
आठ दशक लामो इतिहास बोकेको देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला आन्तरिक कलहमा रुमल्लिँदा पार्टीले देशका तमाम जल्दाबल्दा विषयमा आफूलाई केन्द्रित गर्न ढिलाइ गरेको छ । भदौ २३–२४ को जेनजी विद्रोहपछि राजनीतिक ट्रयाकबाहिर गए पनि फागुन २१ को चुनावबाट लोकतान्त्रिक प्रक्रिया जोगिएको जस्तो देखिए पनि झन्डै दुईतिहाइ बहुमतको सरकारले अहिले जनजीविका सवालहरू सम्बोधन गर्नुको साटो स्टन्टमा केन्द्रित हुँदा आमनेपाली जनतामा निराशाको ‘पारो’ बढ्दै गएको छ । तर, नेपालका हरेक परिवर्तनको संवाहक बनेको लोकतान्त्रिक पार्टीभित्र अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अप्ठ्यारो पार्ने गरी असन्तुष्ट पक्षले गरिरहेका अलोकतान्त्रिक र गैरराजनीतिक चरित्रले गर्दा नेपाली कांग्रेसमाथि पनि कतै जनताको भरोसा टुट्ने त होइन भन्ने कोणबाट विश्लेषणहरू हुन थालेका छन् । जनतालाई हामी पनि छौँ भनेर ढाडस दिनुपर्ने परिस्थितिमा कांग्रेसजस्तो पुरानो पार्टी फुटको सँघारमा पुग्नु नेपालको राजनीतिमा गम्भीर कुरा हो । त्यसैकारण अहिले पार्टीभित्र बलियो एकताको आवश्यकता छ । व्यक्तिगत इगो र हठ त्यागेर संवाद र सहमतिमार्फत समाधानको बाटोमा जानु नै सबैको हितमा छ ।
विगतको गौरवशाली इतिहासमा मात्रै अल्झिएर भविष्य सुरक्षित हुँदैन । तसर्थ, आन्तरिक मतभिन्नता र व्यक्तिगत महत्त्वाकांक्षालाई तिलाञ्जली दिँदै ‘व्यक्तिभन्दा संस्था, संस्थाभन्दा लोकतन्त्र र दलभन्दा देश’लाई माथि राखेर अघि बढ्नु नै आजको टड्कारो आवश्यकता हो । कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ताहरूले समयमै गम्भीरतालाई बुझून्, कांग्रेसमा एकता आजको अपरिहार्य सर्त हो ।
राजनीतिक दलमा विचारको बहस र नेतृत्वको प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । विशेष महाधिवेशनमार्फत विधि र पद्धतिबाटै नयाँ पुस्ताले नेतृत्व सम्हालिसकेको वर्तमान परिस्थितिमा पुराना पुस्ताका केही नेताहरूबाट युवा नेतृत्वलाई सहजै स्वीकार गर्न नसक्ने खालका अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ । राजनीतिमा अग्रजको अनुभव र अभिभावकत्व जति आवश्यक हुन्छ, नयाँ पुस्ताको ऊर्जा र सामयिक दृष्टिकोण पनि त्यत्तिकै अपरिहार्य हुन्छ । सुदूरपश्चिमको दुर्गम भूगोलबाट उठेर पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको योगदान इतिहासमा दर्ज भइसकेको छ । तर, राजनीतिमा पदको निरन्तरताभन्दा कहिले पछाडि हटेर अभिभावक बन्ने निर्णय लिइन्छ भन्ने कुराले नेताको राजनीतिक उचाइ निर्धारण गर्छ । इतिहासले देउवा पुस्तासँग आज त्यस्तै राजनीतिक उदारता र त्यागको माग गरेको छ ।
अर्कोतर्फ, विशेष महाधिवेशनबाट प्राप्त सफलतापछि गगन थापा र विश्वप्रकाश शर्मासहितको नयाँ नेतृत्वले पनि ‘हामी जित्यौँ, उनीहरू हारे’ भन्ने संकुुचित मनोविज्ञानबाट मुक्त हुनुपर्छ । ७१ प्रतिशतको समावेशी भावना र सातबुँदे सहमतिका प्रस्तावहरूलाई आत्मसात् गर्दै पुराना अग्रजहरूलाई सम्मानजनक स्थान दिने, असहमतिलाई लोकतान्त्रिक बहसका रूपमा स्वीकार गर्ने र डिजिटल प्रणालीमार्फत वडा तहसम्म संगठनलाई चुस्त बनाउने दायित्व नयाँ नेतृत्वको काँधमा छ । जितेको नेतृत्वले देखाउने ठूलो हृदयले मात्रै फुटेको मन र विभाजित संगठनलाई जोड्न सक्छ ।
अहिले रास्वपा नेतृत्वको झन्डै दुईतिहाइ बहुमतनजिकको सरकार भए पनि देश गम्भीर आर्थिक, सामाजिक र राजनीतिक चुनौतीको चपेटामा छ । बेरोजगारी, निराशा र नागरिक आत्मदाहका घटनाहरूले राज्य र राजनीतिप्रतिको घट्दो विश्वासलाई उदांगो पारेका छन् । यस्तो संवेदनशील घडीमा देशको सबैभन्दा पुरानो र जिम्मेवार लोकतान्त्रिक दलभित्र गुट–उपगुटको खिचातानी कायम रहनु राष्ट्रकै लागि घातक विषय हो । कांग्रेसभित्रको आन्तरिक एकता केवल पार्टी व्यवस्थापनको विषय मात्र नभई, देशमा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानवादको रक्षाका लागि आवश्यक राष्ट्रिय साध्य पनि हो ।
अदालतको कानुनी प्रक्रिया आफ्नो ठाउँमा होला, तर राजनीतिक विवादको निकास सधैँ राजनीतिक संवादबाटै निस्कन्छ । अग्रज नेताहरूले आफ्नो इतिहास जोगाउन नयाँ पुस्तालाई मार्गप्रशस्त गर्ने र नयाँ पुस्ताले अग्रजको योगदानको उच्च सम्मान गर्दै अघि बढ्ने हो भने कांग्रेसभित्रको यो वर्तमान तनाव नै नयाँ राजनीतिक संस्कार निर्माण गर्ने दुर्लभ अवसर बन्न सक्छ ।
कांग्रेस कमजोर वा विभाजित भएर होइन; विचारमा स्पष्ट, संगठनमा सुदृढ र नेतृत्वमा एकताबद्ध भएर मात्रै नागरिकमा आशा जगाउन सक्छ ।
अग्रजहरूसँग इतिहास र अनुभवको भण्डार छ भने नयाँ पुस्तासँग ऊर्जा, आधुनिक कल्पना र सामयिक दृष्टिकोण छ । नेपाली कांग्रेसलाई आज कुनै एक पक्षको मात्र होइन, यी सबैको योगफल र सामूहिक शक्ति आवश्यक छ । यदि अग्रजहरूले नयाँ नेतृत्वलाई स्वीकार गर्न सकेनन् भने उनीहरूले आफ्नै इतिहासको निरन्तरता रोकिरहेका हुनेछन् । र, यदि नयाँ पुस्ताले अग्रजको योगदानलाई सम्मान गर्न सकेन भने उसले आफ्नै राजनीतिक जग र संस्कारलाई कमजोर बनाइरहेको हुनेछ ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन ग¥यो, अदालतले कानुनी वैधानिकताको पाटो निरूपण गर्ला र आगामी महाधिवेशनले फेरि नयाँ सन्तुलन बनाउला । तर, कांग्रेसको वास्तविक पुनर्जन्म त्यस दिन मात्र हुनेछ, जुन दिन यसका नेताहरूले पदका लागि होइन, स्पष्ट विचार, नीति र राष्ट्रिय उद्देश्यका लागि एकताबद्ध हुन सिक्नेछन् ।
विगतको गौरवशाली इतिहासले मात्रै भविष्य सुरक्षित हुँदैन । इतिहासको सम्मान गर्दै भविष्य निर्माण गर्नका लागि कांग्रेसलाई आज ठूलो हृदय, सत्य बोल्ने ऐनाजस्ता सहयात्री र ‘व्यक्तिभन्दा संस्था, संस्थाभन्दा लोकतन्त्र र दलभन्दा देश’लाई प्राथमिकता दिने उच्च राजनीतिक संस्कार चाहिएको छ । नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवादलाई यदि रचनात्मक संवाद र सहकार्यमा बदल्न सकियो भने, त्यो कांग्रेसको मात्र विजय हुने छैन; त्यसले समग्र नेपाली राजनीतिलाई नै एउटा सकारात्मक सन्देश दिनेछ । तसर्थ, गुट–उपगुट र व्यक्तिगत महत्त्वाकांक्षा त्यागेर विचारमा स्पष्ट, संगठनमा सुदृढ र नेतृत्वमा एकताबद्ध हुनु नै आजको मुख्य दायित्व हो । कांग्रेसका लागि एकता अब केवल रोजाइको विषय रहेन, यो पार्टीको अस्तित्व र देशको लोकतान्त्रिक भविष्यका लागि अपरिहार्य सर्त बनेको छ ।







Facebook Comments