प्रत्येक वर्षको सोह्र दिन–
भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्मको
कहिलेकाहीँ सोह्र दिन नपुगेमा प्रतिपदा पनि जोडिने
यो १६ दिनभित्र तिथिअनुसार गरिने त्रैपुरुषीय पूजा
अर्थात् बुबा, बाजे र जिजुबाजेको
त्यस्तै आमापट्टिको पनि
सामूहिक पिण्डदान र तर्पण गर्ने दिन
अझ भनौँ तीन पुस्तालाई सामूहिक रूपमा सम्झिने दिन
त्यसैले यसको नाम पार्वण श्राद्ध पनि 
एकोद्दिष्टभन्दा फरक ।

जसै स्फूर्त अभिव्यक्ति यो क्षण पोखिरहेछु
आजै सकेको हुँ यो श्राद्ध आफ्नो रैनबसेरामा
लगातार २३ वर्षअगाडि पूज्य पिताको स्वर्गारोहणपछि
सप्तमी बनेको मेरो सामूहिक पितृ सम्झने दिन
भाइ वीरभद्रले बेलुकी बताए कुराकानीमा :
जिउँदो सहिद टंकप्रसाद आचार्यको पनि यही पुण्यतिथि ।

ad

अदृश्य भएका दृश्य जिउँदो भएर झ्याम्म अगाडि आइरहेका
एकपछि अर्को शृंखलाबद्ध भएर
जसै म पितृस्मरण कर्ममा लयबद्ध छु
मान्य पण्डित पुरोहित बाजेको वचन उच्चारणअनुसार
विगतका समय–बहावमा लयबद्ध भएका दृश्यहरू
चलचित्रको दृश्यक्रमझैँ कहिल्यै नटुंगिने गरी आइरहेका
म त्यसैमा रमाएर परसम्म जान्छु
खुसियालीको उज्यालोमा हराउँदै ।

सूक्ष्म संवेदनाहरूमा आफ्नो सूक्ष्मता देख्छु
आहा, कति सुन्दर त्यो !
मन्त्रोच्चारणको ध्वनिसँग ताल मिलाइरहेको
तर वर्तमानभन्दा कहाँ हो कहाँ परको 
वर्तमानको गुरुत्वाकर्षणले मलाई रोक्न सक्दैन
म त पलभरमा पुगेको विगतको दृश्यमा समाहित हुन ।

यो कस्तो मीठो मिलन विगत र वर्तमानको !
मलाई होस हुँदैन
अझ यो क्षणको
आफू उभिएको धरातल नै बिर्सिएको
केवल देखिरहेको ती क्रमबद्ध भएका क्षणहरूलाई
एउटा मीठो उध्र्व–धक्काले मलाई उठाइरहेको छ
माथिमाथि, अझ माथि समयको त्यो क्षणको स्वर्णमयी आनन्दमा
जहाँ कति सुरक्षित थिएँ म
आमाको काखमा फरियाले ढाकिएको बेला
आमाको माया नै सुरक्षा अवस्था थियो मेरो
अहिलेसम्म ज्ञात भएको सृष्टिको अत्यन्त सुरक्षित ठाउँ
आमाको गर्भसिवाय अर्को छैन
त्यसैले हिटलरले आफ्नो सुरक्षाको लागि
त्यस्तै, इन्जिनियरिङमा आफ्नो लागि बस्ने ठाउँ बनायो ।

यो उडानमा मैले देखेँ आत्मा
पितृलोकमा 
तीन दिव्य देव–शक्तिको सूक्ष्म रूपमा ः
बुबा–आमा– बसु रूपमा, बाजे–बज्यै– रुद्र रूपमा
र, जिजुबाजे–जिजुबज्यै– आदित्य रूपमा
पूजाआजा, पिण्ड, तर्पण यिनैको गरेको ।

जसै पण्डितजीले मेरो बुवाको नाम उच्चारण गर्नुभयो
सानो छँदाको मैले देखेँ उहाँलाई कोठाभरि मान्छेहरूको बीच 
एकपछि अर्को स्केचिङ गरिरहेको
अनि दिइरहेको माधवजीलाई यसो भनेर–
‘ल, योबमोजिम डिजाइन गर्नुस्’
अनि अर्कोतिर फर्केर पाटनको कीर्तिराजलाई सोधिरहेको–
‘हिजो विभिन्न साइटमा के–के काम भयो ?’
अनि सम्झाइरहेको डन्डी बंग्याउने जितबहादुरलाई–
‘कहाँ–कहाँ कस्तो लोड पर्छ,
र तल–माथि कसरी हुन्डी गर्ने कुरालाई’
तल चोकभरि भेट्न आएका मानिसहरू पर्खिरहेका
भ्याइनभ्याइ गाँस टिपेर हतारो भटभटेमा मन्त्रालय पुग्न 
त्यतिबेला साह्रै नै व्यस्त मान्छे उहाँ 
एउटा अत्यन्त कर्मवीर मान्छे 
जसले म ठूलो भएपछि सधैं मलाई सम्झाएको ः 
‘बाबु, वर्क इज गड’ अर्थात् काम नै भगवान् हो ।

पण्डितजीबाट अर्को नाम उच्चारण–
‘शेषकुमारी देव्या बसुस्वरूपा’
मैले देखेँ मेरी आमा नाङ्लोमा चामल निफनिरहेकी,
उहाँको कपालभरि उडेका भुसहरू
अर्को पल देखेँ–
मेरो सानो हातमा दुख्ने गरी हिर्काएको
जब म एक चिप्लेकिरालाई लट्ठीले चलाइरहेको थिएँ
दुखेर मैले अइया भनेँ
त्यसपछि आमाको जवाफ–
तँलाई दुख्छ भने त्यसलाई दुख्दैन ?
त्यो पनि जीव हो सृष्टिको तँजस्तै
म त ट्वाँ परेर आमालाई हेरिरहेँ
हुरहुर्ती यसरी देखिरहँदा अर्को उच्चारण आइसकेको ।

यस्तै दृश्यहरू एकपछि अर्को
बाजेको नाम लिँदा म बनारस पुगेँ
उहाँ त्यहाँ १२ वर्ष काशीवास बस्दाको बेला
उहाँको हात समातेर बाटो हराउने गल्लीमा हिँडेको
बाबा विश्वनाथलगायत विभिन्न मन्दिरमा दर्शन गर्न गएको
र, देखेँ सेतो धोतीमा बूढो मान्छे ढुंग्रो फुकिरहेको
स्वयंपाकी उहाँ भात पकाइरहँदा आगो बाल्न ।

बज्यैको नाम लिँदा सम्झेँ बनारसमा उहाँले सँगै सुताएको
चञ्चल म कतै लड्ला भनेर सधैँ सजग
जो–जोको नाम पण्डितजीले लिँदै जानुभयो
ती–ती व्यक्तिहरूसँग आबद्ध मीठा पलहरू म देख्दै गएँ
तर जसलाई मैले कहिल्यै देखिनँ तिनको नाममा भावरहित भएँ
यसरी नै मैले मेरो कल्याण गर्नेहरूलाई सम्झेँ
अनि देवस्वरूप मानेर श्रद्धा अर्पण गर्दै गएँ
भनिन्छ– पितृऋण तिर्नुपर्छ
तर मसँग त के नै छ र ऋण तिर्नलाई ?
उनैको कृपा र आशीर्वादले बाँचेको छु ।