
संसदीय पद्धति र लोकतान्त्रिक मुलुकको तीन स्तम्भ र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायालको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । ३० वर्षे पञ्चायती निरंकुश र ज्ञानेन्द्र शाहको १९ महिने निरंकुश शासनमा पनि आफ्नो शाख जोगाएको न्यायालयले अहिले झन्डै दुईतिहाइको सरकारले प्रधानन्यायाधीश नियुक्तिमा गरेको गडबडीले संस्था नै अत्यधिक विवादमा परेको छ । वरीयता क्रम मिचेर प्रधानन्यायाधीश नियुक्ति हुँदा चेन अफ कमान्ड नै भत्किने अवस्थामा पुगेको छ ।
अझ कात्तिक १२ गते बिचौलियाको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका इनम सापकोटाको कनेक्सन सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित केही न्यायाधीशसँग भएको समाचार सार्वजनिक भएसँगै उच्च न्यायिक नेतृत्वमाथि नै गम्भीर आशंका पैदा गरेकोले सवैको आशा र भरोसाको केन्द्र बनाउन न्यायालयले शाख फर्काउन लाग्नुपर्ने भएको छ ।
इनम प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीशहरू र प्रधानन्यायाधीशसमेत जोडिएर सार्वजनिक भएका घटनाक्रमले अदालतको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ । सर्वोच्चका प्रधानन्यायाधीश र न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा प्रश्न उठेपछि यसको निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट गम्भीर छानबिन गरी कानुनविपरीत कार्य भएको प्रमाणित भए कानुनअनुसार कारबाही गरी अदालतको ओज र गरिमालाई जोगाउनु अहिलेको टड्कारो आवश्यकता हो ।
प्रमाणले दोषी देखाए कानुनबमोजिम कारबाही हुनुपर्छ । निर्दोष देखिए सार्वजनिक रूपमा व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादाको संरक्षण हुने गरी स्पष्ट पारिनुपर्छ । छानबिनको निष्कर्ष नआउँदै राजनीतिक दबाब, प्रचारबाजी वा पूर्वाग्रहका आधारमा कसैलाई दोषी करार गर्ने काम पनि हुनुहुँदैन । पछिल्लो समय न्यायालयप्रति उठिरहेका प्रश्न, विवाद र आलोचनाले न्यायिक संस्थाको साखमाथि गम्भीर चुनौती थपिएका छन् । न्यायाधीश नियुक्तिदेखि फैसला प्रक्रियासम्म राजनीतिक प्रभाव, स्वार्थसमूहको दबाब र संस्थागत अपारदर्शिताका विषय उठ्नु चिन्ताजनक छ । न्याय सम्पादन गर्ने सर्वोच्च संस्थामाथि नै प्रश्न उठ्नु लोकतन्त्रका लागि शुभ संकेत होइन ।
न्यायालयको गरिमा, निष्पक्षता र विश्वसनीयता कुनै एउटा संस्था वा व्यक्तिको प्रतिष्ठासँग मात्र जोडिएको विषय होइन, यो समग्र लोकतान्त्रिक व्यवस्थाको जग हो । संविधानको रक्षा, नागरिकका मौलिक हकको संरक्षण र राज्यका निकायलाई कानुनी सीमाभित्र राख्ने जिम्मेवारी न्यायपालिकाकै हो । त्यसैले न्यायालयप्रतिको जनविश्वास कमजोर हुनु भनेको एउटा संस्थाको प्रतिष्ठामा आँच आउनु मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्नु हो ।
न्यायालयलाई राजनीतिक स्वार्थ, व्यक्तिगत अहंकार र शक्ति संघर्षबाट मुक्त राखिनुपर्छ । न्यायाधीशलाई जवाफदेही बनाउँदै न्यायिक प्रक्रियालाई पारदर्शी बनाएर नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नु जरुरी छ । न्यायालयको गरिमा जोगाउनु भनेको न्यायको मूल्य, संविधानको सर्वोच्चता र लोकतन्त्रको भविष्य जोगाउनु हो भन्ने कुराको हेक्का राखिनुपर्छ ।
न्यायाधीशहरू राजनीतिक आस्था, व्यक्तिगत सम्बन्ध वा बाह्य दबाबबाट मुक्त भएर संविधान र कानुनअनुसार निर्णय गर्न सक्नुपर्छ । न्यायालय कुनै दल, नेता वा शक्तिकेन्द्रको प्रभावमा पर्ने संस्था होइन । त्यहाँ पहुँच, प्रभाव र पैसाभन्दा संविधान, प्रमाण र कानुनको सर्वोच्चता स्थापित हुनुपर्छ ।
कामकारबाहीमाथि तथ्य र तर्कका आधारमा आलोचना हुन सक्छ । तर आलोचनाका नाममा न्यायालयलाई धम्क्याउने, राजनीतिक दबाब सिर्जना गर्ने वा न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति पनि त्यत्तिकै घातक छ । न्यायालयमाथि राजनीतिक हस्तक्षेप गर्ने, आफूअनुकूल फैसला नआए आलोचना गर्ने र अनुकूल निर्णय आए प्रशंसा गर्ने चरित्रले न्यायिक संस्थाको सम्मान बढाउँदैन । न्यायालयको स्वतन्त्रता सबै राजनीतिक शक्तिको साझा प्रतिबद्धता बन्नुपर्ने अहिलेको आवश्यकता हो ।
अदालत स्वार्थको अखडा होइन, न्यायको मन्दिर बन्नुपर्छ । अदालतमा हुने राजनीतिक हस्तक्षेप रोक्दै न्यायिक जवाफदेहिता सुनिश्चित गरेर जनताको अन्तिम भरोसा अदालतको साख जोगाउनु नै लोकतन्त्र जोगाउनु हो ।









Facebook Comments