
काठमाडौं । परिवर्तन र सुशासनको नारा दिएर झन्डै दुईतिहाइ जनमत प्राप्त गरी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको कार्यशैलीका कारण लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेको विश्लेषण हुन थालेको छ । विपक्षी नेता र सांसदहरूलाई मात्र नभई आफ्नै दललाई समेत उपेक्षा गर्ने प्रवृत्तिले लोकतान्त्रिक व्यस्थासँगै मुलुक नै अस्तव्यस्त बन्न पुगेको चर्चा चलेको हो । सुशासन, राजनीतिक स्थिरताको प्रतिबद्धता व्यक्त गर्दै आएको सरकारका आठ महिनाको समयमा भएका कतिपय निर्णयहरूले सरकार निरंकुश शैलीमा अघि बढिरहेको उजागर गरेको चर्चा सर्वत्र हुन थालेको हो ।
संसदीय व्यवस्था भनेकै राजनीतिक दल, संसद्, प्रतिपक्ष, संसदीय समिति र जनप्रतिनिधिहरूको शक्ति सन्तुलनमा आधारित शासन प्रणाली भएको र यसको मूल मर्म बहुदलीय प्रतिस्पर्धा, संवाद, सहमति, जवाफदेहिता र संस्थागत उत्तरदायित्व हो । तर सरकारको कार्यशैली र रवैया र प्रधानमन्त्री बालेन संसदप्रति उत्तरदायी नहुँदा संसदीय व्यवस्था बलियो बनाउनेप्रति गम्भीर नभएको एक राजनीतिक विश्लेषकले देशान्तरलाई बताए । संसदीय व्यवस्थामा कानुन निर्माण गर्ने प्रमुख थलो संसदमा सहज बहुमत हुँदाहुँदै पनि सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेपछि संसदीय सर्वोच्चतालाई खिल्ली उडाएकोेमा समेत सबैतिर आलोचना भइरहेको छ ।
पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षी दलहरूले सरकारविरुद्ध मोर्चाबन्दी गर्दै तिहारपछि आन्दोलनमा उत्रिने तयारी गरिरहेको चर्चा चलिरहेको छ । विपक्षी दलहरूले संसद्को अधिवेशन चाँडोभन्दा चाँडो बोलाउन सरकारलाई दबाब समेत दिइरहेका छन् ।
प्रधानमन्त्री शाहको कार्यशैली र एकलौटी निर्णय प्रक्रियालाई लिएर रास्वपामा भित्र पनि आन्तरिक असन्तुष्टि बढिरहेको छ । आफ्नै दलको बहुमतको सरकार भए पनि प्रशासनिक र नीतिगत निर्णयहरूमा अपरिपक्वता देखाउँदै अनावश्यक दबाब दिने काम भईरहेकोमा रास्वपामा सभापति रवि लामिछानेसहित ठूलो तप्का सरकारको कार्यशैलीप्रति त्यतिधेरै सन्तुष्ट छैन । रास्वपा सभापति लामिछानेले प्रहरी प्रमुख हेरफेर गरेको विषय संवेदनशील भएको बताउँदै यसको औचित्य पुष्टि गर्न सरकारलाई चुनौती दिएका छन् भने सरकारले गरेका सबै निर्णयलार्ई ‘हो मा हो नगर्ने’ बताएका थिए । फेसबुकबाट उदाएका प्रधानमन्त्री बालेनले पनि रविविरुद्ध जवाफी फायर खोल्दै भनेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’
लोकतान्त्रिक शासन प्रणाली व्यक्तिको इच्छाभन्दा विधि, प्रक्रिया र संस्थागत जिम्मेवारीमा आधारित हुनुपर्नेमा संसद, संवैधानिक निकाय, न्यायालय, सुरक्षा निकाय, प्रेस र नागरिक समाजको भूमिकालाई नजरअन्दाज गर्दै केवल एकलकाँटे पाराले सरकार चल्दा मुलुकको सबै क्षेत्रमा अन्योल सिर्जना भइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । राज्य सञ्चालन कुनै एक व्यक्तिको इच्छाशक्ति र निर्देशनको आधारमा अघि बढ्न सक्दैन । त्यसका लागि संस्थागत प्रक्रिया, स्पष्ट नीति, प्रशासनिक समन्वय र कानुनी व्यवस्थाको पालना अनिवार्य हुन्छ । तर बालेन सरकारका पछिल्ला गतिविधिले लोकतन्त्रका आधारस्तम्भलाई कमजोर बनाइरहेको टिप्पणीसमेत भइरहेको छ ।
पछिल्लोपटक आइजिपी फेरबदललगायत विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीच गम्भीर मतभेद सिर्जना भएको छ । सरकारले पूर्वजानकारी नदिई आइजिपी परिवर्तन गरेपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । यसैगरी बिचौलिया भनिएका इनम सापकोटा प्रहरी हिरासतमा रहेका बेला उनको फोन प्रधानमन्त्री कार्यालयले दुरुपयोग गरी अनधिकृत रूपमा नियन्त्रण तथा छेडछाड गरिएको भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज उठिरहेको छ ।
पार्टीलाई पूर्ण रूपमा उपेक्षा गर्दै प्रहरी महानिरीक्षक (आइजिपी) परिवर्तनसम्बन्धी सरकारी निर्णयपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक प्रभावित भएको छ । प्रहरी नेतृत्व परिवर्तनबारे सरकार र पार्टीका प्रवक्ताबीच फरक धारणा सार्वजनिक भएपछि बैठक बोलाउने विषयमा अन्योल देखिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई नयाँ आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार आइजिपीको जिम्मेवारी हेरफेर गरिएको दाबी गरेका थिए । तर, तत्कालै रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले कुनै व्यक्तिलाई राख्न वा हटाउन निर्देशन नदिएको भन्दै उक्त भनाइको खण्डन गरेपछि रास्वपामा तरंग उत्पन्न भएको छ ।
सरकारको निर्णयमा पार्टीको सल्लाह थियो भन्ने सरकारका प्रवक्ताको दाबी र पार्टीलाई जानकारी नै थिएन भन्ने प्रवक्ता खरेलको अभिव्यक्तिबीच देखिएको अन्तरले प्रहरी नेतृत्व परिवर्तनजस्तो महत्त्वपूर्ण निर्णयमा सत्तारुढ दल र सरकारबीच समन्वय हुन नसकेको प्रस्ट हुन्छ ।
यसअघि रास्वपाको सचिवालय बैठकले न्यायाधीशहरूसँग बिचौलियाको सम्बन्धबारे छानबिन गर्नुपर्ने तथा आवश्यक परे महाभियोग प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिएको थियो । सञ्चारकर्मी पक्राउ प्रकरणमा दोषीमाथि छानबिन गरी कारबाही गर्न पनि सरकारसँग आग्रह गरेको थियो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाबाट बरामद दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण गर्नुअघि दुई दिनसम्म आफ्नो घरमा राखेर मात्र प्रहरीलाई हस्तान्तरण गरेको विषयले पनि निकै चर्चा पाएको छ ।
उता, सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे छलफल गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गर्दै कांग्रेसका सांसदहरूले समितिमा निवेदन दर्ता गराएका छन् । इनम सापकोटा प्रकरण, प्रहरी अनुसन्धानमा देखिएका विवाद, आइजिपी फेरबदल तथा पत्रकार पक्राउका घटनाबारे छलफल गर्न माग गर्दै समितिमा रहेका कांग्रेसका चारजना सांसदहरूले शुक्रबार समितिका सभापतिलाई लिखित निवेदन दिँदै तत्काल बैठक डाक्न र प्रधानमन्त्रीसहित उच्च अधिकारीहरूलाई समितिमा उपस्थित गराएर जवाफ माग्न माग गरेका हुन् । निवेदन दर्ता गराउनेमा समितिमा रहेका कांग्रेस सांसदहरू अर्जुननरसिंह केसी, निश्कल राई, भीष्मराज आङदेम्बे र रेखाकुमारी यादव छन् ।
निवेदनमा उनीहरूले पछिल्लो समय राज्यका निकायसँग जोडिएका घटनाक्रमले विधिको शासन, सरकारी निकायको निष्पक्षता र राज्य सञ्चालनको पारदर्शितामाथि प्रश्न उठाएको उल्लेख गरेका छन् ।
निवेदनमा बिचौलिया भनिएका इनम सापकोटा प्रहरी हिरासतमा रहेका बेला उनको फोन कसरी अनधिकृत व्यक्तिको पहुँचमा पुग्यो भन्ने प्रश्न उठाइएको छ । सापकोटासँग जोडिएका अडियो तथा हिरासतमा रहेका व्यक्तिका भनिएका अडियोको आधिकारिकता र अनुसन्धानको निष्पक्षताबारे समेत छानबिन गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरी अनधिकृत रूपमा नियन्त्रण तथा छेडछाड गरिएको भनिएका विषयमा पनि सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनीहरूको माग छ । अनुसन्धानका क्रममा रहेका व्यक्तिसँग सम्बन्धित प्रमाणमा अनधिकृत पहुँच र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने निवेदनमा उल्लेख छ ।
यसैगरी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई कार्यकाल बाँकी रहँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरी डा. मनोज केसीलाई नयाँ आइजिपी बनाइएको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन् । प्रहरी नेतृत्व परिवर्तन गर्नुको कारण र त्यसमा सरकारको भूमिकाबारे गृह मन्त्रालय तथा सम्बन्धित नेतृत्वसँग जवाफ माग्नुपर्ने उनीहरूको माग छ ।
निवेदनमा सञ्चारगृह र पत्रकारहरूलाई पक्राउ गर्ने तथा लगत्तै रिहा गर्ने घटनाप्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ । सरकारलाई घटनाबारे जानकारी नभएको भन्ने अभिव्यक्ति र प्रहरीबाट प्रधानमन्त्री कार्यालयको चाहनाअनुसार पक्राउ गरिएको भन्ने विषयले राज्यशक्तिको दुरुपयोग भएको आशंका उत्पन्न गरेको उनीहरूको भनाइ छ ।
यस्ता गतिविधिले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको अधिकारसमेत प्रभावित हुन सक्ने भन्दै यसमा सरकार र सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्ने निवेदनमा उल्लेख छ ।









Facebook Comments