
पूरै गणितीय हिसाबमा
नियमित लय र तालमा
तर मुटुको चाल जैविक सिर्जनाबाट
संगीतको ताल मान्छेको सिर्जनाबाट
जैविक सिर्जनाको पलपल जोडिएर बनेको जिन्दगी
त्यही पलपलको जोडबाट बनेको जिन्दगानीको धुन
छोटो वसन्तमा हाँसेर फुल्ने फूल हो जिन्दगी
लामो समय बाँच्न सक्ने मीठो धुन हो जिन्दगी ।
मुटु चलेको हुन्छ यान्त्रिक चालबाट
जीवन चलेको हुन्छ अनुभूति बोकेको संवेदनाबाट
के हो यन्त्र, के हो संवेदना, कसले कति बुझ्ने ?
असीम सृष्टिको अणुकण मान्छेले खै कति बुझ्ने ?
कृत्रिम बुद्धिको खेतीबाट खै कस्तो संवेदना बाँच्ने ?
मान्छे जोडिएको एउटै चोकमा त्यो संवेदनाले
धर्ती अझ बाँचेको छ, संवेदना पूरा मृत नभइसकेकोले
प्रत्येकसँग प्रत्येक जोडिएर बनेको यो संयुक्त समग्रतामा
लोभका लागि लाभको साज बजाउनेहरूको धुनमा बहेर
कसैले सुन छोडेर नुन बोक्छ भने
म के गर्न सक्छु र ?
आफ्नो संवेदना बचाउन म सधैँ लागिरहेको
तर बाँचेन भने म के गरूँ ?
केहीबेर धेरै नै दुःखी हुन सक्छु
दुई बुँदा आँसु चुहाउन सक्छु
तर त्यही पोखरीलाई परिक्रमा गरिरहन सक्दिनँ
धर्ती एउटै वृत्तमा घुमिरहन सक्छ
तर म सक्दिनँ
सिसिफसको चलायमान ढुंगे जहाँको त्यही रहन सक्छ
तर म सधैँ एउटै विन्दुमा रहन सक्दिनँ
मैले त हिँड्नुपर्छ, रोकिन सक्दिनँ
म अजेय शक्ति हुँ
तर जिउन सक्नु नै जिन्दगी मेरो
कसैको अधीनको मान्छे होइन
न कुनै आकांक्षा लिएर बाँचेको
लाभ–हानिको खेल खेल्नेहरूभन्दा धेरै परको
म जोडिने केवल संवेदनाबाट मात्र
थाकथलो रगत–पानीबाट होइन
यो सामान्य ठानेर हेलचेक्य्राइँ गर्ने कुरा नै होइन ।
मुटुको स्पन्दन जोगाएर बचाउने काम चिकित्सकको
संवेदना बचाउने केवल यसको हिफाजत गर्नेहरूको
स्पन्दित मुटुले जीवन लम्बिन सक्छ
तर स्पन्दित संवेदनाले मात्र मान्छे जोडइरहन सक्छ
यो कुनै सामान्य ठानेर हेलचेक्य्राइँ गर्ने कुरा होइन ।
मुटुको चाल ठीक रहुन्जेल रक्तसञ्चार हुन्छ
यही चाल बेचाल भए जीवन धर्मराउँछ
जब मान्छे वाचाल बन्छ, ऊ असंवेदनशील हुन्छ
कत्रो यत्न गरेर बनेको आफ्नो नैतिक मूल्यमान्यता
बिस्तारै आफैँले भत्काउँदै जान्छ
त्यतिबेला सम्बन्ध फगत खेल बन्छ
चाल खेलको हुन्छ, बेचाल पनि खेलको
यन्त्रवत् हाँस्छ, यन्त्रवत् बोल्छ
उद्देश्य एउटै मात्र वाचाल बनेको हृदयको
कसरी अधिकतम बनाउने ?
अब हिफाजत संवेदनाको होइन, लागत–लाभ विश्लेषणको हुन्छ
लोभप्रदत्त दूषित श्वास–प्रश्वासको
श्रवण प्रदूषणको
सानो घेराभित्र यसरी रुमल्लिँदा
न सूर्य उदाएको देख्छ
न अस्ताएको नै
विभ्रमित चित्त र कृत्रिम बुद्धिमा आश्रित
यसरी भित्री आत्मा दिनदिनै मर्दै गइरहेको
संवेदनशीलताले डाँडा काट्दै गएर ।









Facebook Comments