काठमाडौँ।नेपाली सेनाले सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठलाई दिएको छ। यसअघि प्रवक्ताको भूमिकामा रहेका सहायक रथी राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा सरुवा भएपछि श्रेष्ठलाई नयाँ जिम्मेवारी दिइएको हो।

नवनियुक्त प्रवक्ता श्रेष्ठले बिहीबार जङ्गी अड्डामा पत्रकारहरूसँगको भेटघाटमा सेनासम्बन्धी सूचना तथा गतिविधिबारे सञ्चारमाध्यमसँग निरन्तर समन्वय र संवाद गरिने बताए।

ad

सेनासम्बन्धी विषयमा भ्रमपूर्ण समाचार वा सूचना सार्वजनिक भए त्यसको तथ्यगत जानकारी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

'कुनै विषयमा द्विविधा भएमा समन्वय गर्न आग्रह गर्दछु,' उनले पत्रकारहरूसँग भने।

श्रेष्ठले नेपाली सेनामा ३४ वर्षदेखि सेवा गर्दै आएका छन्। उनी २०४८ सालमा अधिकृत क्याडेटका रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए। त्यसयता सेनाका विभिन्न विभाग र जिम्मेवारीमा रहेर उनले काम गरिसकेका छन्।

यसअघि सैनिक प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सहायक रथी बस्नेत प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकका रूपमा सरुवा भएका छन्। उनले करिब १८ महिना सेनाको प्रवक्ताको भूमिका निर्वाह गरेका थिए।

नयाँ प्रवक्ताको नियुक्तिसँगै नेपाली सेना र सञ्चारमाध्यमबीच सूचना आदानप्रदान तथा समन्वयको जिम्मेवारी श्रेष्ठले सम्हाल्नेछन्।