
काठमाडौं । नेपाल कानुन आयोगका पूर्वसचिव तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका सल्लाहकार चिरञ्जीवी खनालमाथि घरबहाल करछली गरेको आरोप लागेको छ । नागार्जुन नगरपालिका–५, सीतापाइलामा रहेको उनको घर तथा टहराको कर र राजस्वसम्बन्धी अभिलेखलाई लिएर नगरपालिका र खनालबीच विवाद देखिएको हो ।
स्थानीयस्तरमा प्राप्त विवरणअनुसार घरअगाडिको टहरा घरायसी प्रयोजनका लागि दर्ता गरिएको भए पनि मासिक करिब दुई लाख रुपैयाँमा भाडामा लगाइएको र त्यसबापत तिर्नुपर्ने घरबहाल कर दाखिला नगरिएको आरोप छ । मासिक दुई लाख रुपैयाँ भाडा र १० प्रतिशत करको हिसाब गर्दा मासिक २० हजार रुपैयाँ कर दायित्व देखिन्छ । २०७२ सालदेखि यस्तो कारोबार भएको दाबीलाई आधार मान्दा करिब २५ लाख रुपैयाँबराबरको करबारे प्रश्न उठेको छ ।
सूचनाको हकअन्तर्गत माग गरिएको विवरणको जवाफ दिँदै नागार्जुन नगरपालिकाले कित्ता नम्बर ५८, ५९ र ६१ मा बनेका घर तथा टहराको कर तथा राजस्वमध्ये कित्ता नम्बर ६१ को मात्र कर तिरेको अभिलेख रहेको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी सुनील आचार्यले हस्ताक्षर गरेको पत्रमा यस्तो विवरण उल्लेख छ ।
नगरपालिकाका अनुसार कित्ता नम्बर ५८ र ५९ मा २०७२ माघ २० गते अस्थायी टहरा निर्माण नियमित भएको अभिलेख छ । कित्ता नम्बर ६१ मा भने देवकी खनालको नाममा २०७५ वैशाख २० गते भवन निर्माण सम्पन्न भएको अभिलेख रहेको जनाइएको छ ।
तर खनालले आफूले नियमअनुसार घरबहाल कर बुझाउँदै आएको दाबी गर्दै आएका छन् । उनका अनुसार २०७२ सालको भूकम्पमा पुरानो घर भत्किएपछि कित्ता नम्बर ५८ र ५९ मा टहरा निर्माण गरिएको हो ।
खनालविरुद्ध अस्वाभाविक सम्पत्ति आर्जन, कर छली तथा सरकारी बजेटको दुरुपयोग गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा उजुरी परेको दाबी गरिएको छ । उजुरीमा उनको तथा परिवारका सदस्यको सम्पत्ति, बैंक मौज्दात, सेयर लगानी र आम्दानीको स्रोत छानबिन गर्न माग गरिएको छ ।
त्यस्तै, सामुदायिक भवन निर्माणका लागि विनियोजित सरकारी बजेट निजी जग्गामा प्रयोग गराउन प्रभाव पारेको तथा सडक मापदण्ड मिचेर संरचना निर्माण गरिएको आरोपसमेत लगाइएको छ ।









Facebook Comments