
काठमाडौं । एउटा राष्ट्रले आफ्ना खेलाडीलाई दिनको ६०० रुपैयाँ भत्तामा तालिम दिएर विश्वका उत्कृष्टसँग स्वर्ण खोज्न पठाउँछ । यही हो २०औँ एसियाडमा नेपालको सबैभन्दा नसुनिएको तर सबैभन्दा चर्को समाचार । पदक तालिकामा नेपालको नाम खोज्नेहरूले बुझ्नैपर्छ, यहाँ लडाइँ प्रतिद्वन्द्वी खेलाडीसँग मात्र थिएन, आफ्नै प्रणालीसँग पनि थियो ।
करातेमा एक कांस्य, कबड्डीमा निरन्तरता यी दुई उपलब्धिले नेपाली खेलकुदको वास्तविक चित्र लुकाउन सक्दैनन् । किनभने प्रश्न पदक कति जित्यौं भन्ने मात्र होइन, कसरी तयारी ग¥यौँ भन्ने पनि हो । र त्यो प्रश्नको जवाफ आफैँमा लज्जास्पद छ । कुनै वैज्ञानिक तालिम पद्धति छैन, कुनै दीर्घकालीन खेलाडी विकास योजना छैन, बरु दिनको ६०० रुपैयाँ भत्ता र त्यो पनि बीच–बीचमा रोकिने प्रशिक्षण ।
सबैभन्दा विडम्बना त बक्सर चन्द्रबहादुर मगरको कथामा देखिन्छ । विश्व च्याम्पियनसिपमा कांस्य जितेको खेलाडीलाई एसियाडअघि विशेष तयारीका लागि भारतको गुवाहटी पठाइयो, तर त्यहाँ उनीभन्दा बलियो स्पाइरिङ साथी नै भेटिएन । अर्थात् जुन तयारी ‘विशेष’ भनेर पठाइयो, त्यो आफैँमा अधुरो थियो । यसले एउटा गम्भीर प्रश्न उठाउँछ । के नेपालले साँच्चै तयारी गरेको हो, कि तयारी गरेको देखाउने काम मात्र गरेको हो ?
अनि यहीबेला नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको स्वीकारोक्ति झन् चोट पु¥याउने खालको छ । विगतका थुप्रै पदक खेलाडीको मिहिनेतले भन्दा बढी ‘कागतालीमा’ आएका थिए । यसको अर्थ स्पष्ट छ - नेपालको एसियाड यात्रा कहिल्यै ठोस योजनामा आधारित थिएन, बरु संयोगमा टिकेको थियो । र संयोग जब चुक्छ, नतिजा पनि उस्तै आउँछ, जस्तो यसपालि आइरहेको छ ।
तर सबैभन्दा रोचक कुरा के छ भने, जब खेलाडी चुक्छन् वा प्रदर्शन कमजोर हुन्छ, दोष प्रणालीले भन्दा बढी खेलाडीले नै बोक्नुपर्ने हुन्छ । जबकि कराते महासंघका अध्यक्ष युवराज लामा आफैँ भन्छन् । नेपाल त बल्ल राष्ट्रिय टिम तयारीलाई संस्थागत रूपमा विकास गर्ने चरणमा प्रवेश गर्दै छ । अर्थात्, जुन देश आफैँ स्विकार्छ कि उसको प्रणाली अझै ‘प्रवेश’ चरणमै छ, त्यही देशले स्वर्णसहित १० पदकको लक्ष्य राख्नु सुरुमै अवास्तविक थियो ।
एसियाड अझै बाँकी छ, क्रिकेट, तेक्वान्दो र जुडोमा नेपालको चुनौती जारी छ । सायद केही अनपेक्षित पदक आउलान् पनि, जस्तो २०१८ मा प्याराग्लाइडिङबाट आएको थियो । तर त्यस्ता संयोगजन्य सफलताले वास्तविक प्रश्नलाई ढाकछोप गर्नु हुँदैन । नेपालले अब खेलाडी होइन, प्रणाली सुधार्ने बेला आएको छ । नत्र भोलिका एसियाडहरूमा पनि हामी उही ठाउँमै उभिएर कारण खोज्दै बस्नेछौं, नतिजाको प्रतीक्षामा ।









Facebook Comments