काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा गम्भीर समस्या देखिएको उल्लेख गर्दै  पार्टीभित्र देखिएको विचलनले नेता तथा कार्यकर्तामा चिन्ता बढाएको बताएका छन् । 


आजदेखि काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले  पार्टीप्रतिको जनविश्वास कायम राख्न र संगठनलाई बलियो बनाउन शुद्धीकरण अभियान आवश्यक भए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकिएको स्वीकार गरेका छन् ।

ad

‘पार्टीप्रतिको जनविश्वास जोगाउन, संगठनलाई सुदृढ बनाउन र कम्युनिस्ट आचरणलाई व्यवहारमा स्थापित गर्न पार्टी शुद्धीकरण अभियान आवश्यक छ भन्ने निष्कर्षसहित दशौँ महाधिवेशनपश्चात् एजेन्डा बनाएर नै छलफलसमेत गरिएको थियो,’ कार्यपत्रमा भनिएको छ, ‘तर त्यसलाई व्यवहारमा लैजान सकिएन । परिणामस्वरूप पार्टीमा समस्या बढ्दै जाने स्थिति उत्पन्न भएको छ ।’

उनले भनेका छन्– शुद्धीकरणको उद्देश्य कसैलाई निषेध गर्ने हुनुहँुदैन । एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग भएको देखिनु पनि हुँदैन । यथार्थतामा पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनःस्थापित गर्नु नै शुद्धीकरणको उद्देश्य हो र हुनुपर्दछ । पार्टीभित्र देखिएका कमजोरी सच्याउँदै, जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै र सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।

नेकपा (एमाले) सादा जीवन र उच्च विचारको आदर्शमा निर्माण भएको पार्टी हो । तर पछिल्लो समयमा कतिपय नेता–कार्यकर्ताको आर्थिक जीवन भड्किलो हुँदै गएको तथा नैतिक आचरणका सम्बन्धमा गम्भीर प्रश्न उठ्ने गरेको देखिएको महासचिव पोखरेलले कार्यपत्रमा उल्लेख गरेका छन्  ।

आर्थिक अपराध, अनियमितता तथा यौनजन्य गतिविधिसँग जोडिएका घटना र आरोप सार्वजनिक रुपमा उठ्दा तिनको संस्थागत छानवीन तथा तथ्यपूर्ण प्रतिवाद पर्याप्त रुपमा हुनसकेको छैन, कार्यपत्रमा भनिएको छ– यस्ता विषयमा मौनता वा ढिलाइले जनस्तरमा नकारात्मक प्रभाव पार्छ । आरोप सत्य वा असत्य जे भए पनि निष्पक्ष छानवीन, तथ्यमा आधारित निर्णय र आवश्यकताअनुरुप कारबाहीको प्रक्रिया स्थापित हुनुपर्छ । यस प्रश्नलाई पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ र समयमै छानवीन गर्ने संस्थागत परिपाटी बसाउनु पर्दछ ।

उनले पार्टी शुद्धीकरण केवल घोषणाको विषय मात्र बन्न नहुने उल्लेख गरेका छन् । यसका लागि केन्द्रीय तहबाट स्पष्ट कार्ययोजना बनाई प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म कार्यान्वयन गर्नुपर्छ । हरेक तहले निश्चित समयसीमाभित्र आफ्ना नेता–कार्यकर्ताको आचरण, आर्थिक पारदर्शिता, जनसम्पर्क, अनुशासन तथा सङ्गठनात्मक सक्रियताको अडिट गर्ने परिपाटीको विकास गर्नुपर्छ, कार्यपत्रमा भनिएको छ ।