काठमाडौं । नेपाल प्रहरीका वेबसाइट तथा विभिन्न अनलाइन सेवामा प्राविधिक समस्या देखिएपछि प्रयोगकर्ताहरू प्रभावित भएका छन्। प्रहरीले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत आफ्ना डिजिटल सेवाहरूमा अवरोध आएको जानकारी दिएको हो।

प्रहरीका अनुसार नेपाल प्रहरीको आधिकारिक वेबसाइट, मोबाइल एप, अनलाइन भर्ना तथा छनोट प्रणाली र ट्राफिक नियम उल्लंघनबापतको जरिवाना अनलाइन भुक्तानी सेवामा समस्या देखिएको छ।

ad

यी सेवा पुनः कहिलेदेखि नियमित सञ्चालनमा आउने भन्नेबारे प्रहरीले स्पष्ट समयसीमा सार्वजनिक गरेको छैन। सेवा प्रयोगमा आएको अवरोधका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति प्रहरीले क्षमायाचना गरेको छ।

अनलाइन माध्यमबाट उपलब्ध गराइने प्रहरी सेवामा समस्या देखिएसँगै भर्ना प्रक्रियामा सहभागी हुन चाहने, ट्राफिक जरिवाना तिर्नुपर्ने तथा प्रहरीको वेबसाइट र मोबाइल एप प्रयोग गर्ने सेवाग्राही प्रभावित हुन सक्ने देखिएको छ।

नेपाल प्रहरीका डिजिटल सेवामा यसअघि पनि समय–समयमा अवरोध आउने गरेको थियो। यसैबीच, गत दसैँ अवधिमा नेपाल सरकारका एक हजारभन्दा बढी वेबसाइट बन्द भएका थिए। साइबर आक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले ती वेबसाइट बन्द गराएको भन्ने विवरणसमेत सार्वजनिक भएको थियो।

यद्यपि, नेपाल प्रहरीका अहिलेका अनलाइन सेवामा आएको अवरोधको कारणबारे विस्तृत प्राविधिक जानकारी सार्वजनिक भएको छैन। त्यसैले यसलाई साइबर आक्रमणकै परिणामका रूपमा पुष्टि गर्ने आधार उपलब्ध छैन।