँ हुन्छ र ?
त्यसैले बताससरह हतास बनेका
धागो छोड्न दिन होइन
लटाइमा धागो बेर्न लगाउन
अलकापुर पुग्न आतुर, झन् आतुर–
भयातुर, प्रतीक्षातुर, दबावातुर, तनावातुर
पैसाको मातमा उड्ने मान्छे !









Facebook Comments