७५ जिल्ला हुँदा चितवनलाई ७६औँ जिल्ला भन्थे

राप्ती दुन योजनाले जंगल फाँडेर बनाएको पहिलो बस्ती

ad

बन्दीपुरबाट मात्र होइन

वरिपरिबाट मात्र पनि होइन, परपरबाट आएका मान्छेहरू

ती सबै मिलेर बनेको क्लस्टर ।

 

नेपाल–

पृथ्वीनारायण शाहले बनाएको १२ किल्ला

यसैबाट ३९, ३२, ७५ हुँदै ७७ जिल्लामा

अहिले समानुपातिक सांसदका लागि क्लस्टर बनेका ः

खस आर्य, आदिवासी जनजाति,

मधेसी, दलित, थारू र मुस्लिम

६ क्लस्टरबाट–

वेबस्टर विधिको गणितीय उत्पादन ४० प्रतिशत

तोकिनु नै थियो भने पनि यति धेरै किन तोकिदिएको ?

सायद बलियो किल्ला बन्ला भन्ने आशंका होला

सायद कमजोर पार्नको लागि नै होला

हेर्दा भेग नपाइने यो ‘गल्ली ढोका’ ।

 

परिणति–

अपवादबाहेक सधैँ नै शासकीय असन्तुलन

यसका लहरहरू सधैँ नै उठिरहने 

अनुकूलताका लागि उठाइरहन पाइने

ती लहरहरूसँग नै खेलेर बाहिरी शक्ति भित्र छिर्ने अदृश्य जुक्ति

नदेखिनेगरी धमिरोले जस्तो टनेल बनाएर

भित्री शक्तिलाई धमिरो बनाउन

ज्ञात–अज्ञात रूपमा यसरी धमिरो बन्दै गएका

कति जानेर, कति नजानेर

कति बाध्यताले, कति लोभले

समयको अन्तरालमा–

अन्ततः धमिरोमा नै मेटामोरफोसिस हुने

अर्थात्, रूपान्तरित या कायापलट हुने ।

 

यसरी रूपान्तरित हुँदै गएको शासकीय स्वरूप

त्यसलाई बचाउन घेरा हालेर बनेका तप्काहरू

ती झन् धमिराका पनि धमिराहरू हुन्

ती विभिन्न चरणका होलान्

पूर्ण र अपूर्ण प्रक्रियाका

तर यही नै हो अहिले बनेको नयाँ शक्तिशाली क्लस्टर

बदलिँदै गएको शासकीय स्वरूपको ।

 

काठमाडौं अहिलेका ७७ मध्येको एउटा जिल्ला

म भन्छु–

यो त क्लस्टर हो

के को क्लस्टर ?

७७ जिल्लाबाटै आएका धमिराहरूको

त्यसभित्र ‘रानी धमिरा’ धमिरा उत्पादनमा क्रियाशील

त्यसको बाहिर पूरा ‘बेल्टवे’

घेरा हालेर बसेका धमिराका पनि धमिराहरू

हाम्रो अस्मिताका खम्बाहरू धुजाधुजा पारिरहेका

जनजीविकाका दलिनहरू खाँदै गइरहेका

त्यसैले म निसासिन्छु त्यहाँ ।

 

जर्ज बर्नाड साले भनेजस्तो–

फोहोर र सफा पानी मिसाएर

पानी सफा हुँदैन

समस्या सुल्झिने साटो झन् बल्झिँदै मात्र जान सक्छ

मनभित्र सफा र दूषित विचारको ‘रिमिक्स’ धेरै भयो भने

पाखण्डले नै ककपिट समात्न सक्छ

गीत रिमिक्स गर्दा राम्रो पनि सुनिएला

तर शासन धेरै रिमिक्स गरेर हुँदैन

फगत ‘अति नरम राज्य’बाट ‘तरल राज्य’ बन्ने डर हुन्छ

चेतना भया !