काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँचपटक प्रधानमन्त्री बनाएको पार्टीप्रति आफ्नो समर्पण रहेको बताउँदै कांग्रेसका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्।

शनिबार देउवा समूहको ललितपुर जिल्ला कार्यसमितिको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसलाई कुनै व्यक्ति वा समूहले आफ्नो नियन्त्रणमा लिन नसक्ने धारणा राखे। नेपाली जनताले स्थापना गरेको पार्टी भएकाले यसको वास्तविक अधिकार जनताका प्रतिनिधिमा निहित रहेको उनको भनाइ थियो।

ad

आफूले विगतमा भोगेका राजनीतिक र कानुनी परिस्थितिको स्मरण गर्दै देउवाले न्यायालयप्रति विश्वास व्यक्त गरे। तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला पनि आफूले अदालतबाट न्याय पाएको उल्लेख गर्दै उनले अहिले देखिएका विवादमा समेत निष्पक्ष न्याय हुने अपेक्षा सुनाए।

पार्टीको आधिकारिकतासँग जोडिएको विषयमा लेनदेन भएको भनिएको १८ करोड रुपैयाँबारे उठेका प्रश्नमा पनि उनले न्यायालयबाट उचित निर्णय आउने विश्वास व्यक्त गरे।

यसैबीच, देउवाले २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई षड्यन्त्रको संज्ञा दिए। लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका नेताका सन्तानका घर तथा आश्रमलाई लक्षित गरी आगजनी गरिएको उनको दाबी थियो।

कार्यक्रममा देउवाले पार्टीको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादका बीच कांग्रेसको स्वामित्व जनताका प्रतिनिधिमा रहने धारणा दोहोर्‍याएका थिए।