काठमाडौं।अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोबाइल फोन अनधिकृत रूपमा प्रयोग गरी डिजिटल प्रमाण मेटाइएको आरोपको निष्पक्ष छानबिन माग गर्दै युवाहरूले राजधानीमा प्रदर्शन गरेका छन्। ‘ट्रान्सपरेन्सी मार्च’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलमा आयोजना गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) माथि लागेको आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्ने, घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने र दोषी देखिएकालाई कानुनी कारबाही गर्नुपर्ने मागसहित युवाहरू सडकमा उत्रिएका हुन्।

ad

प्रहरीले आपराधिक अनुसन्धानको सिलसिलामा ईनम सापकोटाबाट बरामद गरेका दुईवटा मोबाइल फोन फरेन्सिक परीक्षणका लागि प्रयोगशाला पठाउनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकार ब्यञ्जनकारको निजी निवासमा राखिएको विषय सार्वजनिक भएपछि विवाद चुलिएको हो।

सार्वजनिक विवरणअनुसार उक्त अवधिमा मोबाइलबाट सामाजिक सञ्जाल सञ्चालन गरिएको र केही सन्देश हटाइएको तथ्य फरेन्सिक परीक्षणबाट खुलेको समाचार बाहिरिएको थियो। अनुसन्धानका क्रममा बरामद भएका डिजिटल उपकरणको सुरक्षामाथि नै प्रश्न उठेपछि युवाहरूले घटनालाई गम्भीरतापूर्वक छानबिन गर्न माग गरेका हुन्।

‘द रेड च्याप्टर’, ‘जेन–जी मुभमेन्ट नेपाल’ र ‘अल जेन–जी ग्रुप्स’ को संयुक्त आह्वानमा आयोजित प्रदर्शनमा सहभागीहरूले सल्लाहकार ब्यञ्जनकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले अनुसन्धानमा संलग्न व्यक्तिको पद र पहुँचका आधारमा उन्मुक्ति दिन नहुने भन्दै कानुनी जवाफदेहिताको माग गरे।

माइतीघरबाट मार्च अघि बढाउने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो।

यसअघि जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले डिजिटल प्रमाण नष्ट गरेको आरोपमा ब्यञ्जनकारविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।

प्रदर्शनकारीहरूले अनुसन्धानका क्रममा बरामद गरिएका डिजिटल प्रमाणको सुरक्षा र अखण्डता कायम राख्नुपर्ने भन्दै घटनाको छानबिन कुनै राजनीतिक दबाब वा प्रभावबिना हुनुपर्ने बताएका छन्।

सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरू पनि कानुनप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने उनीहरूको माग छ। आरोपको निष्पक्ष निरूपण गरी अनुसन्धानबाट देखिएका तथ्य सार्वजनिक गर्नुपर्नेमा प्रदर्शनकारीहरूले जोड दिएका छन्।