
काठमाडौँ । नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगमा औपचारिक रूपमा अद्यावधिक गरिएको छ।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा सोमबार आयोगमा आयोजित कार्यक्रममा पार्टीका महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीसमक्ष नयाँ केन्द्रीय कार्यसमितिका सम्पूर्ण विवरण हस्तन्तरण गरेका हुन्।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दलको नयाँ विवरण अभिलेखीकरणका लागि पेस गरिएको कांग्रेसले जनाएको छ।
महामन्त्री पौडेलले केवल कार्यसमितिको नामावली मात्र नभई पार्टीको संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक प्रस्तावहरू तथा महाधिवेशनका महत्त्वपूर्ण निर्णयहरूसमेत निर्वाचन आयोगमा विधिवत् रूपमा बुझाएका छन्।
यसअघि १५औँ महाधिवेशनबाट पार्टीको बागडोर सम्हालेका गगन थापा नेतृत्वको टोलीले अब कानुनी र साङ्गठनिक रूपमा पनि पूर्णता पाएको छ।









Facebook Comments