
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सी मंगलबार बस्ने भएको छ । असोजमा १५औं महाधिवेशन सम्पन्न भएपछि पदभार ग्रहण गरेकै दिन केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसपछिको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा डाकिएको छ । चैतमा स्थानीय तहको निर्वाचन गराउने सरकारको तयारी रहेकाले समसमायिक विषयका साथै निर्वाचन लक्षित कार्यक्रमका लागि कांग्रेसले बैठक आह्वान गरेको हो । मंगलबारको बैठकले महत्त्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ । १५औं महाधिवेशन भइसक्दा पनि शेरबहादुर देउवा– शशांक कोइराला पक्षले वर्तमान कार्यसमितिलाई स्वीकार गरेका छैनन् भने समानान्तर गतिविधि गर्दै आएका छन् । देउवा समूहले यही महिनाको २१ गतेदेखि १५औं महाधिवेशन गर्ने भन्दै तयारी तीव्र पारेका बेला संस्थापन पक्षको केन्द्रीय कार्यसमितिले बोल्ड निर्णय गर्ने एक पदाधिकारीले देशान्तरलाई जानकारी दिए ।
संघीय संसद्मा रहेका केही सांसदहरूले दलीय अनुशासनविपरीतका गतिविधि गरेकाले उनीहरूलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नबुझाए पदैबाट बर्खास्त गर्नेसम्मको तयारी कांग्रेसले गरेको छ । प्रतिनिधिसभाको चुनाव सभापति गगन थापाकै हस्ताक्षरित टिकटमा लडेकाले त्यसमा समस्या छैन । तर समानुपातिक सूची पहिला देउवाले बुझाए पनि निर्वाचित हुँदा उनैको कार्यसमितिको निर्णयबाट निर्वाचित भएकाहरू छन् । पहिलो चरणमा राष्ट्रिय सभामा आफूलाई देउवापक्षीय नेताको रूपमा प्रस्तुत गर्ने सांसदहरूलाई हटाउने तयारी कांग्रेसले गरेको विशेष स्रोतले देशान्तरलाई बताए ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालगायत आधा दर्जन सांसदलाई राष्ट्रिय सभाबाट बर्खास्त गर्ने तयारी गरिएको छ । राष्ट्रिय सभामा रहेकाहरूले पार्टी संस्थापनविरुद्ध गतिविधि गर्दै आएका छन् भने देउवा पक्षले गर्न लागेको भनिएको महाधिवेशनका पक्षमा खुलेरै लागेका छन् । यस्तै, देशका केही प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिलाई पनि कारबाहीको प्रक्रिया अघि बढाउने बुझिएको छ । यसैगरी देउवा पक्षले पार्टीको झन्डा र चुनावचिह्न दुरुपयोग गरेको विषयमा पनि संस्थापन पक्षले निर्णय लिने बताइएको छ ।
यसैगरी, मंसिर १ गतेदेखि सुरु भएको ‘हामी तयार छौँ’ अभियानका विषयमा पनि निर्णय गर्ने बताइएको छ । १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार अभियान सञ्चालन भएको अभियान मंसिर महिनाभर हुनेछ । अभियानअन्तर्गत सबै जिल्ला र सबै वडामा कार्यक्रम हुनेछन् । अभियानमा वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित तीन लाख नेता–कार्यकर्ता परिचालित गर्ने कांग्रेसको लक्ष्य छ ।
कांग्रेस महामन्त्री डा. डिला संग्रौलाका अनुसार ‘हामी तयार छौँ’ अभियान पार्टीका तल्लो तहका कार्यकर्ता, स्थानीय तह तथा आमजनतासम्म पुग्ने बृहत् अभियान हो । ‘हामीले १५औँ महाधिवेशनमा पारित गरेका नीतिहरू पार्टी कार्यकर्ता तथा आमजनतासम्म पु¥याउन बाँकी नै छ । त्यसका लागि आमजनता, स्थानीय तह तथा पार्टी कार्यकर्तासित जोडिन जरुरी छ । त्यसैले, हामीले महाधिवेशनबाट देश बनाउन तयार छौँ, समाज बदल्न तयार छौँ, देशमा विकास र समृद्धिको लहर ल्याउन तयार छौँ, देशलाई अभिभावकत्व दिन तयार छौँ भन्ने जुन नीति पारित गरेका छौँ, त्यसलाई तल्लो तहसम्म पु¥याएर पार्टीलाई जनतासित जोड्ने अभियान सुरु गर्न लागेका हौँ,’ उनले भनिन् ।









Facebook Comments