जनकपुरधाम।मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति बन्न नसक्दा राजनीतिक अन्योल लम्बिएको छ। प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमा समाप्त हुँदासमेत कुनै पनि दलले स्पष्ट बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न सकेका छैनन्।

सरकारको नेतृत्व कसले गर्ने र कुन दलबीच सत्ता सहकार्य हुने भन्ने विषयमा सहमति नजुट्दा सरकार गठन प्रक्रिया अनिश्चित बनेको हो।

ad

नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने प्रयासमा छन्। तर, उनलाई मुख्यमन्त्री स्वीकार गर्ने विषयमा नेपाली कांग्रेसले सहमति जनाइसकेको छैन। कांग्रेसको समर्थन सुनिश्चित नहुँदा एमालेको सरकार गठन प्रयासले पूर्णता पाउन सकेको छैन।

यही राजनीतिक अन्योलका बीच नेपाली कांग्रेसका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता युवराज भट्टराई शुक्रबार प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

तीनै दलका नेताहरूले प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णसँग भेट गरी सरकार गठनका लागि थप समय उपलब्ध गराउन आग्रह गरेका छन्।

प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दिएको समय शुक्रबार अपराह्न ४ बजे समाप्त भएको थियो।

समयसीमा सकिन लाग्दासमेत दलहरूबीच सहमति नबनेपछि थप समय माग गरिएको हो। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठनका लागि केही समय थपिदिन प्रदेश प्रमुखसँग आग्रह गरिएको जानकारी दिए।

यसैबीच, जनता समाजवादी पार्टी (जसपा) नेपाल भने एमालेसँग सहकार्य गरेर सरकार गठन गर्ने पक्षमा नरहेको देखिएको छ। जसपाको असहमतिले पनि सत्ता समीकरणको गाँठो थप जटिल बनेको छ।

मधेस प्रदेशमा सरकारको नेतृत्वका लागि दलहरूबीच सहमति जुट्न नसक्दा अब कुन राजनीतिक समीकरणबाट नयाँ सरकार बन्ने भन्ने प्रश्न अनुत्तरित बनेको छ। समय थप गर्ने विषयमा प्रदेश प्रमुखको निर्णय र दलहरूबीचको आगामी छलफलले सरकार गठनको दिशा तय गर्नेछ।