
प्रजातन्त्र – जनताका लागि गरिने शासन
सबै शासन जनताकै लागि गरिने होइन र ?
रामराज्यदेखि भाँडराज्यसम्म
हो
तर यो भनेको जनताले मात्र गर्ने
केवल आफ्नै लागि मात्र
राजा, रजौटा, शक्तिकेन्द्र वा भूमिगतले गर्ने होइन
सार्वभौमसत्ता केवल जनताको मात्र
ठ्याक्क यस्तो शासन भएको छ र कतै ?
छैन।
त्यसैले होला म त देख्छु युद्ध लडिरहेका
क्षेप्यास्त्र हान्न सक्नेले हानिरहेका
राष्ट्रप्रमुखसम्म अपहरित भएका
कानुन पनि निर्धाका लागि बनेका
राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय
अनवरतको यो लिखितम् र बकितम्बीच
भोजभतेर चलिरहेको
विभिन्न नाममा आआफ्ना लागि नोट थुपारिरहेका
सबै जनताको नाउँमा जनताका लागि भन्छन्
अनि जताततै यत्रो होहल्ला के प्रजातन्त्र रटानका लागि ?
भन्छन् – प्रजातन्त्रको रक्षा र सुरक्षाका लागि
प्रजातन्त्र त पहिले आफैँले आत्मसात् गर्नुपर्ने होइन ?
हो।
फ्रान्सेली क्रान्ति – विश्वको पहिलो क्रान्ति
‘स्वतन्त्रता, समानता र बन्धुत्व’का लागि
तर के भयो ?
१३ वर्षको महागन्जागोल
त्यसपछि सामन्ती व्यवस्थाकै निरन्तरता
फगत हुकुम सम्राट् नेपोलियनको भयो
क्रान्तिले शान्ति होइन भ्रान्ति ल्याउन सक्दो रहेछ।
फ्रान्ससँग सीमा जोडिएको मुलुक जर्मनी
समयान्तरालमा
प्रथम विश्वयुद्धको गोलाबारुदको आगो निभे पनि
अपमानको आगो जर्मन मनमा दन्किरहेको
त्यसैबाट जन्मेको अकबरी सुनसरहको वाइमर संविधान
विश्वको सर्वोत्तम प्रजातान्त्रिक संविधान मानिएको
अपमानको आगोबाट सामूहिक अभिव्यक्ति लिएर
अग्निज्वालाबाट जन्मिएको
जलन्धरजस्तो
जनताका लागि शासन गर्ने त हिटलर पो भयो
बङ्कर-टनेलभित्र बसेर नै
जनताका लागि विश्व हल्लायो
तहसनहस नै पार्यो
सर्वोत्तम संविधान रामबाण समाधान नहुँदो रहेछ।
सम्राट्भन्दा साधारणबाट बनेका तानाशाह धेरै छन् विश्वमा
कारण : लोभ अनियन्त्रित भएर बढ्नाले
आदर्शहरू दुर्बल मात्र होइनन् दुर्लभ भए
त्यो ठाउँ भरियो झूट, फरेबी र बेइमानीको भाषणले
दिनप्रतिदिन जनआवेग रोमाञ्चित गर्न
भोटो देखाएकोजस्तो एउटा युटोपिया देखाएर
देखाउनेले आत्मसात् गर्ने त सपनामा पनि हुने भएन।
भनिन्छ, प्रजातन्त्र कुनै राम्रो शासनपद्धति होइन
तर यसको विकल्प नै के छ र ?
निर्विकल्प भएर नै सबैभन्दा उत्तम बनेको छ यो
उज्यालोभित्रको अँध्यारोबाट गरिने शासन
रूपान्तरण भयो बबुरो प्रजातन्त्र बनेर
हुकुम लिएर जन्मेकाभन्दा जनताको हुकुमत लिएकाहरू
झन् बढी हुकुमी भए
अब कतिञ्जेल मार्कोस, एस्ट्राडा र सुहार्तोलाई गाली गर्ने ?
या, हाम्रै देउवा, ओली र प्रचण्डलाई
जुँगा, दाह्री र सारीमा
जताततै रूपान्तरणका यस्तै स्वरूप
फरक-फरक दामका
फरक-फरक नामका।
विश्वास र अविश्वासको सङ्घारमा उभिएर
आफ्नै मुलुकको विगतदेखि वर्तमान हेर्छु
परिवर्तनका उतारचढाव देख्छु
कति प्राकृतिक, कति अप्राकृतिक ?
परिवर्तन प्राकृतिक प्रक्रियाबाट आउन नसक्ने
या, परिवर्तन प्राकृतिक प्रक्रियामा जानै नपाउने
यस्तै हो भने परिवर्तन कसरी थेग्रिने ?
आँखा टक्क अडिन्छ हिमपहिरोमा
कामेको धरामा
जम्मा भएको जलरासीमा
फुटेको तालमा
अनि आक्रोशित नदीको वितण्डामा
काल र अकालमा
आँखा अझै च्यातेर हेरिरहेको छु टनेलभित्र।









Facebook Comments