भैरहवा।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र स्वार्थसँग जोडिएका विषय उठाउने अवसरका रूपमा उपयोग गर्न सुझाव दिएका छन्।

शुक्रबार राप्रपा रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहलाई कुनै एउटा राजनीतिक दलको प्रतिनिधिका रूपमा नभई सम्पूर्ण नेपालीको प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्न आग्रह गरे।

ad

भारतको राजकीय भ्रमणमा जाँदा तीन करोड नेपालीको भावना, सद्भाव र अपेक्षालाई प्रतिनिधित्व गर्नुपर्ने उनको भनाइ थियो। भ्रमणले दुई देशबीचका पुराना समस्या समाधानका लागि संवादको आधार तयार गर्नुपर्ने उनले बताए।

थापाले नेपाल–भारतबीच धार्मिक, सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध निकट रहे पनि द्विपक्षीय सम्बन्धमा केही पुराना विवाद तथा समस्या कायमै रहेको उल्लेख गरे।

उनले सीमा विवाद, व्यापार तथा पारवहनमा देखिएका समस्या, सीमावर्ती क्षेत्रमा हुने डुबान र विगतमा सहमति भएका विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए। साथै, विगतका असमान सन्धि तथा सम्झौताको पुनरावलोकन आवश्यक रहेको धारणा राखे।

यी सबै विषय एउटै भ्रमणबाट समाधान नहुने स्वीकार गर्दै उनले लामो समयदेखि थाती रहेका मुद्दामा भारतीय पक्षसँग स्पष्ट संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

नेपालको आर्थिक विकास र आधुनिकीकरणका लागि भारतसँग सहकार्यमा नयाँ परियोजना, कार्यक्रम तथा नीतिगत साझेदारी अघि बढाउने वातावरण बनाउनुपर्ने पनि उनको सुझाव थियो।

राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा अझै जीवित रहेको दाबी

कार्यक्रममा थापाले राप्रपाको राजनीतिक एजेन्डाबारे पनि धारणा राखे। उनले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मुद्दा नेपालको राजनीतिक बहसमा निरन्तर रहने दाबी गरे।

देशी तथा विदेशी शक्तिको स्वार्थका कारण नेपालको हिन्दूराष्ट्रको पहिचान र राजसंस्थाको अस्तित्व समाप्त पारिएको उनको आरोप थियो।

‘नेपाली जनताले भोट हालेर हिन्दूराष्ट्र फ्याँकेको हो र ?’ भन्दै उनले जनमतसंग्रह वा जनताको मतदानबाट हिन्दूराष्ट्र र राजसंस्था हटाइएको नभई राजनीतिक परिवर्तनका क्रममा ती व्यवस्था अन्त्य गरिएको जिकिर गरे।

थापाले आफूहरूको पछिल्लो जिल्ला भ्रमण आगामी महाधिवेशनका लागि मत माग्ने उद्देश्यले नभई पार्टीभित्र एकता कायम गर्ने र कार्यकर्तामा उत्साह थप्ने अभियान भएको स्पष्ट पारे।

महाधिवेशनको तयारीमा जुट्न कार्यकर्तालाई पाण्डेको आग्रह

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टीका नेता तथा कार्यकर्ताबाट प्राप्त सुझाव र मागअनुसार जिल्ला भ्रमणलाई निरन्तरता दिइएको बताए।

उनले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको एजेन्डासहित पार्टी अघि बढिरहेको उल्लेख गर्दै कार्यकर्तालाई विचलित नभई आगामी महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरे।

महाधिवेशनपछि राप्रपालाई देशको पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको पाण्डेको भनाइ थियो।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बसन्त विक्रम शाही, लुम्बिनी प्रदेश सदस्य बलराम शर्मा, युवा नेता अजयकुमार गुप्ता तथा सिद्धार्थनगर सचिव प्रकाश ढाढीलगायतले पार्टीको संगठनात्मक अवस्था र आगामी राजनीतिक कार्यदिशाबारे धारणा राखेका थिए।