
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्रबहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी मंसिर २६, २७ र २८ गते हुने महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने जानकारी दिएका हुन्।
शाहीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पार्टीको नेतृत्वमा पुस्तान्तरण, संगठनात्मक रूपान्तरण र वैचारिक पुनर्जागरणको अभियानका रूपमा प्रस्तुत गरेका छन्। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको राजनीतिक ऊर्जालाई एकै ठाउँमा जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।
उनले राप्रपाको पछिल्लो राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै विचार र सिद्धान्त नमिल्ने दलहरूसँग चुनावी गठबन्धन तथा सत्ता समीकरणमा सहभागी हुने प्रवृत्तिले पार्टीको राजनीतिक पहिचान कमजोर बनाएको टिप्पणी गरे।
अब पार्टीले सत्ता प्राप्तिलाई प्राथमिकता दिनुभन्दा आफ्नै विचार, सिद्धान्त र एजेन्डाका आधारमा राजनीति गर्नुपर्ने उनको धारणा छ।
‘अब राप्रपा कसैको चुनावी गोटी बन्ने छैन, कसैको सत्ताप्राप्तिको सिँढी बन्ने छैन,’ शाहीले भने, ‘राप्रपा आफ्नो विचार, सिद्धान्त र राजनीतिक पहिचानका आधारमा सशक्त राष्ट्रवादी शक्तिका रूपमा अगाडि बढ्नेछ।’
लिङ्देनसहितका अग्रजलाई अभिभावकीय जिम्मेवारीको प्रस्ताव
अध्यक्षका उम्मेदवार शाहीले पार्टीभित्र देखिएका गुट तथा उपगुटको राजनीति अन्त्य गरेर एकीकृत संगठन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका वरिष्ठ नेताहरूलाई सम्मानपूर्वक अभिभावकीय भूमिकामा राख्ने प्रस्ताव अघि सारे। यसका लागि पार्टी विधानमै ‘सर्वोच्च नेता’ पदको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
प्रस्तावित संरचनाअनुसार अध्यक्षभन्दा वरिष्ठ हैसियतमा रहने गरी पार्टीका अग्रज नेताहरूलाई जिम्मेवारी प्रदान गरिनेछ। यसबाट पुरानो नेतृत्वको अनुभवलाई उपयोग गर्दै नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न सकिने शाहीको तर्क छ।
प्रदेश संरचना खारेजीदेखि हिन्दू अधिराज्यसम्मका एजेन्डा
शाहीले पार्टीको राजनीतिक एजेन्डालाई पनि पुनः प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
उनले प्रदेश संरचना खारेज गर्ने, वैदिक सनातन हिन्दू अधिराज्य स्थापना गर्ने र राजसंस्थासम्बन्धी पार्टीको मान्यतालाई व्यवहारमा उतार्ने विषयलाई प्राथमिकतामा राखेका छन्।
त्यसैगरी सुशासन, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको मुद्दालाई पार्टीको राजनीतिक अभियानको केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ।
अन्य उम्मेदवारलाई पनि सहयोग गर्ने प्रतिबद्धता
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै शाहीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी निश्चित रहेको स्पष्ट पारे। पार्टीभित्र तीनवटा गुट रहेको चर्चाबारे प्रतिक्रिया दिँदै उनले आफ्नो एउटै गुट राप्रपा मात्रै भएको बताए।
उनले आफू अध्यक्षको उम्मेदवार भए पनि महाधिवेशनमा अन्य नेताहरूले प्रतिस्पर्धा गरे उनीहरूलाई पनि साथ र समर्थन रहने धारणा राखे।
शाहीका अनुसार आगामी महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र बन्नु हुँदैन। यसलाई पार्टीको वैचारिक दिशा, संगठनात्मक पुनर्संरचना र आगामी निर्वाचनको रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्छ।
मंसिर २६ देखि २८ गतेसम्म हुने महाधिवेशनले राप्रपाको आगामी नेतृत्वसँगै पार्टीको राजनीतिक कार्यदिशा कस्तो हुने भन्ने विषयसमेत निर्धारण गर्ने देखिन्छ।









Facebook Comments