
काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार नै सम्पन्न गर्नुपर्ने बताएका छन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी र मितिबारे शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा सहभागी हुँदै प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउनुपर्नेमा जोड दिएका हुन्।
उनले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम सार्वजनिक गर्ने प्रक्रिया तथा मतपेटिकाको व्यवस्थापनलाई लिएर उठेका विवाद र गुनासा आगामी निर्वाचनमा दोहोरिन नदिन आयोगको ध्यानाकर्षण गराए।
निर्वाचनप्रति आम नागरिकको विश्वास कायम राख्न मतदानदेखि मतगणनासम्मका सबै प्रक्रिया पारदर्शी हुनुपर्ने उनको भनाइ थियो।
प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार उपलब्ध गराउने व्यवस्था मिलाउन सरकार र निर्वाचन आयोगसँग आग्रह गरे। विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयलाई निर्वाचन तयारीकै क्रममा प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचनको प्रस्ताव
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन आगामी मंसिरमा गर्ने गरी अघि सारेको प्रस्तावलाई प्रचण्डले उपयुक्त देखिएको बताएका छन्।
यद्यपि, यस विषयमा पार्टीभित्र थप छलफल गर्न बाँकी रहेको उल्लेख गर्दै उनले छलफलपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारे।
त्यसैगरी निर्वाचन दुई चरणमा गर्ने सम्भावनाबारे पनि आयोगको प्रस्ताव अध्ययन गरेर पार्टीमा छलफल गरिने उनले बताए।
प्रचण्डले निर्वाचनको मिति र प्रक्रियासम्बन्धी निर्णय गर्दा संविधान, कानुनी व्यवस्था र निर्वाचनको विश्वसनीयतालाई मुख्य आधार बनाउनुपर्ने धारणा राखेका छन्।









Facebook Comments