काठमाडौं । ‘म नै पार्टी र म नै सर्वेसर्वा हुँ’ भन्ने अहंकार पालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रवासी नेपाली मञ्चको अधिवेशनले लोप्पा खुवाइदिएको छ । एमालेनिकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको काठमाडौंस्थित कार्की बैंक्वेटमा कात्तिक १८ र १९ गते भएको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा प्रतिनिधिहरूले नेतृत्व चयनमा आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्दै पार्टी अध्यक्ष ओलीको निर्देशनमा तयार पारिएको भनिएको प्यानललाई अस्वीकृत गरिदिएका छन् । गुन्डुबाट उम्मेदवारको सूची पठाएर निर्वाचित गराउन आग्रह गरिएको विवरण सार्वजनिक भए पनि प्रतिनिधिहरूले मतदानमार्फत उक्त सूची सोत्तर पार्दै फरक उम्मेदवारहरूलाई विजयी गराए ।

अधिवेशनबाट अध्यक्ष पदमा अमेरिकाका प्रभुराम थापा र उपसचिवमा इजरायलकी ज्योति शर्मा सर्वसम्मत निर्वाचित हुँदा बाँकी पदहरूमा चुनाव भएको थियो । चुनावी प्रतिस्पर्धामा ओली पक्षका भनिएका तीनैजना उम्मेदवार पराजित हुन पुगे । उपाध्यक्षमा कतारका चानक पोखरेल (७३ मत)लाई हराउँदै दुबईका टकबहादुर गुरुङ (११३ मत) निर्वाचित भए भने सचिवमा जर्मनीका सन्तोष भट्टराई (८५ मत)लाई पराजित गर्दै बेलायतका रामशरण सिंखडा (९८ मत)ले बाजी मारे । सिंखडालाई यसअघि ओलीले नै गैरआवासीय नेपाली संघको महाधिवेशनमा महासचिव बन्न रोकेका थिए । उनले त्यतिबेला एनआरएनएका युरोप संयोजक डा. चिरञ्जीवि खड्कालाई जबरजस्ती महासचिव बनाउन सफल भएका थिए ।

ad

प्रवासी मञ्चको चुनावमा पनि सिंखडालाई पाखा लगाउन हदैसम्म प्रयास गर्दा पनि ओली असफल भएका छन् । त्यसैगरी उपसचिव पदमा जापानका सुरेश केसीले ५८ मत मात्रै प्राप्त गर्दा अमेरिकाका कृष्णप्रसाद लामिछाने अधिवेशनकै सर्वाधिक २११ मत प्राप्त गरी शानदार जित हासिल गर्न सफल भए ।

केन्द्रको समर्थन प्राप्त भनिएको सूची र प्रतिनिधिहरूको मत परिणामबीच देखिएको ठूलो अन्तरलाई अधिवेशनका प्रतिनिधिहरूले संस्थापन पक्षको हस्तक्षेपविरुद्धको विद्रोह र प्रवासमा रहेका एमाले कार्यकर्ताहरूको स्वतन्त्र निर्णयको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन् । नवनिर्वाचित कार्यसमितिलाई एमाले पार्टी कार्यालयमै बधाइ दिने कार्यक्रम अधिवेशनअघि नै तय भए पनि आफू पक्षका पदाधिकारीहरू पराजित भएपछि अध्यक्ष ओली नै कार्यक्रममा सहभागी भएनन् ।