काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयतालिकाअनुसार नै स्थानीय तह र प्रदेशसभा निर्वाचन गराउनुपर्ने बताएका छन्। उनले स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने धारणा राखेका छन्।

शुक्रबार एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनको संवैधानिक व्यवस्थाबाट पछि हट्न नहुने बताए।

ad

संविधानको एउटा प्रावधान उल्लंघन गर्ने छुट दिए अन्य व्यवस्थासमेत प्रभावित हुन सक्ने उनको भनाइ थियो।

‘संविधानले तोकेको समयमा निर्वाचन हुनुपर्छ। एक ठाउँमा संविधान मिचियो भने अर्को ठाउँमा मिचिन्छ, संविधान मिच्ने कुरामा हामी भर्‍याङ लगाइदिन सक्दैनौँ,’ ओलीले भने।

उनले निर्वाचनमा पार्टीविरुद्ध अन्तर्घात गर्ने र पार्टी नबदले पनि उम्मेदवार तथा पार्टीलाई दिइने मत बदल्ने प्रवृत्तिलाई एमालेमा स्वीकार नगरिने चेतावनीसमेत दिए।

स्थानीय तहलाई थप अधिकार दिनुपर्ने ओलीको जोड

ओलीले स्थानीय तहलाई अधिकारसम्पन्न र सक्षम बनाउन सके विकास निर्माणले गति लिने बताए। स्थानीय सरकार बलियो हुँदा संघीयताको अनुभूति जनताले प्रत्यक्ष रूपमा गर्न पाउने उनको भनाइ थियो।

स्थानीय तहको सवलीकरणको चर्चा गर्दा एमाले नेतृत्वको २०५१ सालको सरकारका कामलाई बिर्सन नहुने उनले उल्लेख गरे।

‘त्यतिबेला जनश्रमदान गरेर गाउँगाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै गरेको हो,’ ओलीले भने।

स्थानीय तहलाई स्वायत्त रूपमा काम गर्न सक्ने अधिकार दिनुपर्नेमा जोड दिँदै उनले कार्यकारी, विधायिकी र न्यायिक अधिकारसमेत स्थानीय सरकारलाई उपलब्ध गराउनुपर्ने धारणा राखे।

उनका अनुसार स्थानीय तह सक्षम र अधिकारसम्पन्न भए मात्रै संघीय शासन प्रणालीको प्रभावकारिता जनताले महसुस गर्न सक्छन्।

जनताको घरदैलोमा स्थानीय जनप्रतिनिधि पुग्नुपर्ने

अध्यक्ष ओलीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू सबै गाउँबस्तीमा पुग्न सम्भव नहुने भन्दै स्थानीय जनप्रतिनिधिले राज्यको प्रतिनिधिका रूपमा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने बताए।

स्थानीय सरकारका प्रतिनिधिहरू जनताको घरदैलोसम्म पुगेर समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने जिम्मेवारीमा रहनुपर्ने उनको भनाइ थियो।

उनले स्थानीय तहको संस्थागत सुदृढीकरण, स्वायत्तता र विकासलाई एकअर्कासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रभावकारी रूपमा काम गर्न आग्रह गरे।