काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एक ढिक्का बनाएर १५औँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नको लागि हदैसम्मकै लचकताका साथ असन्तुष्ट पक्ष (शेरबहादुर देउवा)को सबै माग पूरा गरे पनि नेपाली कांग्रेसलाई एक हुन नदिने निहित स्वार्थ र निर्देशनमा नेपाल फर्किएका निवर्तमान सभापति शेरबहादुर देउवा र गगनकै हस्ताक्षरमा चुनावमा समेत भाग लिएर थापालाई सभापति मान्नै नसक्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकालगायत केही पुराना नेता असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा भाग नलिने निश्चितजस्तै भएको एक केन्द्रीय पदाधिकारीले देशान्तरलाई बताए । असोज ३ गतेबाट वडा हुँदै पालिका र महाधिवेशन प्रतिनिधिहरू चयन भइसक्दा पनि सभापति थापाले देउवालाई मनाउन गरेका प्रयास सफल नभएपछि अन्ततः उनीहरूको सहभागिताबिनै महाधिवेशन हुने भएको हो । सभापति थापाले विगतमा देउवा समूहले राख्दै आएका सवै माग पूरा गर्दा पनि एकपछि अर्को बखेडा झिकेर सानो कोटरीमा सीमित देउवा समूहले छुट्टै कार्यतालिका सार्वजनिक गरेर जगहँसाइ गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

लामो समय उपचार गराउन सिंगापुर बसेका देउवा नेपाली कांग्रेस पार्टीलाई नै कमजोर बनाउने मिसनसहित नेपाल फर्किएकाले उनी सहमतिमा नआएको अड्कल गरिएको छ । उनीपक्षीय अधिकांश नेताहरू १५औँ महाधिवेशनको मैदानमा प्रवेश गरिसकेका छन् । बिपीपुत्र डा. शशांक कोइरालालाई अघि सारेर देउवाले अहिले कांग्रेसभित्र धमिलो पानीमा माछा मार्न खोजेको बुझिएको छ । यस्तै, डा. शेखर कोइराला र पूर्णबहादुर खड्का निकटहरू महाधिवेशनमा केन्द्रित भइरहेका बेला दुवै नेताहरू भने कुनै पनि महाधिवेशनमा सहभागी नहुने उद्घोष गरेर बसेका छन् । उनीहरूलाई सहभागी गराउनकै लागि केही दिनअघि पनि थापाले प्रयास गरेका थिए ।

ad

 

तर, सकारात्मक नतिजा नआएपछि थापाले १६ गतेदेखि १९ गतेसम्म काठमाडौं हुने १५औँ महाधिवेशनका लागि विभिन्न समिति पनि गठन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १ गतेको बैठकले सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेकोमा त्यसलाई थप व्यवस्थित बनाउन १५ वटा समिति गठन गरेको हो । 

सभापति थापाको संयोजकत्वमा गठित केन्द्रीय निर्देशन समितिमा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, महामन्त्री गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठसहित १२ जना सदस्य छन्  भने प्रताप पौडेल समितिका सदस्यसचिव छन् । 

यस्तै, प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा सूचना, सञ्चार र प्रविधि समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, डा. सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु, मोहन गजुरेल र शशांकश्री न्यौपाने छन् । कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, उदयशमशेर राणाको संयोजकत्वमा सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समिति, सहमहामन्त्री डा. डिला संग्रौला पन्तको संयोजकत्वमा समिति अतिथि स्वागत समिति, काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा महाधिवेशन समारोहस्थल व्यवस्थापन समिति, सहमहामन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा प्रदेश र स्थानीय तहगत समन्वय समिति, सुधीर शिवाकोटीको संयोजकत्वमा ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति गठन गरिएको छ ।

यसैगरी केन्द्रीय सदस्य गणेश लामाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति, केन्द्रीय सदस्य तिलक रानाभाटको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा आवास व्यवस्थापन समिति, केन्द्रीय सदस्य डा. केदारनरसिंह केसीको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य विजयबहादुर स्वाँरको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा समिति सांस्कृतिक–साहित्यिक संयोजन समिति र विधान मस्यौदा समितिमा ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ । 

महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रक्रियामा मात्र सीमित नराखी लोकतान्त्रिक अभ्यास, आन्तरिक एकता, सहमति र व्यापक सहभागिताको भव्य उत्सवका रूपमा सम्पन्न गर्न तीव्र तयारी गरिरहेको सन्दर्भमा असोज ३ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको अधिवेशन शृंखला वडा, पालिका अधिवेशन सम्पन्न हुँदै संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशन अधिकांश क्षेत्रमा हिजो नै सम्पन्न भइसकेका छन् भने केही क्षेत्रमा आज र भोलिभित्र सम्पन्न हुने भएका छन् । ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नाराका साथ हुन लागेको १५औँ महाधिवेशनमा झन्डै ७ हजार महाधिवेशन प्रतिनिधिहरूले भाग लिँदै छन् । 

निरन्तरको वर्षाका कारण केही निर्वाचन क्षेत्रमा आज र भोलिका लागि अधिवेशन सारिएको भए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार नै क्षेत्रीय तथा प्रदेश अधिवेशन भएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निरन्तर वर्षा भएका कारण समितिले असोज १३ भित्र क्षेत्रीय तथा प्रदेश निर्वाचन सम्पन्न गर्न सकिने गरी कार्यतालिका संशोधन समेत गरेको छ । 

क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एकजना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुईजना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एकजना रहने निर्वाचन निर्देशिकामा उल्लेख छ । क्षेत्रीय कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने, ती १८ जनामध्ये दुवै प्रदेश सभा क्षेत्रबाट एक महिला र दुई खुलासहित ३–३ जनाको दरले क्षेत्र ‘क’ र ‘ख’ बाट कुल ६ जना निर्वाचित हुनेछन् । त्यसैगरी खुलातर्फबाट एक महिलासहित ४ जना, युवामध्येबाट १ महिलासहित २ जना, जनसंख्याका आधारमा समानुपातिक तर्फबाट ६ जना निर्वाचित हुनेछन् भने अन्य ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था रहेको छ ।

क्षेत्रीय अधिवेशनबाटै महाधिवेशन प्रतिनिधिमा भने महिला ४, खुला १०, १ महिलासहित ३ युवा, जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुने व्यवस्था छ । साथै श्रमिक, पेसागत विज्ञ, अपांगता भएका व्यक्ति, मुस्लिमसहित अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट १–१ जना चयन हुनेछन् । यसरी हरेक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ । 

यसका साथै क्षेत्रीय अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । हरेक निर्वाचन क्षेत्रबाट महासमिति सदस्यमा खुला ५, ३५ वर्षमुनिका युवा १, महिला ३ र जनसंख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ ४ गरी कुल १२ जना चयन हुने व्यवस्था छ । 

त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवै तर्फका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ । प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एकजना निर्वाचित हुनेछन् भने सहसचिवमा १ महिलासहित दुईजना चयन हुनेछन् । कोषाध्यक्ष भने प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ । 

प्रदेशसभा कार्यसमिति सदस्य ३ खुला, २ महिला, १ दलित, १ युवा, र जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । यसबाहेक थप ७ जनालाई कार्यसमितिमा मनोनयन गर्ने व्यवस्था छ । सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा २ महिला, ८ खुला, १ महिलासहित २ युवा, जनसंख्याका आधारमा हुने समानुपातिकतर्फ ६ जना चयन गर्नेछ । त्यसैगरी पेसागत विज्ञ, श्रमिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट १–१ जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख छ । 

शीर्ष नेताहरूलाई निम्तो

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको छ । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक रूपमा निम्ता गरेको हो ।

कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाले तीनै नेतालाई व्यक्तिगत रूपमा भेटेर महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएका हुन् । कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदै छ । उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने तयारी छ । उद्घाटन समारोहमा भने अन्य राजनीतिक दलका प्रतिनिधि तथा शीर्ष नेताहरूलाई समेत सहभागी गराएर अन्तरदलीय संवाद र सहकार्यको वातावरण बनाउने तयारी गरिएको छ ।सहमहामन्त्री राणाले राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आमनागरिकलाई उद्घाटन समारोहमा सहभागी हुन आग्रह गरेका छन् । उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताको उपस्थितिले राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । आगामी महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्वसँगै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने भएकाले पनि असोज १६ को उद्घाटनलाई चासोका साथ हेरिएको छ ।

सभापतिमा गगन निर्विकल्प

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापतिमा गगनकुमार थापा निर्विकल्प देखिएका छन् । पार्टीभित्र थापाकै पक्षमा बलियो वातावरण बनेको देखिएकाले आगामी साता हुने महाधिवेशनमा उनलाई सभापतिमा कसैले चुनौती दिन सक्ने सम्भावना देखिँदैन । कांग्रेसकी उपसभापति पुष्पा भुसालले समेत आगामी नेतृत्वका लागि गगन थापाको विकल्प नरहेको बताएकी छन् ।

केही दिनअघि अर्घाखाँचीको सन्धिखर्कमा आयोजित साक्षात्कारमा भुसालले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने भन्दै कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प नरहेको बताइन् । उनले अग्रजलाई सम्मान गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने र आन्तरिक गुट–उपगुट अन्त्य गरी पार्टीलाई बलियो तथा जनतासँग जोड्नुपर्ने धारणा राखिन् ।

थापाको पक्षमा देखिएको वातावरणको एउटा आधार कांग्रेसको १४औँ महाधिवेशनको मत परिणाम पनि हो । २०७८ सालमा भएको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा थापाले ३ हजार २३ मत प्राप्त गरेका थिए । कुल ४ हजार ६ सय ८२ मत गणना हुँदा उनी दुईतिहाइ मत पाउने उम्मेदवार बनेका थिए । विश्वप्रकाश शर्मा १ हजार ९ सय ८४ मतसहित दोस्रो महामन्त्री बनेका थिए ।

महामन्त्रीमा अत्यधिक मतसहित निर्वाचित भएपछि थापा कांग्रेसभित्र नेतृत्व पुस्तान्तरण र संगठन सुधारका प्रमुख आवाजका रूपमा स्थापित भएका थिए । विद्यार्थी राजनीतिबाट उदाएका थापा २०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष र २०५९–२०६१ मा महामन्त्री बनेका थिए । २०६२÷६३ को जनआन्दोलनका क्रममा गणतन्त्र र लोकतान्त्रिक परिवर्तनका पक्षमा सक्रिय भूमिका खेलेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बने ।

१२औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थापा १३औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेर पराजित भए पनि पार्टीभित्र प्रभावशाली युवा नेताका रूपमा स्थापित भइरहे । २०७३ सालमा स्वास्थ्यमन्त्री बनेका उनले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न प्रयास अघि बढाएका थिए । संविधानसभा र प्रतिनिधिसभा सदस्यका रूपमा पनि उनले संसदमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

तर १४औँ महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बन्यो । थापाले महामन्त्रीका रूपमा पार्टी संगठन सुधार, नेतृत्व पुस्तान्तरण र आन्तरिक लोकतन्त्रको मुद्दा उठाउँदै आएका थिए । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको मागसहित अघि बढेको विशेष महाधिवेशनमा उनी सभापतिमा चयन भएका थिए । विशेष महाधिवेशनमा सभापतिका लागि थापाको मात्रै उम्मेदवारी परेको थियो र उनी निर्विरोध चयन भएका थिए ।

विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि अब १५औँ महाधिवेशनमा पनि उनको नेतृत्वलाई निरन्तरता दिने विषय कांग्रेसभित्र प्रमुख एजेन्डा बनेको छ । विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका थिए ।

भुसालले १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको आन्तरिक एकता सुदृढ गर्ने अवसर बनाउनुपर्ने बताएकी छन् । उनका अनुसार अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिने नीति अहिलेको आवश्यकता हो । कांग्रेसलाई पुनः जनतासँग जोडिएको बलियो संगठनका रूपमा स्थापित गर्न सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

यसरी १४औँ महाधिवेशनमा प्राप्त बलियो जनमत, विशेष महाधिवेशनबाट सभापतिमा चयन र आगामी महाधिवेशनअघि पार्टीभित्रबाट आएको समर्थनका कारण गगन थापा कांग्रेस नेतृत्वको केन्द्रमा देखिएका छन् । यद्यपि, १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया र अन्तिम निर्णय महाधिवेशनबाटै तय हुनेछ ।