परिवर्तित राष्ट्रिय राजनीति, नयाँ राजनीतिक शक्तिहरूको उदय र युवा पुस्ताको बढ्दो राजनीतिक आकांक्षाबीच नेपालकै सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले आफूलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने चुनौती र अवसरबीच १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा देशभरिका ६,७४३ वटै वडा, पालिकाहरू तथा अधिकांश क्षेत्रीय समितिमा नयाँ कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू चयन गरेको छ ।

परम्परागत ढर्राबाट पार्टी अघि नबढ्ने भन्दै कांग्रेसले गत फागुनमा भएको चुनावकै बेला बदलिएको कांग्रेसको नारा अघि सारेको थियो । १५औँ महाधिवेशनका लागि तय गरेको आधिकारिक नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’मार्फत नेपाली कांग्रेसले स्पष्ट वैचारिक तथा राजनीतिक सन्देश दिएको छ ।

ad

महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रक्रियामा मात्र सीमित नराखी नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास, आन्तरिक एकता, सहमति र व्यापक सहभागिताको भव्य उत्सवका रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको छ । पार्टीलाई ऊर्जाशील बनाउँदै नवीन रक्तसञ्चार गर्न र युवाहरूलाई आकर्षित गर्न ३० वर्षमुनिका युवाको कोटा विधानमै छुट्ट्याएर महाधिवेशनमा होमिएको कांग्रेसमा अब झन्डै १६ हजार युवा पार्टीका विभिन्न नेतृत्वदायी संरचनामा प्रवेश गर्दै छन् ।

युवा सहभागिता सुनिश्चित गर्न विधानमा गरिएको व्यवस्थाले कांग्रेसमा अघि सारिएको पुस्तान्तरणको नीतिको व्यावहारिक प्रयोग भएको छ । विगतमा वृद्धहहरूको पार्टी भन्ने गरिएको कांग्रेसमा अहिले देखिएको युवाको आकर्षण उत्साहजनक देखिन्छ । 

कांग्रेसले बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालादेखि वर्तमान नेतृत्वसम्मका योगदानलाई स्मरण गर्दै पार्टीको लामो लोकतान्त्रिक संघर्षको विरासतलाई सम्मान गरेर पार्टी आफ्नो स्थापनाकालको मूल्य, मान्यता र आदर्शबाट विचलित नभएको स्पष्ट सन्देश दिएको छ । यस नाराले पार्टीको ऐतिहासिक विरासत, बिपी कोइरालाको लोकतान्त्रिक समाजवाद र समयसापेक्ष रूपान्तरणको भावनालाई समेट्न खोजेको छ । 

कांग्रेसको १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने माध्यम मात्र नभएर पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणको एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ । 

कांग्रेसले आफ्नो संगठनलाई पुनर्जीवित गर्ने प्रयास गरेको छ । डिजिटल प्रविधिको प्रयोग र क्रियाशील सदस्यता नवीकरणलाई व्यवस्थित बनाइएकाले संगठनमा पारदर्शिता थपिएको छ । वडा र पालिका स्तरदेखि नै ठूलो संख्यामा युवा, महिला, दलित, र विभिन्न पेसागत क्षेत्रका नयाँ प्रतिनिधिहरू निर्वाचित भएका छन् यसले पार्टीको तल्लो तहमा नयाँ ऊर्जा दिएको छ ।

कांग्रेसले महाधिवेशनमा नेपालको संविधान र पार्टीको विधानअनुरूप दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, र मुस्लिम समुदायको प्रतिशतका आधारमा पार्टीका सबै तहमा समावेशी सिट सुनिश्चित गरेको मात्र छैन, पिछडिएको क्षेत्रका अगुवाहरूलाई पनि विशेष प्रतिनिधित्वको व्यवस्था मिलाएको छ । 

यसपटकको महाधिवेशनमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन केन्द्रीय कार्यसमितिको संरचना र प्रतिनिधित्वमा देखिएको छ । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने व्यवस्था गरिएको छ । त्यसमध्ये १७१ जना निर्वाचित हुनेछन् भने ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

त्यसैगरी ३५ वर्षमुनिका युवालाई केन्द्रीय नेतृत्वमा प्रवेशको अवसर दिने गरी २१ जना युवा केन्द्रीय सदस्यका लागि युवा महाधिवेशन प्रतिनिधिबाट मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ । विभिन्न पेसा, व्यवसाय र विषयगत क्षेत्रमा सक्रिय रहेर विशेष प्रवेशमार्फत कांग्रेसमा आएका प्रतिनिधिमध्येबाट सातजनालाई पनि केन्द्रीय कार्यसमितिमा ल्याउने व्यवस्था गरिएको छ । नेपाली कांग्रेसको यो १५औँ महाधिवेशनले एक सक्षम, सबल र दूरदर्शी नेतृत्व प्रदान गर्न सफल होस् र अरू राजनीतिक दलहरूलाई समेत कांग्रेसको १५औँ महाधिवेशन प्रेरणादायी बन्न सकोस् ।